उमेशको पीडा : परिवारका लागि परदेशिए, हातखुट्टा गुमाएर फर्किए

20 May, 2026

Parbat Portel

झापाको कनकाई नगरपालिका–५ बेनुबाजाका २६ वर्षीय उमेश खाती आबुधावीस्थित आर्मफोर्स अफिसर्स क्लब एन्ड होटलमा हाउस किपिङ गर्थे । गत २ चैत उनको जीवनकै सबैभन्दा पीडादायी दिन बन्यो । अघिल्लो दिन शरीर नै काप्ने ज्वरो आयो । ‘डबल ड्युटी’ को थकानले ज्वरो आएको ठानेर खासै वास्ता नगरी पारासिटामोल खाएर फेरि काममै खटिए ।

भोलिपल्ट बिहान नित्यकर्मका लागि बाथरुम छिरेका उनी त्यहीं ढले । संयोगवश कम्पनीकै एक सेक्युरिटी गार्डले देखेपछि उद्धार भयो । ‘बाथरुमबाट उठेपछि मैले आफैं सर्ट लगाएको सम्झना छ,’ उमेशले भने, ‘त्यसपछि सास फेर्न अप्ठेरो जस्तो भएपछि अस्पताल भर्ना गरियो ।’ अस्पताल पुगेर उनले श्रीमती तीर्थालाई ‘भ्वाइस म्यासेज’ पठाएर बिरामी भएको जानकारी गराएका थिए ।

आबुधावीको लाइफ केयर अस्पतालको बेडबाट परिवारसँग कुरा गर्दागर्दै उनी फेरि ढले । त्यसपछि सम्पर्क हुन नसक्दा यता परिवारमा चिन्ता झनै बढ्दै गयो । करिब एक सातासम्म परिवार उनको अवस्थाबारे पूर्ण बेखबर बन्यो । कम्पनीलाई निरन्तर सम्पर्क गरेपछि उपचार जारी रहेको जानकारी आए पनि वास्तविक अवस्था थाहा नपाउँदा परिवारमा बेचैनी भने कायमै रह्यो ।

खासमा उमेश ‘ड्राई ग्याङ्ग्रिन’ नामको अनौठो रोगबाट पीडित भएका थिए । चिकित्सकहरूका अनुसार यो रोगका कारण शरीरको जुनसुकै भागमा रक्तसञ्चार प्रक्रिया बन्द हुन्छ । गम्भीर ‘ब्याक्टेरियल’ संक्रमणका कारण अत्यन्त जोखिमपूर्ण मानिने यो रोगको समयमै उपचार नभए ज्यानसमेत जान सक्छ ।

उमेशले समयमै उपचार पाएर ज्यान बच्यो । बाथरुमबाट उद्धार गरी अस्पताल पुर्‍याएपछि लामो समयसम्म होस नफर्किंदा चिकित्सकले पनि उनलाई लगभग ‘माया मारिसकेका’ थिए । दुबईमै कार्यरत नातेदार भाइ विवेक खाती उनलाई हेर्न अत्तालिँदै अस्पताल पुगे । भेन्टिलेटरमा राखिएका दाइलाई देखेर विवेक पनि निराश भइसकेका थिए । अचानक उमेशको शरीर हल्का चलमलायो । उनले दायाँ हातका औंला सल्बलाएको देखेपछि विवेकले चिकित्सकलाई बोलाए । त्यसपछि चिकित्सकको टोलीले थप उपचार प्रक्रिया अघि बढायो । ‘विवेक भाइले थाहा न पाएको भए त म यतिबेला बाँच्ने नै थिइनँ होला,’ उमेशले सुनाए, ‘मैले त दोस्रो जीवन पाएँ ।’ उपचार सुरु भएको १३ औं दिनमा उमेशको होस फर्कियो । ‘दुवै हातखुट्टा कालो र ढुंगा जस्तै भइरहेको थियो,’ उमेशले सुनाए, ‘सहनै नसक्ने गरी दुखिरहेको थियो ।’

अस्पतालका चिकित्सकले ग्याङ्ग्रिनले प्रभावित दुवै हात र खुट्टा तत्काल काट्नुपर्ने भन्दै परिवारको सहमति मागेका थिए । ढिलाइ भए संक्रमण झन् फैलिन सक्ने र ज्यानसमेत जोखिममा पर्ने चिकित्सकको चेतावनीले उमेश दोहोरो पीडामा थिए । घाउको पीडा असह्य बन्दै गएपछि उनी जसरी पनि शल्यक्रिया गराउने मनस्थितिमा पुगे । तर, आबुधावीमा उपचार अत्यन्तै खर्चिलो थियो । यूएईमा हरेक कामदारको स्वास्थ्य उपचारका लागि अनिवार्य बिमा गरिएको हुन्छ । तर, रोजगारदाता कम्पनीले यूएईमा उपचार नगरी नेपाल पठाउन जोड दिएको थियो । अन्ततः परिवारको सल्लाहअनुसार कम्पनीले भाइ विवेकको साथ लगाएर उनलाई नेपाल पठाइदियो । ‘हातखुट्टा काट्न परे नि परोस् तर आफ्नै देशमा उपचार गर्ने भनेर ल्यायौं’, बुवा टेकबहादुर खातीले भने, ‘हातखुट्टा नकाटी उपचार सम्भव छ कि भनेर भारत लगेर उपचार गर्ने योजना पनि बनाइयो ।’ तर, त्रिवि शिक्षण अस्पतालका चिकित्सकले ढिला गरे अवस्था झन् जटिल बन्न सक्ने संकेत गरेपछि परिवार अन्ततः शल्यक्रियाका लागि तयार भयो । शल्यक्रियाका लागि खर्च जुटाउन घरमा पालेको गाई, भैंसी, कुखुरा, बाख्रा सबै बेचेर ५ लाख पनि जुटाउन नसक्दा मनकारीले केही रकम सहयोग गरेपछि ४ वैशाखमा उमेशको शल्यक्रिया भयो ।

दुवै हातखुट्टा काटिएपछि घर ल्याइएका उमेश महिना दिनदेखि ओछ्यानमै छन् । गरिखाने हात र खुट्टा एकै पटक गुमाउँदा उनी गहिरो चिन्तामा छन् । घाउको पीडा सम्झिँदा भने आफू बाँच्न पाएकोमा सन्तोषको सास फेर्छन् । ‘बूढा बाआमा, सानी छोरी र श्रीमतीको अनुहार आँखा अगाडि आउँदा अब उनीहरूको भविष्यको चिन्ता भइरहेको छ,’ उनी भन्छन् ।

विपन्न दलित परिवारका उमेशले आर्थिक अवस्थाकै कारण ८ कक्षा माथि पढ्न पाएनन् । पढ्ने इच्छा हुँदाहुँदै परिवारको कमजोर अवस्थाले सानैदेखि मजदुरीतिर धकेल्यो । परिवारको एक्ला छोरा भएकाले कलिलो काँधमा ठूलो जिम्मेवारी आइलाग्यो । उमेर २० वर्ष नपुग्दै सन् २०१९ मा उनी पहिलो पटक वैदेशिक रोजगारीका लागि कतार पुगे । कोभिड महामारीको जोखिम बेवास्ता गर्दै उनले खाडीमा दिनरात खटेर परिवार धाने । सन् २०२२ को विश्वकप फुटबलताका उनी रंगशालातिरै ड्युटीमा खटिएको सम्झिन्छन् । विश्वकपलगत्तै घर फर्किए । करिब ४ वर्ष कतारमा रहँदा परिवार चलाउनबाहेक केही जोड्न सकेनन् ।

कतारबाट फर्किएपछि उमेशले उदयपुरकी तीर्थाकुमारी लकान्द्रीसँग बिहे गरे । फेसबुकबाट भएको चिनजानमा प्रेम हुर्किएपछि लगनगाँठोमा बदलियो । बिहेपछिका डेढ वर्ष घरपरिवारसँगै बिताएपछि २०८१ मंसिर ११ मा उनी आबुधावी उडे । गर्भवती श्रीमती र बूढा बाआमा घरमा छाडेर उनी चुहिन लागेको छाना फेर्ने र घरखर्चको जोहो गर्ने सपना बोकेर दोस्रो पटक वैदेशिक रोजगारीमा हिँडेका थिए । परिवारलाई अगाध प्रेम गर्ने उनी आफैं अशक्त भएर घर फर्किएपछि अन्योलमा परेका छन् । ‘परिवारलाई कहिल्यै दुःख नहोस् भन्ने चाहनुहुन्थ्यो,’ तीर्थाका आँखा रसाए, ‘अहिले उहाँकै यो हाल देख्दा भक्कानो फुटेर आउँछ ।’

उमेशका बुवा टेकबहादुर काठको काम गर्ने मिस्त्री थिए । उमेशले वैदेशिक रोजगारीमा गएपछि बुवाको दुःख देख्न सकेनन् । ‘अब बुढेसकालमा तपाईंले दुःख गर्नुपर्दैन म पाल्छु’ भनेपछि टेकबहादुरले काम छाडिदिए । अहिले छोराको यो हाल देखेर उनी विह्वल हुन्छन् ।

चिकित्सकका अनुसार उमेशको घाउ पूर्णरूपमा निको हुन २ वर्ष लाग्न सक्छ । सुरुका ६ महिनासम्म नियमित ड्रेसिङ गर्नुपर्ने हुन्छ । त्यसका लागि दिन बिराएर १० हजार रुपैयाँ खर्च हुने परिवारले जनाएको छ । ड्रेसिङका लागि करिब १५ किलोमिटर यात्रा तय गरेर बिर्तामोडको बीएन्डसी अस्पताल पुर्‍याउनुपर्छ । ‘ड्रेसिङ गर्ने खर्च जुटाउन पनि धौधौ परिसकेको छ,’ आमा अम्बिकाले भनिन्, ‘हामीलाई सुखमा राख्छु भन्ने छोरो आफैं दुःखको दहमा डुब्यो ।’

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024