युनिभर्सिटी अफ रोह्याम्पटनमा अण्डरग्रयाजुएट तहमा डिजिटल मार्केटिङ पढ्न गत सेप्टेम्बर इन्टेकमा लन्डन आए विनोद (नाम परिवर्तन) । २२ वर्षीय उनले बिहे गरेर आफ्नो डिपेन्डेन्ट नेपालमै छाडेका थिए । कारण थियो, बेलायत सरकारको पछिल्लो नियमले रिसर्च र पिएचडीबाहेक डिपेन्डेन्ट ल्याउन प्रतिबन्ध छ ।
ऋण जोरजाम गरेर पहिलो वर्षको १० हजार पाउण्ड (करिब २१ लाख रुपैयाँ) जुटाएर बेलायत आएका विनोदले लन्डन टेक्नेवित्तिकै काम पाउने अवस्था पनि थिएन । झण्डै ४ महिना कामबाट विमुख भए ।
काम र पढाइको तनाव त छंदैछ, आर्थिक भार, ऋण तिर्न ताकेता, बाबु–आमा र श्रीमतीका अपेक्षा आदिका कारण उनी डिप्रेसनमै गए । घरभन्दा धेरै टाढा एक्लाएक्लै बस्दा दम्पत्तिमा असमझदारी बढ्न थाल्यो । एकअर्काबीच विश्वास घट्दै गयो । नेपालमा वर्ष दिन अघि जोडिएको वैवाहिक सम्बन्धमा विस्तारै दरार आउन थाल्यो र अन्तत: उनीहरु सम्बन्ध विच्छेदको अप्रिय निर्णयमा पुगे ।
विनोदले लन्डनस्थित नेपाली दूतावासबाट अधिकृत वारेसनामा बनाएर यतैबाट नेपालमा डिभोर्स फाइल गरेका छन् ।
अर्को कथा उस्तै छ तर परिदृश्य फरक । टिएर टु भिजामा दुई वर्षअघि बेलायत आएका कैलाशको जोडी पनि जिन्दगीभर एकसाथ रहने बाचा पूरा गर्न असमर्थ भए । रेष्टुरेन्टमा कार्यरत कैलाशलाई रोजगारदातासँगको सम्झौता बमोजिम पूरा समय काम नगरी नहुने । हस्पिटालिटीमा लाग्नेहरुलाई त सप्ताहन्त झन् व्यस्त हुने भइहाल्यो । उनकी जीवनसंगिनी आफूलाई समय नदिइएको गुनासो गरिरहन्थिन् । पैसा बचत गर्न नसक्नु, नियमित जाँड–रक्सी सेवन, बेला–बेला जुवाको लत र हप्कीदप्की आदि श्रीमानका कमजोरीले उनीहरुको घरबार पनि उजाडियो ।
नेपाल छँदा ३१ वर्षीय प्रदीप (परिवर्तित नाम) र २२ वर्षकी सृष्टिको संसार निकै रोमाञ्चक थियो । काठमाडौँको एउटा प्रतिष्ठित कलेजमा व्यवस्थापन पढ्दै गर्दा सुरु भएको उनीहरूको प्रेम सम्बन्ध बेलायत गएर उच्च शिक्षा हासिल गर्ने र आफ्नो भविष्य सुधार्ने सपनासहित बिहेमा परिणत भयो । उनीहरूले हतारमै कानुनी विवाह गरे ।
प्रदीप ‘मेन एप्लिकेन्ट’ (मुख्य आवेदक) र सृष्टि ‘डिपेन्डेन्ट भिसा’ मा उनीसँगै उडिन् । तर, लन्डनको हिथ्रो विमानस्थलमा ओर्लिएपछि सुरु भएको कठोर यथार्थले उनीहरूको त्यो रोमान्टिक जीवनलाई धेरै दिन टिकाइराख्न सकेन ।
बेलायत आइपुगेपछि प्रदीपको दिनचर्या विश्वविद्यालयको असाइनमेन्ट, लेक्चर र कडा नियमहरूमा बाँधियो । अर्कोतर्फ, घरको कोठा भाडा, खाद्यान्न र प्रदीपको अर्को सेमेस्टरको महँगो विश्वविद्यालय फी जुटाउने मुख्य जिम्मेवारी सृष्टिको काँधमा आइलाग्यो ।
नेपालमा हुँदा कहिल्यै कडा श्रम नगरेकी सृष्टिले यहाँ दैनिक १२ देखि १३ घण्टासम्म एउटा स्टोर र केयर होममा काम गर्नुपर्ने भयो । प्रदीप कलेज र आंशिक कामबाट थकित भएर कोठामा फर्कँदा सृष्टि काममा निस्किसकेकी हुन्थिन् ।
प्रदीप र सृष्टिबीचको दुरी यति बढ्यो कि उनीहरू एउटै कोठामा बस्दा पनि अपरिचितझैं हुन थाले । कठिन परिस्थितिमा एकअर्काको सारथि बन्नुको सट्टा उनीहरूले समस्याको दोष पार्टनरलाई मात्र थुपार्न थाले । अन्तत: विवाह भएको दुई वर्ष पनि नपुग्दै उनीहरूले अलग हुने एउटा गम्भीर निर्णय लिए । उनीहरूले आपसी समझदारीमै कानुनी रूपमा सम्बन्धविच्छेद गरे ।
प्रदीप र सृष्टिको यो कथा उच्च शिक्षाका लागि बेलायत टेकेका सयौं विद्यार्थी जोडीहरुसँग मेल खान्छ ।
युनिभर्सिटी अफ वेष्ट लन्डनमा एमएस्सी इन्टरनेसनल विजनेश म्यानेजमेन्ट अन्तिम सेमेष्टरमा अध्ययनरत सन्दीप भट्ट अहिलेका युवा पुस्ता आफ्नो व्यक्तिगत पहिचान, करिअर र मानसिक शान्तिलाई लिएर बढी सचेत रहेको बताउँछन् । ‘उनीहरू समाज वा परिवारको दबाबका लागि मात्रै एउटा विषाक्त वा मृत सम्बन्धमा अल्झिएर बस्न चाहँदैनन्, जुन एक हिसाबले सकारात्मक पनि हो’, भट्टले भने, ‘तर, यसको अर्को पाटो के पनि हो भने हतारमा गरिने विवाह, वैवाहिक जीवनमा आउने आर्थिक–मानसिक चुनौतीहरूको पूर्वानुमान नगर्नु र संकटका बेला परिपक्व संवाद गर्न नसक्नुले धेरै विद्यार्थीको जीवन उजाड बनाइरहेको छ ।’
वर्ष दिनमा दूतावासबाट २६० अधिकृत वारेसनामा जारी
सम्बन्ध विच्छेद प्रयोजनका लागि लन्डनस्थित नेपाली दूतावासमा अधिकृत वारेसनामा बनाउन आउने युवाको संख्या बढिरहेको कार्यवाहक राजदूत विपिन दुवाडीले जानकारी दिए । दुवाडीका अनुसार, २०८२ सालमा झण्डै २६० जनाले सम्बन्ध विच्छेदका लागि दूतावासबाट अधिकृत वारेसनामा बनाएका थिए । ‘वारेसनामा बनाउनेमा धेरै विद्यार्थी र स्किल्ड भिजामा आएका युवा छन्’, दुवाडीले अनलाइनखबरसँग भने ।
नेपालमा कानूनी रुपमा दर्ता भएको वैवाहिक सम्बन्ध टुंग्याउने हकमा मात्र दूतावासबाट वारेसनामा लिइन्छ । बेलायतमै बिहे र सम्बन्ध विच्छेद गरेकाहरुको कथा बेग्लै छ ।
कार्यवाहक राजदूत दुवाडी युवा अवस्थामै हुने सम्बन्ध विच्छेदले पछिसम्म सामाजिक तथा भावनात्मक असर पर्ने बताउँछन् । ‘अभिभावकहरुले पनि हतारमा बिहे गर्दा आफ्ना सन्तानको भविष्य कस्तो हुन्छ सोच्नु पर्ने बेला आएको छ’, उनले भने, ‘भावना र सम्बन्धको जग बलियो नबनाई गरिएका विवाहले जिन्दगीभर असर गर्न सक्नेतर्फ सबै सचेत बन्न आवश्यक छ ।’
बेलायतमा लगभग ४२ प्रतिशत विवाह एक विन्दुमा पुगेर सम्बन्ध विच्छेदमा समाप्त हुने तथ्यांक छ ।
आत्मीयतामा कमी, अलग बसाइँ र कुराकानी कम, असमझदारी, कुलत, घरेलु हिंसा–दुर्व्यवहार, आर्थिक समस्या, मिड लाइफ क्राइसिस, व्यभिचार जस्ता पक्ष सम्बन्ध विच्छेदका प्रमुख कारण मानिएको छ ।