घर फर्किए हरियाणाबाट उद्धार गरिएका १६ नेपाली

11 June, 2026

Ranjan Bhandari

भारतको हरियाणा राज्यस्थित एक पोल्ट्री फार्ममा बन्धक अवस्थामा उद्धार गरिएका १६ नेपाली सीमानाका मलिवाडा भिठामोड आइपुगेका छन्। महोत्तरीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादव, सुरक्षा निकायका प्रमुखहरू र आफन्त नेपालसहितले उनीहरूलाई स्वागत गरेका हुन्।

मंगलबार बिहान भारतको दिल्लीस्थित नेपाली दूतावास पुगेका आवश्यक कानुनी प्रकृया पूरा गरी दिल्लीबाट हिँडेका उनीहरू बुधबार अपराह्न करिब ४ बजे सीमानाकामा आइपुगेका हुन्।

महोत्तरीको बर्दिबास नगरपालिका– १४ मुसहर बस्तीका उनीहरु काम गर्न भनी भारतको हरियाणा गएका थिए। तर त्यहाँ भनेअनुसारको काम नदिएको, तलव रोकेको र कुटपिटजस्ता समस्या भएपछि घरमा खवर गरेका थिए। बर्दिबास इलाका प्रहरी कार्यालयबाट प्राप्त सूचनाको आधारमा नेपाली दूतावास, नयाँ दिल्लीको समन्वय तथा हरियाणा प्रहरीको क्राइम ब्रान्चअन्तर्गत मानव तस्करीविरोधी इकाई, भारत सरकारका सम्बन्धित निकाय र आफन्त इण्डिया फाउन्डेशनको संयुक्त पहलमा सोमबार उनीहरुको उद्धार गरिएको थियो।

उद्धार गर्न गएका आफन्त इन्डियाका उद्धार अधिकृत मानबहादुर श्रेष्ठले उनीहरूको अवस्था दयनीय भेटिएको र साहुलाई बक्यौता तत्काल तिर्न लगाएर स्वदेश ल्याइएको बताए।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले उद्धार भएर आएका सबैलाई स्वागत गर्दै उद्धार कार्यमा संलग्न सबैलाई धन्यवाद दिए। उद्धार गरिएकाहरूलाई वडा नं. १४ का वडाध्यक्षले व्यवस्था गरिदिएको भाडाको बसमा बर्दिवासस्थित घर लगिएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024