भारतको उच्च शिक्षामा ५८ हजार विदेशी विद्यार्थी, सबैभन्दा धेरै नेपाली

16 July, 2026

Dinesh Gautam

भारतमा उच्च शिक्षा अध्ययन गर्ने विदेशी विद्यार्थीमध्ये सबैभन्दा धेरै नेपाली रहेको पाइएको छ ।

भारतको शिक्षा मन्त्रालयद्वारा जारी गरिएको भारतीय उच्च शिक्षा सर्वेक्षण (२०२३–०२४) मा ५८ हजार १३४ विदेशी विद्यार्थी छन् । जसमा नेपाली विद्यार्थी २४.१ प्रतिशत छन् ।

‘भारतमा अध्ययन गर्ने विदेशी विद्यार्थीहरू विश्वका १७३ वटा देशबाट आएका छन् । तीमध्ये नेपालबाट आउने विद्यार्थीहरूको हिस्सा सबैभन्दा बढी २४.१ प्रतिशत रहेको छ,’ सर्वेक्षणमा उल्लेख गरिएको छ ।

दुरीको हिसाबले नजिक भएकाले भारतमा नेपाली विद्यार्थी धेरै हुनुलाई स्वाभाविक मान्छन् प्राज्ञहरू । तर नेपाली विद्यार्थी भारतको विश्वविद्यालयमा जानुको एउटै मात्र कारण छैन । ‘नजिक पर्छ । सस्तो छ । नेपालको भन्दा उच्च स्तरका विश्वविद्यालय छन्,’ त्रिविका पूर्वउपकुलपति प्रा.डा. दीपक अर्यालले भने ।

भिसा नचाहिने भएकाले पनि भारत जान नेपाली विद्यार्थीलाई सहज छ । मूलतः शैक्षिक क्यालेन्डरको प्रभावकारी कार्यान्यन हुने भएकाले विद्यार्थीको रोजाइमा भारतीय विश्वविद्यालय परेको हो ।

‘भारतका विश्वविद्यालयमा समयमा कक्षा, परीक्षा र नतिजा प्रकाशित हुन्छ । छिमेकी देश भएकाले जान-आउन पनि समस्या हुँदैन,’ विश्वविद्यालय अनुदान आयोगका निवर्तमान अध्यक्ष प्रा.डा. देवराज अधिकारीले भने, ‘विद्यार्थीको खर्चले पनि धान्ने भएकाले भारतमा पढ्न विद्यार्थी गइरहेका छन् ।’

भारतमा राम्रा विश्वविद्यालय भएकाले पनि नेपाली विद्यार्थीको रोजाइमा परेको बुझाइ उनको छ । ‘राम्रा विश्वविद्यालय भएकाले विश्वास पनि बढेको पाइन्छ,’ उनले भने ।

नेपालका शैक्षिक क्यालेन्डर प्रभावकारी नभएकाले विद्यार्थी विदेशिएको तर्क गर्छन् प्रा.डा. अधिकारी । ‘हाम्रोमा १२ कक्षाको नतिजा छिट्टै आयो तर स्नातकको कक्षा हुन सकेको छैन । विद्यार्थी यहाँ कुरेर बस्नुपर्छ । उता गयो भने छिटो कोर्स पूरा गरेर फर्किन पाइन्छ,’ उनले भने, ‘नेपालमा शैक्षिक क्यालेन्डर प्रभावकारी रूपमा कार्यान्यन गर्न आवश्यक छ ।’

भारतमा विदेशी विद्यार्थीहरूमध्ये सबैभन्दा बढी ७३.६ प्रतिशत स्नातक तहमा अध्ययनरत छन् । त्यसपछि १६.८ प्रतिशत विद्यार्थी स्नातकोत्तर तहमा अध्ययनरत रहेको पाइएको छ ।

स्नातक तहमा तीन वर्षको कोर्स भएकाले धेरै विद्यार्थी गएको अधिकारी बताउँछन् । ‘नेपालमा ४ वर्षको छ । उता ३ वर्षको छ । त्यसैले स्नातकमा बढी विद्यार्थी गएका हुन्,’ अधिकारीले भने । नेपाल र भारतको शुल्कमा पनि धेरै फरक नपर्ने भएकाले विद्यार्थीको रोजाइमा भारत परेको शैक्षिक परामर्श संघ संस्थाका अधिकारीहरू बताउँछन् ।

‘नेपाल र भारतको रहनसहन, खानपान र कल्चर मिल्छ । यता र उता बाँच्नको लागि खर्च फरक पर्दैन,’ शैक्षिक पारमर्श संघका पूर्वअध्यक्ष प्रकाश पाण्डेले भने, ‘पढाइसँगै अवसर खोज्न अन्य मुलुक जान्छन् । पढ्ने मात्र विद्यार्थी भारत जाने गरेको पाइएको छ । शुल्कमा पनि नेपाल र भारतमा धेरै फरक पर्दैन ।’

भारतमा नेपालीपछि संयुक्त अरब इमिरेट्स (यूएई) ७ प्रतिशत, संयुक्त राज्य अमेरिका ५.९ प्रतिशत, बंगलादेश ५.९ प्रतिशत, नाइजेरिया ५.५ प्रतिशत, जिम्बावे ४ प्रतिशत, भुटान २.७ प्रतिशत, सुडान २.२ प्रतिशत र ओमानका १.७ प्रतिशत विद्यार्थी अध्ययनरत छन् ।

भारतमा एनओसी नलिई जान्छन् विद्यार्थी

धेरैजसो विद्यार्थीले भारत जाँदा शैक्षिक अनुमतिपत्र (एनओसी) नलिई पनि जाने गरेको पाइएको छ । खुला सिमानाका कारण नेपाली विद्यार्थीलाई जान सहज भएकाले एनओसी नलिई जाने गरेको सरकारी अधिकारीहरू दाबी गर्छन् ।

शिक्षा मन्त्रालयका अनुसार भारतका लागि १४ हजार एनओसी जारी भएको छ । आर्थिक वर्ष २०८० जेठ १ देखि २०८२ चैत मसान्तसम्म भारतको लागि १४ हजार ७२० वटा एनओसी जारी भएको छ । एनओसी जारी भएका सबै विद्यार्थी जान्छन् भन्ने हुँदैन । भारत जान डलर सटही गर्नु नपर्ने भएकाले पनि एनओसी नलिई विद्यार्थी भारत पुग्छन् ।
नेपालमै विद्यार्थी राख्नका लागि शैक्षिक र भौतिक संरचना सुधार गर्नुपर्ने बताउँछन् पूर्वउपकुलपति अर्याल ।

‘उच्च शिक्षाको सर्क डिजाइन गर्नुपर्छ । भौतिक संरचनाको सुधार गर्नुपर्छ,’ उनले भने, ‘विदेशी विद्यार्थी नेपालमा पनि ल्याउन सकिन्छ । त्यसको लागि संरचना तयार गर्नुपर्छ । विदेशी विद्यार्थीलाई आवासको सुविधा हुनुपर्छ । पाठ्यक्रमलाई पनि परिमार्जन गर्नुपर्छ ।’

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024