सुकुमवासी युवालक्षित विशेष रोजगारीको योजनाको तयारी

15 July, 2026

सरकारले देशभरका होल्डिङ सेन्टरमा रहेका सुकुमवासी युवालक्षित गरी विशेष रोजगारीको योजना ल्याउने गरी तयारी भएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयले उपत्यकाका विभिन्न ठाउँका होल्डिङ सेन्टरमा रहेका सुकुमवासी युवालाई प्राथमिकतामा राखेर रोजगारी सिर्जना गर्ने तयारी गरेको जनाएको छ ।

त्यसो त युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले भक्तपुरको बोडेको होल्डिङ सेन्टरमा बसेका सुकुमवासी युवालाई भेट गरी सिप विकास र रोजगारी सिर्जनाका लागि प्राथमिकतामा राख्ने आश्वासन दिएको थियो ।

श्रम मन्त्रालयको आन्तरिक रोजगार महाशाखा र त्यस अन्तर्गतका शाखाले होल्डिङ सेन्टरमा रहेका सुकुमवासी युवालाई रोजगारी सुनिश्चित गर्न आवश्यकता पहिचान गरी सोही अनुसारको सिप विकास तथा रोजगार कार्यक्रम ल्याउने गरी आवश्यक गृहकार्य गरेको जनाएको छ । सो महाशाखाका अनुसार सुकुमवासी युवालक्षित गरेर सिप, क्षमता विकास तथा रोजगारीसँग जोड्ने कार्यक्रमलाई मन्त्रालयले सघन रूपमा अगाडि बढाइरहेको छ ।

सहसचिव एवं महाशाखाका प्रमुख हेमबहादुर तामाङले मन्त्रीको निर्देशन अनुसार सुकुमवासीको हकमा ‘ट्रेनिङ निड एसेस्मेन्ट’ का आधारमा उपयुक्त हुने खालका रोजगारी तथा उद्यमशीलताका कार्यक्रम छनोट गरी सञ्चालन गर्ने गरी काम भइरहेको जानकारी दिनुभयो । होल्डिङ सेन्टरमा रहेका युवालाई के कसरी रोजगारीसँग जोड्न सकिन्छ भन्ने विषयमा सरोकारवालासँग छलफल भएको पनि उहाँले जानकारी दिनुभयो ।

सो महाशाखाका अनुसार राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, सिप तालिम गराउने र विभिन्न रोजगार संस्था र पालिकासँगको सहकार्यमा होल्डिङ सेन्टरमा रहेका सुकुमवासी युवालाई रोजगारीमा जोड्ने विषयमा काम भएको छ । यस कार्यक्रमले युवालाई आर्थिक रूपमा सबल बनाउन महìवपूर्ण भूमिका खेल्ने जनाइएको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024