रुसी सेनामा कार्यरत १२७ नेपाली मारिए, ९० अझै बेपत्ता

1 July, 2026

Parshuram Kafle

रुस–युक्रेन युद्धका क्रममा रुसी सेनामा कार्यरत १२७ नेपालीको मृत्यु भइसकेको छ । ९० नेपाली अझै बेपत्ता छन् । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार यो पछिल्लो तथ्यांक हो ।ठुलो संख्यामा आफ्ना नागरिक अझै बेपत्ता रहेकोप्रति परराष्ट्रमन्त्री शिशिर खनालले मंगलबार नेपालका लागि रुसी राजदूत अलेक्सी भ्लादिमिरोभिच सुरोभत्सेभसँग गम्भीर चासो राखेका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार नेपालका लागि नवनियुक्त राजदूत अलेक्सी मंगलबार शिष्टाचार भेटका लागि परराष्ट्र मन्त्रालय पुगेका थिए । सम्बद्ध स्रोतका अनुसार परराष्ट्रमन्त्री खनालले परम्परागत सम्झौता भएका मुलुकहरू (भारत र बेलायत)मा बाहेक नेपाली नागरिकलाई कुनै पनि विदेशी सेनामा भर्ती हुन अनुमति दिने नीति नेपाल सरकारको नरहेको राजदूत अलेक्सीलाई भनेका थिए ।

युद्धमा मारिएका नेपालीको शव नेपाल पठाउन, नेपालीलाई सेनामा भर्ती नगर्न र मृतकका परिवारलाई क्षतिपूर्ति दिन तथा बेपत्ता भएका नेपालीको अवस्था यकिन गरेर परिवारजनलाई जानकारी गराउन पनि खनालले कूटनीतिक भाषाशैलीमा राजदूतलाई भनेका थिए । रुसी राजदूतले यी विषयमा रुस सरकारलाई जानकारी गराउने जवाफ दिएका छन् ।

रुसी सेनामा भएका नेपालीको यकिन तथ्यांकसमेत उपलब्ध नभएको परराष्ट्रको कन्सुलर सेवा विभागका एक अधिकारीले बताए । ‘नेपालबाट मात्र नभएर विभिन्न देशबाट नेपाली रुस गएर सेनामा भर्ती भएको जानकारी आएको छ । कति नेपाली छन् भन्ने तथ्यांक रुस सरकारसँग मागेका छौँ, तर जानकारी प्राप्त भएको छैन,’ ती अधिकारीले भने । रुसमा ०८० भदौदेखि नेपालीको भर्ती भएको, तर हाल बन्द रहेको ती अधिकारीले बताए ।

‘परम्परागत सम्झौता सम्पन्न भएका मुलुकमा बाहेक नेपाली नागरिकलाई कुनै पनि विदेशी सेनामा भर्ती हुन अनुमति दिने नेपाल सरकारको नीति रहेको छैन,’ परराष्ट्र मन्त्रालयले भनेको छ । परराष्ट्रले घाइते नेपालीको विवरणका लागि मस्कोस्थित नेपाली राजदूतावासमार्फत रुसी सरकारलाई अनुरोध गर्दै आएको छ । तर, रुसले जवाफ दिएको छैन । नेपाल सरकारले बारम्बार चासो र चिन्ता व्यक्त गर्दै चिठी पठाएपछि रुस सरकारले हाल नेपाली नागरिकलाई रुसी सेनामा भर्ना रोकेको छ । त्यस्तै, रुसी सेनामा रहेका नेपालीको करार पनि नवीकरण रोकेको छ ।

‘रुसी सेनामा कार्यरत रहेकामध्ये त्यहाँकै नागरिकता लिएका नेपालीले सेवा नवीकरण गरेको जानकारी आएको छ । तर, नेपाली नागरिकका रूपमा रुसी सेनामा अहिले भर्ती भएको छैन,’ परराष्ट्रका एक जानकार अधिकारीले भने ।
भेटपछि परराष्ट्रले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘भेटमा नेपाल–रुस सम्बन्धका विभिन्न विषय, नेपाल–रुस कूटनीतिक सम्बन्धको ७० वर्षमा गरिने कार्यक्रम तथा रुसी सेनामा रहेका नेपाली नागरिकका सवालमाथि छलफल भयो ।’

युक्रेनमा नौ नेपाली युद्धबन्दी

रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइसिआरसी) तथा पीडितको परिवारले दिएको जानकारीका आधारमा परराष्ट्रले युक्रेनमा नौ नेपाली नागरिक बन्दी अवस्थामा रहेको जानकारी दिएको छ । परिवारका सदस्यले भने १७ नेपाली नागरिक युक्रेनको सैन्य हिरासतमा युद्धबन्दीको अवस्थामा रहेको जाकारी दिएका छन् । पारस्परिक कानुनी सम्झौता अभावका कारण नेपाल र युक्रेनबाट नेपाली नागरिक फिर्ता हुन सकेका छैनन् ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024