इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा नेपाली स्वास्थ्य सहायक (केयरगिभर) मा जाने ८३६ जनाको नाम सार्वजनिक गरिएको छ । यसअघि लिएको अङ्ग्रेजी भाषा परीक्षामा उत्तीर्ण भएका एक हजार ११५ जनामध्ये बिहीबार लङचिट्ठाको माध्यमबाट ५८८ महिला र २४८ जना पुरुष गरी ८३६ जना छनोट भएको जानकारी गराइएको छ । नेपाल र इजरायल सरकारबिच यसअघि भएको सम्झौता अनुसार चिट्ठामार्फत श्रमिक भर्ना प्रक्रिया अघि बढाउँदै आएको छ ।
वैदेशिक रोजगार विभाग, नेपालस्थित इजरायली दूतावास, इजरायलको पपुलेन एन्ड इमिग्रेसन बोर्डर अथोरिटी पिबा र केही नेपाली सञ्चार माध्यममा प्रतिनिधिको उपस्थितिमा बिहीबार चिट्ठा खोलिएको हो ।
दूतावासका अनुसार इजरायलमा केयरगिभर र ज्येष्ठ नागरिक सहयोग सेवाका लागि एक हजार २३१ नेपाली युवा आवेदकको आवेदन स्वीकृत भएको थियो ।
नेपालका लागि इजरायलका राजदूत स्मुलिक एरी बासले चिट्ठाबाट छनोटमा परेकालाई चरणबद्ध रूपमा इजरायल लगिने जानकारी दिनुभयो । इजरायल सरकारले सरकार सरकारबिचको सम्झौता अन्तर्गत पारदर्शी ढङ्गले नेपाली युवालाई इजरायल लैजान लागेको तेस्रो पटक हो । यसरी छनोटमा परेकाले स्वास्थ्य परीक्षण र कुनै पनि गैरकानुनी कार्यमा नपरेको प्रहरीको रिपोर्ट भने बुझाउनुपर्ने छ ।
उहाँले भन्नुभयो, “इजरायलले अझै दुई हजार एक सय जनाभन्दा बढी नेपालीलाई इजरायलमा रोजगारीका लागि लैजाने गरी नेपाल सरकारसँग सहमति भएको छ । हामी त्यस अनुसार नै काम गर्दै छौँ । यसबाहेक इजरायलमा घरस्थित श्रमिक र कृषिक्षेत्रमा पनि ठुलो सङ्ख्यामा कामदार आवश्यक परेकाले त्यसका लागि पनि हामी नेपाल सरकारसँग सहमति गर्ने छौँ ।”
राजदूतावासले इजरायलले विदेशी श्रमिकलाई पनि इजरायली कानुन अनुसार इजरायली श्रमिक सरह नै सेवा सुविधा प्रदान गर्ने गरेको पनि स्पष्ट पार्नुभयो । साथै श्रमिकलाई कुनै समस्या परेमा त्यहाँको पपुलेसन एन्ड इमिग्रेसन अथोरिटीले सञ्चालन गर्ने डिजिटल प्लेटफर्मबाट समस्याको सुनुवाइ र समाधान गरिने बताउनुभयो । उक्त प्लेटफर्ममा विभिन्न भाषाबाट सेवा लिन सकिने सुविधा रहेको पनि उहाँले जानकारी दिनुभयो । नेपाल र इजरायल सरकारबिच २०७७ असोज १४ गते नेपाली श्रमिक इजरायल पठाउने विषयमा सम्झौता भएको थियो ।