भिसा अवधि समाप्त भएपछि पनि नवीकरण नगरी कम्बोडियामा बसिरहेका ६६ जना नेपाली नागरिकलाई तत्काल स्वदेश फर्किन थाइल्यान्डस्थित नेपाली दूतावासले आग्रह गरेको छ । दूतावासले सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित नेपाली नागरिकहरूलाई आवश्यक यात्रा व्यवस्था मिलाएर तोकिएको समयभित्र नेपाल फर्किन निर्देशन दिएको हो ।
दूतावासका अनुसार विभिन्न प्रयोजनका लागि कम्बोडिया पुगेका ६०२ जना नेपालीमध्ये भिसा अवधि सकिएपछि पनि त्यहाँ बसिरहेका नागरिकहरूको स्वदेश फिर्ताका लागि कम्बोडिया सरकारसँग समन्वय गरिएको थियो । सो क्रममा भिसा शुल्क तथा जरिवाना मिनाहा गराउँदै उनीहरूको फिर्ता प्रक्रियालाई सहजीकरण गरिएको थियो । यद्यपि इमेल, टेलिफोन तथा ह्वाट्सएपमार्फत पटक–पटक सम्पर्क गर्दा पनि ६६ जना नेपालीले स्वदेश फर्किन आवश्यक पहल नगरेको दूतावासले जनाएको छ । कम्बोडिया सरकारले अवैध रूपमा बसोबास गर्ने विदेशी नागरिकविरुद्ध कानुनी कारबाही थप कडा बनाएको दूतावासले उल्लेख गरेको छ । नयाँ कानुनी व्यवस्थाअनुसार अपराधको प्रकृतिअनुसार उच्च जरिवाना तथा आजीवन कारावाससम्मको सजाय हुन सक्ने चेतावनी दिइएको छ ।
दूतावासले सम्बन्धित नेपाली नागरिकलाई कनेक्टिङ फ्लाइटसहितको टिकट व्यवस्था गरी सन् २०२६ जुन १२ भित्र अनिवार्य रूपमा नेपाल फर्किन अनुरोध गरेको छ । साथै, परिवारजन तथा आफन्तलाई समेत आफ्ना सदस्यहरूको सुरक्षित स्वदेश फिर्ताका लागि आवश्यक सहयोग गर्न आग्रह गरिएको छ ।