मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षण साबिकबमोजिम नै हुने

19 May, 2026

वैदेशिक रोजगारीका लागि मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षण ‘बायोमेडिकल सिस्टम’ मार्फत हाल कायम रहेका ३६ वटा स्वास्थ्य संस्थाबाट मात्रै गरिने भएको छ । नेपालस्थित मलेसियाली दूतावासले सूचना जारी गर्दै मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षण ‘बायोमेडिकल सिस्टम’ मार्फत हाल कायम रहेका स्वास्थ्य संस्थाबाट मात्रै परीक्षण हुने स्पष्ट पारेको हो ।

दूतावासका अनुसार सन् २०१८ अक्टोबर २९ मा नेपाल र मलेसिया सरकारबिच भएको श्रम समझदारीपत्रका आधारमा सोही सम्झौता अनुरूपका ३६ वटा स्वास्थ्य संस्थालाई मात्रै आधिकारिकता दिएको छ । दूतावासले यसअघिको समझदारी अनुसार नै स्वास्थ्य परीक्षण गरिने भनेपछि नेपाल सरकारले केही समयअघि सारेको खुला प्रतिस्पर्धाबाट स्वास्थ्य गर्ने व्यवस्था कार्यान्वयनमा प्रश्न उब्जाएको छ ।

हालको युवा, श्रम तथा रोजगार मन्त्रालयले मापदण्ड पुगेका सबै सूचीकृत स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गराउन पाउने निर्णय गरे पनि दूतावासले साबिकका ३६ वटा संस्थाबाहेक अन्यलाई मान्यता नदिने अडानमा रहेको छ । श्रम मन्त्रालयका प्रवक्ता पीताम्बर घिमिरेले मलेसियाली दूतावासको यस निर्णयबारे जानकारी नभएको बताउनुभयो । उहाँका अनुसार यसअघि तोकिएका सीमित स्वास्थ्य संस्थाबाट मात्रै स्वास्थ्य परीक्षण गर्न पाउने अवस्थाले मलेसिया जाने श्रमिक मर्कामा परेका थिए । त्यस कारण श्रम मन्त्रालयले खुला प्रतिस्पर्धाबाट सबै स्वास्थ्य संस्थालाई सहभागी गराई न्यूनतम मापदण्ड पूरा गरेको स्वास्थ्य संस्था छनोट गर्ने व्यवस्था नराम्रो होइन ।

श्रम मन्त्रालयले २०८२ चैत १७ गते मन्त्रीस्तरीय निर्णयमार्फत स्वास्थ्य परीक्षणमा रहेको सिन्डिकेट अन्त्य गर्दै इच्छुक र योग्य स्वास्थ्य संस्थालाई सूचीकरणका लागि आह्वान गरेको थियो । सोही बमोजिम दुई वटा सरकारी अस्पताल र ५१ वटा निजी स्वास्थ्य संस्था गरी कुल ५३ वटा संस्थाले नयाँ अनुमति सञ्चालनका लागि निवेदन दिएका छन् । विशेषज्ञ समितिको अध्ययनपछि ती संस्थालाई अनुमति दिने मन्त्रालयको तयारी थियो ।

सेवा शुल्क र व्यवस्थापन मलेसिया सरकारले बायोमेडिकल प्रणालीका लागि नेपाल सरकारले तोकेको शुल्कबाहेक थप तीन हजार रुपियाँ सेवा शुल्क निर्धारण गरेको छ । यो सम्पूर्ण खर्च रोजगारदाताले नै बेहोर्नुपर्ने व्यवस्था श्रम समझदारीमा उल्लेख छ । नेपालमा बायोमेडिकल प्रणालीको व्यवस्थापन, शुल्क सङ्कलन र कानुनी रूपमा रकम पठाउने जिम्मेवारी म्याक्रो टेक प्रालि र बेस्टिनेट एसडिएन बिएचडीलाई दिइएको दूतावासले जनाएको छ । यी संस्थाले दुई देशबिचको समझदारी र प्रावधान अनुसार नै काम गरिरहेको दाबी दूतावासले गरिरहेको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024