श्रमिकलाई सात समुन्द्रपारि १० हजार रुपैयाँमा प

28 May, 2026

Hom Karki

नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समितिले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई १० हजार रुपैयाँमा पठाउन नसक्ने भन्दै सरकारसमक्ष वैज्ञानिक रूपमा दुई महिनाको तलबबराबरको सेवा शुल्क निर्धारण गर्न माग राखेको छ ।

युवा, श्रम तथा रोजगार मन्त्रालय र वैदेशिक रोजगार विभागबाट खटिने अनुगमन टोलीबाट वैदेशिक रोजगार व्यवसायीमाथि धरपकड हुन थालेपछि उनीहरूले सेवा शुल्क निर्धारण गर्नुपर्ने माग अगाडि सारेका हुन् । श्रम मन्त्रालयले २०७२ जेठ २६ गते खाडी र मलेसियामा श्रमिक पठाएबापत सेवा शुल्कबापत १० हजार रुपैयाँ लिन पाउने नीति लिएको थियो ।

‘जुन दिनमा राज्यले १० हजारको घोषणा गर्दै थियो । त्यही दिनमा हामी ताहाचल (विभाग)मा आन्दोलनमा थियौं । आजभन्दा ११ वर्षदेखि हामीले १० हजार रुपैयाँमा पठाउन सक्दैनौं भनिरहेका छौं । हामीले १० हजारमा पठाएको छैनौं,’ समितिद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा समितिका अध्यक्ष हरिबहादुर पाण्डेले भने,‘त्योभन्दा बढी पैसा उठाउन हामी बाध्य छौं । हामीले उठाएकै छौं । यसमा मोही माग्न जाने, ढुंग्रो लुकाएर काम छैन । राज्यलाई यथार्थ कुरा भन्नुपर्छ । सात समुन्द्रपारि श्रमिकलाई १० हजार रुपैयाँमा पठाउन सक्दैनौं ।’

समितिले दुई महिनाको तलबबराबर सेवा शुल्क लिन पाउनुपर्ने बताए । ‘जाजरकोटबाट एउटा कामदार काठमाडौं आउँदा उसको १०-१५ हजार रुपैयाँ खर्च हुन्छ । १० हजारमा पठाउन सम्भव नै छैन,’ उनले भने,‘सेवा शुल्क निर्धारण गर्नुस् । हामी त्योभन्दा बढी पैसा उठाउन दिँदैनौँ । उठाएको छ भने त्यसको जिम्मेवारी हामी लिन्छौं ।’

म्यानपावर व्यवसायीहरूका अनुसार यसबारे श्रममन्त्रीलाई जानकारी दिइएको छ । उनीहरूले वैदेशिक रोजगार विभागबाट नभई बाह्य पक्षबाट म्यानपावरमाथि छापा मारिरहेको वताए । ‘विभागको निकायभन्दा बाहिरको मान्छे छापामार शैलीमा आइरहेको छ । हामीलाई अनुगमन गर्ने निकाय विभाग हो । विभागको कर्मचारी आउँदा हामी स्वागत गछौं,’ उनले भने, ‘दुई महिनाको तलबबराबरको रकम लिन दिइयोस् । त्यो अनुसार राज्यलाई कर तिर्छौं । जाने श्रमिकलाई पनि रसिद दिन्छौं । यो क्षेत्रलाई मर्यादित बनाउन सकिन्छ ।’

समितिले छिमेकी मुलुकले वैदेशिक रोजगारमा श्रमिक पठाउँदा उचित सेवा शुल्क लिइरहेको जनाएको छ ।

‘नेपाली व्यवसायीले यी देशका व्यवसायीसँग प्रतिस्पर्धा गरेर नेपाली श्रमिकको माग ल्याउनुपर्ने अवस्था छ । तर, नेपालको सेवा शुल्क तथा हवाई टिकटसमेत फ्रीको नीतिले गर्दा प्रतिस्पर्धा गर्न नसक्ने अवस्था छ,’ समितिका उपाध्यक्ष हरीश कुवँरले भने,‘नेपालमा पनि छिमेकी मुलुकको अभ्यासअनुसार दुई महिनाको तलब सेवा शुल्क र रोजगारदाता कम्पनीले हवाई टिकट नदिएको अवस्थामा कामदार स्वयंले हवाई टिकट लिएर जाने व्यवस्था गरिनुपर्छ ।’

उनीहरूका अनुसार सबै भिसामा सेवा शुल्क लिने भन्ने माग नभएको बताए । ‘रोजगार कम्पनीले फ्री भिसा, फ्री टिकट र सेवा शुल्कसमेत प्रदान गरेको अवस्थामा नि:शुल्क रूपमा वैदेशिक रोजगारीमा पठाइरहेको छ,’ उनले भने ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024