बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन

4 June, 2026

काठमाडौं महानगरपालिकाले ठमेल क्षेत्रभित्र रहेका मसाज सेन्टर र स्पाको अनुगमन गरेको छ।

काठमाडौं महानगरपालिका–२६ को मानव बेचबिखन तथा ओसारपसार समितिले अनाहत नेपाल, नेपाल प्रहरी, महानगर प्रहरीसहितको सहकार्यमा बुधबार ठमेल क्षेत्रमा हुने बाल यौन बेचबिखन र श्रम शोषणको अन्त्यका लागि अनुगमन गरेको हो। अनुगमनका क्रममा आचारसंहिता विपरीत मसाज तथा स्पा सेन्टर सञ्चालन, दर्ता नगरी स्पा तथा मसाज सेन्टर सञ्चालन गरेको पाइएको समितिका संयोजक शान्ता प्रजापतिले जानकारी दिइन्।

काठमाडौं महानगरपालिका–२६ भित्र सञ्चालित होटेल, मसाज सेन्टर, स्पा, खाजाघर, लज तथा गेष्ट हाउसमा विभिन्न बहानामा १८ वर्षमुनिका बालिकालाई श्रममा लगाउने र यौन व्यवसायमा प्रयोग गर्ने गरिएको गुनासोलाई सम्बोधन गर्दै वडाले यस्तो कदम चालेको संयोजक प्रजापतिले बताइन्।

‘अठार वर्षभन्दा मुनिका बालबालिकालाई कुनै पनि प्रकारको जोखिमपूर्ण काम, श्रम वा यौन व्यवसायमा लगाउनु नेपालको कानुन अनुसार अक्षम्य र दण्डनीय अपराध हो, यदि कसैले यस्तो कार्य गरेको पाइएमा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन र बालश्रम (निषेध र नियमित गर्ने) ऐनबमोजिम कडा कानुनी कारबाही गरिनेछ,’ उनले भनिन्।

काठमाडौं महानगरपालिकाले ठमेल क्षेत्रभित्र सञ्चालित मसाज तथा स्पा सेन्टरमा नियमित चेकजाँच गर्ने जनाएको छ। काठमाडौं महानगरपालिकाले व्यवसायमा कार्यरत कर्मचारीको उमेर खुल्ने आधिकारिक परिचयपत्र राख्नुपर्ने, प्रत्येक व्यावसायिक स्थलमा ‘बालश्रम र यौन शोषण निषेध’ सम्बन्धी जानकारीमूलक बोर्ड राख्नुपर्ने बताएको छ।

संयोजक प्रजापतिले कतै बाल यौन बेचबिखन वा श्रम शोषण भइरहेको थाहा पाएमा तुरुन्त वडा कार्यालय वा नजिकैको प्रहरी चौकीमा खबर गर्न आग्रह गरिन्। ‘हाम्रो वडालाई बालमैत्री र सुरक्षित बनाउनु हाम्रो प्रमुख दायित्व हो, बालबालिकाको भविष्यमाथि खेलबाड गर्ने जोकोहीलाई पनि छुट दिइने छैन,’ उनले भनिन्।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024