कम्बोडियाली सरकारले अनलाइन स्क्याम (ठगी)मा संलग्नविरुद्ध पाँच हजार अमेरिकी डलर जरिवानादेखि आजीवन काराबाससम्म सजाय हुने कानुन कार्यान्वयनमा ल्याएपछि उक्त अवैध धन्दामा संलग्न नेपालीहरू पनि समस्यामा पर्ने भएका छन् । राम्रो रोजगारीको प्रलोभनमा कम्बोडिया पुर्याएर स्क्याममा जबर्जस्ती लगाइएका नेपाली युवा कारबाहीमा पर्ने भएका हुन् ।
कम्बोडियाली प्रहरीले एक साताअघि मात्रै स्क्याममा संलग्न नेपाली ७२ सहित विभिन्न देशका एक हजारभन्दा धेरैलाई पक्राउ गरेको थियो । थाइल्यान्डस्थित नेपाली दूतावासले भने नेपालीको हकमा उक्त कानुन कार्यान्वयन नगरिदिन भन्दै कूटनीतिक पहल गरेको छ ।
नेपालका लागि थाइल्यान्डस्थित दूतावासका राजदूत धनबहादुर वलीले कम्बोडियाली सरकारले स्क्यामविरुद्ध कडा कानुन ल्याएको र त्यसबाट नेपाली युवा प्रभावित हुन सक्ने बताए । ‘कम्बोडियाली प्रहरीले साता दिनअघि मात्रै स्क्याममा संलग्न एक हजारभन्दा धेरै मानिस पक्राउ गर्यो । त्यसमा ७२ नेपाली पनि परेका छन् । यसैवेला कम्बोडियाली सरकारले स्क्याममा संलग्न हुनेहरूविरुद्ध कडा कानुन कार्यान्वयनमा ल्याएको छ । यसबाट पक्राउ परेका नेपाली युवा पनि प्रभावित हुनेजस्तो देखियो,’ उनले भने, ‘यद्यपि हामीले नेपाली युवाको हकमा माफी दिन भन्दै पत्राचार गरेका छौँ ।’
कम्बोडियाली सरकारले एक साताअघिबाट मात्रै कार्यान्वयनमा ल्याएको कानुनअनुसार उक्त कसुरमा संलग्न हुनेविरुद्ध दुई लाख ५० हजारदेखि पाँच लाखसम्म अमेरिकी डलर जरिवाना हुने दूतावासले जनाएको छ । त्यस्तै, दुई वर्षदेखि आजीवन काराबासको सजाय हुने व्यवस्था कानुनले गरेको छ ।
राजदूत वलीले भने, ‘उनीहरूले स्क्याममा संलग्नविरुद्ध अत्यन्तै कडा कानुन कार्यन्वयनमा ल्याएका छन् । जसअनुसार कसुरमा संलग्न हुनेविरुद्ध दुई लाख ५० हजारदेखि पाँच लाख अमेरिकी डलरसम्म जरिवाना हुनेछ । त्योसँगै उनीहरूविरुद्ध दुई वर्षदेखि आजीवन काराबासको सजाय हुनेछ ।’
थाइल्यान्डस्थित नेपाली दूतावासका अनुसार कम्बोडियामा पछिल्लो दिन मात्रै दुरुपयोगमा फसेका ११३ नेपालीको उद्धार गर्नुपर्ने सूची तयार भएको छ । जसमध्ये १०२ जनाले उद्धारका लागि निवेदन नै दिएका छन् । उनीहरूमध्ये ६३ युवाको हकमा एकतर्फी कागजात पठाइसकिएको राजदूत वलीले जानकारी दिए । यी ६३ जना पक्राउ परेका ७२ मध्येकै हुन् वा अन्य भन्ने नखुलेको उनको भनाइ छ ।
दूतावासका अनुसार कम्बोडियाको कल सेन्टरमा अझै धेरै नेपाली युवा साइबर दासका रूपमा कार्यरत रहेको हुन सक्छ । चाँडो उद्धार नभए उनीहरू पक्राउ पर्ने र कसुर प्रमाणित भए आजन्म काराबासमा पर्न सक्ने जोखिम छ । दूतावासका अनुसार कम्बोडियाबाट मात्रै पछिल्लो आर्थिक वर्ष ५७२ नेपालीको उद्धार गरिएको छ । उनीहरू सबै कुनै न कुनै अपराधमा संलग्न थिए । त्यसमध्ये अधिकांश अनलाइन स्क्याममा संलग्न थिए । उनीहरूलाई मानव तस्करले ‘डंकी’ रुट प्रयोग गर्दै कम्बोडिया पुर्याएका थिए । र, उनीहरूलाई कल सेन्टरमा ‘साइबर दास’का रूपमा प्रयोग गरिएका थिए ।
कम्बोडियामा बसेर कल सेन्टर सञ्चालन गर्नेहरू भने सबै चिनियाँ नागरिक हुन् । उनीहरूकै निर्देशनमा नेपाली युवालाई तस्करी गरेर कम्बोडिया लगिएको थियो । राम्रो कमाई हुने प्रलोभनमा कम्बोडिया पुगेका युवा बन्धकसमेत बनाइएका थिए । शारीरिक तथा मानसिक यातनापछि मात्रै उनीहरू उद्धारका लागि दूतावासको सम्पर्कमा पुगेका थिए । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार पछिल्लो पाँच वर्षमा कम्बोडियाबाट मात्रै उद्धार भएका २४ नेपाली ब्युरोको सम्पर्कमा आएका छन् । उनीहरूको जाहेरीपछि १६ जनाविरुद्ध मानव बेचबिखन तथा ओसारपसार कसुरअन्तर्गत मुद्दा चलेको ब्युरोका प्रवक्ता एसपी राजन लिम्बूले बताए ।
उनले भने, ‘कम्बोडियामा साइबर दासका रूपमा नेपाली युवाको तस्करी हुने गरेको तथ्य पटक–पटक सार्वजनिक भएका छन् । त्यसमध्ये २४ जना हाम्रो सम्पर्कमा आएका थिए । १६ विरुद्ध त मानव बेचबिखन तथा ओसारपसार कसुरमा मुद्दा नै चलेको छ । अझै पनि ७० भन्दा धेरै नेपाली कम्बोडियामा अलपत्र रहेको सूचना छ । उनीको उद्धारका निम्ति पहल भइरहेका छन् ।’
पछिल्लो वर्ष कम्बोडियासहित म्यानमार, थाइल्यान्ड र लाओस मानव तस्करीको नयाँ गन्तव्य बनेको छ । विशेष गरी नेपाली युवालाई साइबर दास बनाउने उद्देश्यले त्यस्ता मुलुकमा लगिने गरेको देखिएको छ । त्यसरी जाने ३१३ नेपालीलाई त्यहाँको सरकारले नेपाल डिपोर्ट गरिसकेको छ । उनीहरूमध्ये १०४ जनाले ब्युरोमा जाहेरी दिएका छन् । सोही जाहेरीका आधारमा ब्युरोले हालसम्म ३४ मुद्दा दर्ता गरिसकेको ब्युरो प्रमुख एसएसपी कृष्ण पंगेनीले बताए ।