युएईमा जितेको एक अर्ब २३ करोड नेपाल भित्र्याउन पहल सुरु

3 July, 2026

युएईमा कार्यरत पाँच नेपाली युवाले जितेको ३० मिलियन दिराम अर्थात् एक अर्ब २३ करोड नेपाली रुपैयाँको विशाल चिट्ठा रकम स्वदेश भित्र्याउन पहल सुरु गरिएको छ।

गोरखाका तैयव खान, पाल्पाका सन्दीप बिक, नवलपुरका युवराज गैरे, कास्कीका शिशिर पौडेल र रुपन्देहीका सुदिप न्यौपानेले उक्त ठुलो रकम जितेका थिए। सोही रकमलाई कसरी सुरक्षित र वैधानिक रूपमा नेपाल भित्र्याउने भन्ने विषयमा छलफल गर्न बिहीबार उनीहरू अबुधाबीस्थित नेपाली राजदूतावास पुगेका हुन्।

राजदूत तेजबहादुर क्षेत्रीसँग भएको भेटघाटमा विजेता युवाहरूले उक्त रकमलाई नेपालमा लगानी गर्ने इच्छा व्यक्त गरेका हुन्। राजदूतावासका अनुसार उनीहरूले आफूले पाएको चिट्ठाको रकमलाई नेपाल सरकारको नीतिअनुसार वैधानिक बाटोबाट स्वदेश पठाउन र सो लगानीलाई फलदायी बनाउन आवश्यक सहजीकरण गरिदिन दूतावाससमक्ष आग्रह गरेका छन्। सो अवसरमा खुसी व्यक्त गर्दै राजदूत क्षेत्रीले उक्त रकम वैधानिक तवरले नेपाल भित्र्याउने सम्पूर्ण प्रक्रियामा राजदूतावासले आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता जनाए।

साथै, क्षेत्रीले उनीहरूलाई नेपालको विकास र आर्थिक समृद्धिका क्षेत्रमा लगानीका सम्भाव्यताहरू पहिल्याउन सुझाव दिए। पुँजीको सही सदुपयोग गर्दै नेपालमा नै थप रोजगारी सिर्जना गर्ने खालका परियोजनामा लगानी गर्न उनले सल्लाह दिएका थिए।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024