इजरायलमा केयरगिभर : आवेदकले प्रहरी प्रतिवेदन पछि बुझाउँदा हुने

22 June, 2026

वैदेशिक रोजगार विभागले इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदार (केयरगिभर) का रूपमा रोजगारीमा जान आवेदन दिएका नेपालीलाई प्रहरी प्रतिवेदन पछि बुझाउन सकिने व्यवस्था गरेको छ ।

विभागले सूचना जारी गर्दै आवेदन दिने क्रममा प्रहरी प्रतिवेदन प्राप्त नभएका कारण आवेदन प्रक्रियाबाट वञ्चित हुन सक्ने गुनासो आएपछि यस्तो सहजीकरण गरिएको जनाएको छ ।

सूचना अनुसार आवेदनका लागि आवश्यक अन्य सबै योग्यता र मापदण्ड पूरा गरेका आवेदकले प्रहरी प्रतिवेदनका लागि निवेदन दिएको प्रमाण संलग्न गरी आवेदन दिन सक्नेछन् ।

तर, उनीहरूले आगामी १४ असार राति १२ बजेभित्र ‘विथ नो क्रिमिनल रेकर्ड’ उल्लेख भएको अन्तिम प्रहरी प्रतिवेदन अनिवार्य पेस गर्नुपर्ने छ ।

विभागले तोकिएको समयभित्र प्रहरी प्रतिवेदन पेस नगर्ने आवेदकको आवेदन स्वत: अयोग्य हुने स्पष्ट गरेको छ ।

इजरायल रोजगारीका लागि आवेदन प्रक्रिया चलिरहेका बेला प्रहरी प्रतिवेदन प्राप्त गर्न ढिलाइ हुने समस्या देखिएपछि विभागले आवेदकलाई सहज हुने गरी यो व्यवस्था गरेको हो । यस व्यवस्थाबाट आवश्यक कागजात संकलन प्रक्रियामा रहेका आवेदकलाई राहत पुग्ने अपेक्षा गरिएको विभागको भनाइ छ ।

इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदार पठाउने प्रक्रिया अगाडि बढिरहेको छ । विभागले योग्य उम्मेदवारलाई तोकिएको समयभित्र आवश्यक कागजात पेस गर्न आग्रह गरेको छ ।

विभागले १३ जेठमा २ हजार ३ सय जना केयरगिभरका लागि आवेदन माग गरेको थियो । ७ असारसम्म आवेदन दिन सकिने छ । त्यो अवधिमा प्रहरी प्रतिवेदन बनाउन नसक्नेका लागि १४ असारसम्म बुझाउन सकिने विभागले जनाएको हो ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024