जापानको प्रलोभनमा सरकारी कर्मचारीसमेत ठगिए

22 June, 2026

वैदेशिक रोजगारीमा युरोप, जापान, अमेरिकालगायतका देशमा आकर्षक सेवा सुविधासहित कमाइ हुने प्रलोभनमा परेर बेरोजगार युवा कन्सल्टेन्सीबाट ठगीमा पर्ने घटना नयाँ होइन । पछिल्लो समयमा सरकारी संस्थानमा सेवारत कर्मचारीसमेत गेट्सवाइ इन्टरनेसल ट्राभल एवं भिसा नामको कम्पनीको आकर्षक विज्ञापनको प्रलोभनमा ठगीमा परेको पाइएको छ ।

पासबहादुर लामा वैदेशिक रोजगारीमा जापान जाने तयारी गरिरहेकै बेलामा सामाजिक सञ्जालमा गेट्सवाइ इन्टरनेसल ट्राभल एवं भिसा नामको कम्पनीबाट चाहे जस्तो माग आयो । यसअघि जापानमै काम गरेर फर्किनुभएका लामालाई उक्त कम्पनीको कामको प्रक्रिया सही लागेपछि पहिलो चरणमा भिसा प्रक्रिया गर्ने गरी तीन लाख रुपियाँ दिनुभयो ।

जापानमा मासिक साढे दुई लाखदेखि तीन लाख रुपियाँसम्म कमाइ हुने प्रलोभनमा परेर उहाँले गएको मङ्सिरमा त्यो बराबरको रकम बुझाएको र बाँकी भिसा आएपछि तिर्ने सर्त थियो । भिसा आउला भन्दाभन्दै दुई महिनादेखि उक्त कम्पनीका मुख्य सञ्चालक केशरबहादुर गुरुङ फोन अफ गरेर फरार भएपछि मात्रै उहाँलाई आफू ठगीमा परेको थाहा भयो । उक्त कम्पनीबाट ठगिनेमा उहाँ मात्रै एक्लो भने होइन ।

लामा जस्तै गरी ललिता श्रेष्ठ पनि जापान जाने चक्करमा ठगिन पुग्नुभयो । जापानमा राम्रै कमाइ हुने ठाउँमा जान पाउने भएपछि पहिलो चरणमा भिसा प्रक्रियाका लागि भनेर उहाँले दुई लाख रुपियाँ कम्पनीलाई दिनुभयो ।

१२ लाख रुपियाँमा जापानको राम्रै होटेलमा कामका लागि पठाउने भनेपछि श्रेष्ठले बाँकी पैसा पनि भिसा आउनेबित्तिकै तिर्ने भनेर आफ्नातर्फबाट रकम सङ्कलन गरिसक्नुभएको थियो ।

गत कात्तिकमै दुई महिनामा भिसा आउँछ भनेर तयारीमा रहनुभएकी श्रेष्ठले भन्नुभयो, “छ महिनासम्म भिसा नआएपछि फलोअफ गर्न खोज्दा सञ्चालकको फोन अफ भयो र कार्यालय पुग्दा कार्यालयमा ताला झुन्डिएको देखेपछि मात्रै आफू ठगिएको थाहा भयो । उक्त कम्पनीबाट ठगिनेमा लामा र श्रेष्ठ मात्रै हुनुहुन्न । उहाँसहित १५० जना एउटै लटमा ठगिएको उजुरी विभागमा परेको छ ।

यसरी ठगिनेमा सार्वजनिक संस्थाको राम्रै तहमा काम गर्ने कर्मचारीसमेत रहेको पाइएको छ । नेपाल सरकारको स्वामित्वमा रहेको सार्वजनिक संस्थानमा कार्यरत युवाले नाम नभन्ने सर्तमा भन्नुुभयो, “जापानमा मासिक साढे दुई लाख कमाउन लोभले फसियो, उसको कामको प्रक्रिया हेर्दा त्यस्तो गलत थिएन र ठग रहेछ पछि थाहा भयो ।”

उक्त कम्पनी काठमाडौँ रातोपुलमा रहेको छ । केहरबहादुर गुरुङ, प्रेम पुरी, प्रतीक बुढाथोकी, अस्कर हुमागाईंलगायतले सञ्चालन गरेको उक्त कम्पनीको नामबाट यसअघि पनि युरोप पठाउने भन्दै पैसा उठाएर त्यत्तिकै सङ्ख्याका युवालाई ठगेको पाइएको छ । त्योबेलामा पनि उनीहरूले केही समय कार्यालय नै बन्द गरेर पछि फेरि पुनः खुला गरेको पाइएको छ ।

प्रभावित युवाले वैदेशिक रोजगारीका नाममा ठगिएको भन्दै यही जेठको पहिलो साता चार जनालाई प्रतिवादी बनाएर वैदेशिक रोजगार विभागमा उजुरी गरेका छन् । विभागले उक्त उजुरीको सुनुवाइ गर्दै फरार भएका कम्पनीका सञ्चालकको खोजीका लागि नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग (सिआइबी) लाई पत्राचार गरेको जनाएको छ । सिआइबीले फरार रहेका अभियुक्त खोज्ने काम गरेको छ ।

युवा, श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगार क्षेत्रमा सुशासन स्थापना गर्न निरन्तर क्रियाशील रहेको जनाएको छ । पारदर्शिता, जवाफदेहिता र पीडितलाई न्याय दिलाउने प्रतिबद्धतासहित पुराना मुद्दालाई चाँडो फस्र्योट गर्ने प्रक्रिया अगाडि बढाइएको मन्त्रालयको दाबी छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024