श्रम संस्कृति पार्टीका सांसद आरेन राईले वैदेशिक रोजगारीमा जाने नेपालीको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
फ्री भिसा फ्री टिकटको नाममा युवायुवती ठगीमा परेको विषयमा पटकपटक सदनमार्फत सरकारको ध्यानाकर्षण गराए पनि सम्बोधन नभएको भन्दै सांसद राईले असन्तुष्टि जनाए।
विदेशमा ज्यान गुमाएका नेपालीको शव स्वदेश ल्याउनसमेत मुस्किल रहेको उल्लेख गर्दै उनले मंगलबार प्रतिनिधिसभा बैठकमा भने, ‘जिउँदो हुँदा त आफ्नो देश र परिवारसँग बस्न पाएनन्, रोजगारीको अभावले विदेशिन बाध्य हुनुपरेको छ। मृत्यु भएपछि पनि आफ्नो जन्मभूमि शव ल्याउन कठिनाइ भोग्नुपरेको अवस्था पीडादायी र विडम्बनापूर्ण छ।’
धेरै देशमा दूतावास नै नरहेको र भएकामा पनि प्रभावकारी काम नभएको बताउँदै सांसद राईले युवाहरू वैदेशिक रोजगारीमा गएकाले नै देशको अर्थतन्त्र चलेकाले उनीहरूको समस्या समाधान गर्न माग गरे।