कोरियामा पैसा अभाव हुँदैन, खुसी भने मोबाइल हेरेर हुनुपर्छ

13 July, 2026

Suren Giri

यति बेला दक्षिण कोरिया अधिकांश नेपाली युवाको सपनाको देश बनेको छ। कोरियाको नाम सुन्नासाथ धेरैका मनमा उज्ज्वल भविष्यको चित्र कोरिन्छ।

कतिलाई लाग्छ — एक पटक कोरिया पुग्न पाए जीवन नै अर्कै हुन्छ।

धेरैले कति सजिलै भनिरहेका हुन्छन् — कोरियामा त पैसै पैसा छ।

कतिपय त कोरिया पुगेपछि दुःख नै सकिन्छ भन्ने सोचिरहेका भेटिन्छन्।

तर कोरियाको यथार्थ नेपालबाट देखिने सपनाभन्दा निकै फरक छ। यहाँको संघर्ष सामाजिक सञ्जालमा देखिने मुस्कानभित्र लुकेको हुन्छ।

हामीले फेसबुक वा टिकटकमा राख्ने तस्बिरमा घुमघाम, रमाइला क्षण र सफलताका कथा हुन्छन्।

तर ती तस्बिरले कारखानाको थकान, मेसिनको आवाज, एक्लोपन, पसिना र मनभित्रका पीडालाई कहिल्यै देखाउँदैनन्।

त्यही चम्किलो तस्बिरले कोरियाको जीवनलाई लिएर बनेको भ्रम अझ बलियो बनाइदिन्छ।

कोरियाको वास्तविकता सामाजिक सञ्जालमा देखिने मुस्कानभन्दा निकै फरक छ। यहाँको कथा पसिना, त्याग, धैर्य र संघर्षले लेखिएको हुन्छ, जसको वास्तविक अर्थ यहाँ आएर बाँचेपछि मात्रै बुझ्न सकिन्छ।

दुःखको क्षण त हामीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाइको हात हल्लाउँदै गर्दा नै सुरू भइसकेको हुन्छ।

विमानस्थलमा आमाबुबा, परिवार, साथीभाइसँगको अन्तिम अँगालो र छिट्टै फर्किन्छु है भन्ने बाचासँगै सुरू भएको यात्राले मुटु चसक्क बनाइसक्छ।

त्यसपछि विमान चढेर शरीर विरानो भूमि पुगिसक्दा पनि मन आफ्नै गाउँघर, परिवार र देशकै वरिपरि अल्झिरहन्छ।

कोरिया पुगेपछि सुरू हुन्छ भाषा र संस्कृतिसँगको संघर्ष। सूर्योदयभन्दा अगाडि उठ्न सक्नुपर्छ। आफ्नो र परिवारको सपना पूरा गर्न घडीको सुईभन्दा छिटोछिटो हात चलाउनुपर्छ।

कारखानाको कोलाहल, मेसिनको तीव्र गति, दैनिक १०–१२ घण्टाको काम, ओभरटाइमको थकानसँगै मुस्किल दिनहरू कटाउनुपर्छ।

समाजले मान्छेलाई पैसासँग जोडेर हेर्न थाल्छ।

फलानोको छोरा कोरियामा छ, धेरै कमाउँछ भन्ने छरछिमेकका सजिला तर्क सुनिन थाल्छन्।

उनीहरूलाई के थाहा, यहाँ बिरामी भए पनि सद्धे देखिएर काम गर्नुपर्छ। तंग्रिन नसक्दा पनि एक्लै उभिनुपर्छ। कति रात आँसुले भिजेरै बित्छन्। आँसु लुकाएर पनि अनुहारमा मुस्कान देखाउन सिक्नुपर्ने रहेछ।

काम गरेपछि पैसाको अभाव त नहुँदो रहेछ। तर यहाँ आफ्नाहरू र आफ्नोपनको अभाव हुँदो रहेछ।

चाडपर्वमा पनि मोबाइलको स्क्रिनसँगै खुसी हुन सिक्नुपर्ने रहेछ। आमाको हातको परिकार सम्झेर खाना खानुपर्छ। बाबुको आवाज सुनेर मन थाम्नुपर्छ।

परदेशले पसिनाको कमाइ खातामा थपिदिइरहन्छ। तर जीवनका ऊर्जाशील र अमूल्य क्षण खोस्दै लैजाने रहेछ। आमाबुबा, परिवार, आफन्तसँग बिताउने समय खोस्दै जान्छ।

यो नै हामी परदेशीले चुकाइरहेको सबैभन्दा ठूलो मूल्य हो, जसको लेखाजोखा कसैले गर्न सक्दैन।

कोरियाको संघर्षले जीवन के हो भनेर चाहिँ अवश्य सिकाउँछ। समयको महत्त्व, अनुशासन, धैर्य, जिम्मेवारी, आत्मनिर्भरता र कहिल्यै हार नमान्ने साहस यही भूमिले सिकाउँछ।

यहाँ बगाएको पसिनाले केवल पैसा कमाइँदैन, भित्रैदेखि परिपक्व बनाउँछ।

त्यसैले विदेशमा बस्ने नेपालीलाई केवल उसले पठाएको रेमिटेन्सबाट मात्र नहेर्नुहोस्। उसका नबोलेका पीडा बुझ्ने प्रयास गर्नुहोस्। उसको मौनता पढ्नुहोस्। मुस्कानभित्र लुकेका आँसु महसुस गर्नुहोस्।

किनकि हरेक परदेशी नेपालीले आफ्नो वर्तमानको ठूलो हिस्सा त्यागेर परिवारको भविष्य निर्माण गरिरहेको हुन्छ।

तपाईं पनि कोरिया आउने सपना देखिरहनुभएको छ भने, केवल धेरै पैसा कमाउने कल्पना बोकेर नआउनुहोस्। यहाँ अवसर छ, तर अवसरसँगै कठोर परीक्षा पनि छ।

यहाँ पसिना छ, भाषा सिक्ने चुनौती छ, संस्कृतिसँग घुलमिल हुने संघर्ष छ, आफ्नै आँसु आफैंले पुछ्नुपर्ने दिन छन्।

त्यसैले कोरिया आउनुअघि एउटा कुरा मनमा राख्नुहोस्— विदेशले भाग्य बदल्दैन, मेहनतले बदल्छ। यहाँ सफल हुनेहरू भाग्यमानी भएर होइन, निरन्तर मेहनत गर्ने, अनुशासन अपनाउने र हार नमान्नेहरू हुन्।

हार नमानी गरिएको संघर्षभित्र अनुभव छ, आत्मविश्वास छ र सफलताको बाटो पनि छ।

इतिहास सपना देख्नेहरूले मात्र लेख्दैनन्; आफ्ना सपना पूरा गर्न आँसु, पसिना र जवानी अर्पण गर्नेहरूले लेख्छन्। विदेशी भूमिमा बगाएको प्रत्येक पसिनाको थोपा कुनै दिन आफ्नै देशको समृद्धिको जग बन्न सक्छ।

आखिर परदेशको सबैभन्दा ठूलो कमाइ बैंक खातामा रहेको रकम होइन, संघर्षले गढेको त्यो व्यक्तित्व हो, जसले आफ्नो सुखभन्दा पहिले परिवारको मुस्कान, समाजको आशा र देशको भविष्य रोज्न सिकेको हुन्छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024