इजरायल रोजगारीका लागि आवेदन दिने म्याद घर्किरहेका वेला त्रिपुरेश्वरस्थित सिआइआइएन इन्टरनेसनल क्वालिफिकेसन्सले मंगलबार क्याम्ब्रिज अपस्किल्स इंग्लिस टेस्ट अनिश्चितकालका लागि स्थगित गरिदिएपछि परीक्षार्थी अन्योलमा परेका छन्।
इजरायलमा दीर्घकालीन स्याहार केन्द्रका लागि केयरगिभरमा रोजगारीका लागि आवेदन दिने अन्तिम अवधि आगामी ७ असारसम्म मात्र बाँकी छ। आवेदनका लागि अनिवार्य गरिएको भाषा परीक्षा नै रोकिएको हो। इजरायलले यसपटक २३ सय केयरगिभर लैजाने तयारी गरेको छ।
सिआइआइएनले मंगलबार एक सूचना जारी गर्दै अप्रत्याशित र आफ्नो नियन्त्रणबाहिरको परिस्थितिका कारण परीक्षा स्थगित गर्नुपरेको जनाएको छ। सूचनाअनुसार आजैको मितिदेखि लागू हुने गरी अर्को सूचना नआएसम्मका लागि यस केन्द्रबाट सञ्चालन हुने सम्पूर्ण परीक्षाहरू स्थगित गरिएका हुन्। यसमा आजैका दिन सञ्चालन हुने भनिएका परीक्षाहरूसमेत समावेश छन् । ‘उक्त अवधिभर कुनै पनि परीक्षा सञ्चालन हुनेछैन। परीक्षाको नयाँ मिति, समय तथा थप व्यवस्थासम्बन्धी जानकारी तयार भएपछि सोही माध्यमबाट यथाशीघ्र सूचित गरिनेछ,’ सूचनामा भनिएको छ।
इजरायल केयरगिभरका लागि भाषा परीक्षा उत्तीर्ण भएको प्रमाणपत्र आवेदनका साथै पेस गर्नुपर्ने हुन्छ। आवेदन दिने म्याद समाप्त हुन अब दुई हप्ता मात्र बाँकी रहँदा परीक्षा नै अनिश्चितकालका लागि स्थगित भएपछि परीक्षार्थी आक्रोशित छन्। परीक्षा रोकिएको स्पष्ट कारण र नयाँ मितिबारे संस्थाले ठोस जानकारी नदिएका कारण त्रिपुरेश्वरस्थित परीक्षा केन्द्र वरपर परीक्षार्थीहरूको भिड छ।
यसअघि तोकिएको समयभन्दा तीन घण्टा ढिलो गरी मात्र परीक्षा सञ्चालन हुने गरेको, परीक्षा हलमा न्यूनतम पूर्वाधार नभएको र होहल्लाका बिच परीक्षा सञ्चालन गरिने गरिएको भन्दै परीक्षार्थीले मंगलबार बिहान सिआइआइएन इन्टरनेसनल क्वालिफिकेसन्समा नाराबाजीसमेत गरेका थिए।
सरकारले सिआइआइएन इन्टरनेसनल क्वालिफिकेसन्सको न्यूनतम पूर्वाधार क्षमतासमेत नहेरी क्याम्ब्रिज अंग्रेजी भाषा परीक्षा अनिर्वाय गरेको आरोप छ। इजरायल रोजगारीका लागि यसअघि ब्रिटिस काउन्सिलबाट लिइएको फाउन्डेसन इंग्लिस टेस्ट (एफइटी) अनिवार्य थियो। यसपटक क्याम्ब्रिज भाषा परीक्षा अनिवार्य गरिएको छ।