दक्षिण–पूर्वी एसियामा आकर्षक रोजगारीको प्रलोभनमा गैरकानुनी रूपमा पुगेका र अनलाइन ठगी धन्दामा फसेका हजारौँ नेपालीमध्ये हालसम्म ६१२ जनाको उद्धार भएको छ भने ५३ जना उद्धारको पर्खाइमा छन् ।
कम्बोडियामा मात्रै पछिल्लो पाँच वर्षमा २१ हजार नेपाली पुगेका छन्, तीमध्ये अधिकांश ठगीमा परेको हुन सक्ने परराष्ट्र मन्त्रालयका अधिकारीहरूको आशंका छ । कम्बोडियामा विभिन्न अपराधको कसुरमा १४ नेपाली पक्राउ परेका छन् ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार दक्षिण–पूर्वी एसियाली देशहरूबाट पाँच वर्षमा ६१२ जना को उद्धार भएको छ । कम्बोडियाबाट हालसम्म ४८७ जना, म्यानमारबाट १११ जना, लाओसबाट आठजना र थाइल्यान्डबाट ६ जना नेपालीको उद्धार भएको छ ।
अनलाइन डिजिटल ठगी धन्दाहरूमा सरकारले कम्बोडिया र म्यानमारमा अलपत्र परेकामध्यो ५३ जनाको उद्धार गर्ने तयारी छ । उनीहरूको ट्राभल डकुमेन्ट बनाएर स्वदेश ल्याउने तयारी भएको प्रवक्ता क्षेत्रीले बताए ।
परराष्ट्र मन्त्रालयका अनुसार दक्षिण–पूर्वी एसियामा आकर्षक रोजगारीको प्रलोभनमा गैरकानुनी रूपमा पुगेका नेपाली अनलाइन ठगी धन्दामा फसेका हुन् । आकर्षक रोजगारीको प्रलोभनमा थाइल्यान्ड, म्यानमार, लाओस, कम्बोडिया कम्बोडियाको सीमाक्षेत्रको दुर्गम जंगल क्षेत्र गोल्डेन ट्रयांगलमा सञ्चालित गैरकानुनी अनलाइन ठगी धन्दामा पुर्याइएका नेपालीहरूको संख्या ठुलो रहेको प्रवक्ता क्षेत्रीले बताए । ‘ठुलो संख्यामा नेपाली नागरिक म्यानमार, कम्बोडिया, लाओसको सीमाक्षेत्रमा सञ्चालित गैरकानुनी अनलाइन ठगीधन्दा रहेको क्षेत्रमा हुनुहुन्छ भन्ने छ । तर, संख्या यकिन हुन सकेको छैन, किनभने त्यहाँका अनलाइन धन्दा पनि गैरकानुनी छ, मानिस पनि गैरकानुनी रूपमा पुगेका छन्,’ प्रवक्ता क्षेत्रीले भने ।
सन् २०२२ देखि थाइल्यान्डस्थित नेपाली राजदूतावासको समन्वयमा नेपालीहरूको उद्धार भइरहेको छ ।
गोल्डेन ट्रयांगलमा सञ्चालित गैरकानुनी अनलाइन स्क्यामिङ धन्दामा ३७ देशका ६० हजार कार्यरत रहेको अनुमान छ । भारत, युएई, मलेसिया, थाइल्यान्डबाट त्यहाँ नेपालीहरू पुगेका छन् ।