कम्बोडियामा भिसाको म्याद सकिएका ६०२ नेपालीको जरिवाना शुल्क मिनाहा

1 June, 2026

विभिन्न माध्यमबाट कम्बोडिया पुगी आफ्नो भिसाको समयावधि समाप्त भइसकेपछि पनि बसोवास गरिरहेका ६०२ जना नेपाली नागरिकको भिसा शुल्क मिनाहा भएको छ । नेपाली दूतावास बैंककको कूटनीतिक प्रयासमा आठौँपटक नेपालीहरूको भिसा मिनाहा भएको हो । नेपाली दूतावासले भिसा अवधि समाप्त भइसकेपछि पनि कम्बोडियामा बसिरहेका सम्पूर्ण नेपाली नागरिकलाई एक हप्ताभित्र अनिवार्य रूपमा नेपाल फर्किन आह्वान गरेको छ ।

भिसाको म्याद नाघेका नेपाली नागरिकहरू नेपाल फर्कँदा कम्बोडिया सरकारलाई तिर्नुपर्ने जरिवाना तथा शुल्क मिनाहा गराउन बैंककस्थित नेपाली दूतावासले १८ वैशाखदेखि विवरण संकलन गर्दै आएको छ ।

‘हालसम्म संकलित विवरणअनुसार राहदानी हराएका सम्पूर्ण नेपाली नागरिकहरूका लागि एकतर्फी यात्रा अनुमतिपत्र तयार गरी कम्बोडिया पठाइसकिएको छ । दूतावासको अनुरोधमा कम्बोडिया सरकारले विभिन्न चरणमा हालसम्म आठौँपटक गरी ६०२ जना नेपाली नागरिकहरूको भिसा अवधि नाघेपछि लाग्ने जरिवाना तथा शुल्क मिनाहा गरेको छ,’ थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर ओलीले भने ।

कम्बोडिया सरकारबाट जरिवाना तथा शुल्क मिनाहा भइसकेका व्यक्तिहरूले हवाई टिकटको व्यवस्था गरिसकेपछि सोको जानकारी अग्रिम रूपमा कम्बोडियाको अध्यागमन विभागमा दिनुपर्नेछ । त्यहाँ रहेका नेपालीहरूलाई टिकट काट्न पनि दूतावासले भनेको छ । टिकटको व्यवस्था गर्दा कम्बोडियाबाट नेपाल जाने प्रत्यक्ष उडान नभएको हुँदा आफ्नो टिकट कनेक्टिङ फ्लाइटको हो होइन एकिन गरेर मात्र टिकट खरिद गर्न पनि दूतावासले अनुरोध गरेको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024