इपिएस प्रणाली सुधारको माग गर्दै माइतीघरमा प्रदर्शन 

26 May, 2026

Nabin Babu Gurung

वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जानबाट बञ्चित भएका युवाहरूले सोमबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।

इपिएस प्रणाली सुधारको माग गर्दै भाषा परीक्षा पास गरेका तर रोजगारीका लागि दक्षिण कोरिया जान नपाएका पीडित, एग्रिकल्चर स्किल टेस्ट तथा म्यानुफ्याक्चर स्किल टेस्ट उत्तीर्ण युवाहरूले विरोध प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा सहभागीहरूले ‘हाम्रो मेहनत, हाम्रो अधिकार’, ‘पास भएकालाई न्याय दे’, ‘इपिएस प्रणाली पारदर्शी बनाऊ’ लगायतका नारासहित सरकारसँग तत्काल समस्या समाधानको माग गरेका थिए।

उनीहरूले लामो समयदेखि परीक्षा उत्तीर्ण भएर पनि प्रक्रिया अगाडि नबढ्दा मानसिक, आर्थिक तथा सामाजिक रूपमा पीडा भोग्नुपरेको गुनासो गरेका छन्।

प्रदर्शनकारीहरूले योग्य र परीक्षा उत्तीर्ण युवाहरूलाई निष्पक्ष रूपमा दक्षिण कोरिया पठाउने वातावरण बनाउन सरकार र सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024