श्रम क्षेत्रका लागि ३ अर्ब ६३ करोड बजेट : वैदेशिक रोजगारीको लागत शुल्क श्रमिकमैत्री बनाइने

29 May, 2026

Hom Karki

एक दशकदेखि उचित सेवा शुल्क निर्धारण नहुँदा अव्यवस्थित बनेको वैदेशिक रोजगारीमा जाने श्रमिकको लागत शुल्क ‘श्रमिकमैत्री’ बनाउने सरकारले घोषणा गरेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार आगामी आर्थिक वर्षको बजेटमा वैदेशिक रोजगारीको क्षेत्रमा देखिएको बेथितिलाई सम्बोधन गरेका हुन् ।

‘वैदेशिक रोजगारीमा जाँदा शून्य लागतलाई प्रोत्साहन गर्दै सेवा शुल्कलाई श्रमिकमैत्री बनाउनेछौं,’ उनले भने । यसका लागि सरकारले बिनाधितो ऋण र किस्ताबन्दीमा रोजगारदाताबाट भुक्तानीको व्यवस्था मिलाउने घोषणा गरेको छ । ‘वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र स्वचालित बनाउनेछ,’ मन्त्री वाग्लेले भने ।

२६ जेठ २०७२ देखि युवा श्रम तथा रोजगार मन्त्रालयले खाडी र मलेसिया जाने श्रमिकका लागि ‘फ्री भिसा र फ्री टिकट’ को नीति लिएको थियो । यो नीति लागू भएपछि वैदेशिक रोजगार व्यवसायीले वैदेशिक रोजगारमा जाने श्रमिकबाट सेवा शुल्कबापत १० हजार रुपैयाँ मात्रै लिन पाउने व्यवस्था थियो । त्यसअघि खाडी मुलुकका लागि ७० हजार र मलेसिया जान ८० हजार सेवा शुल्क निर्धारण गरिएको थियो । तर फ्री भिसा, फ्री टिकटको नीति लागू भएपछि श्रमिकले म्यानपावर कम्पनीलाई तिरेको वास्तविक लागतको रसिद पाउनबाट वञ्चित हुँदै आएका छन् ।

………………………….

– विप्रेषण लगानी तथा कोष सञ्चालन

– रिटर्नी माइग्रेन्ट कार्यक्रम

– श्रम रजिस्ट्रीमा आबद्ध

– वैदेशिक रोजगारीमा जानेलाई बिनाधितो ऋण

– असंगठित क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गर्न विशेष अभियान

– श्रम शोषणलाई आर्थिक अपराध मानिने………………………

वालेन्द्र शाह नेतृत्वको सरकारले १० हजारको लागत शुल्कलाई कडाइ गर्न थालेपछि वैदेशिक रोजगार व्यवसायीले वैदेशिक रोजगारीमा नयाँ श्रमिक पठाउन कम गर्न थालेका छन् । वैदेशिक रोजगार विभागबाट खटिने अनुगमन टोलीबाट वैदेशिक रोजगार व्यवसायीमाथि धरपकड हुन थालेपछि उनीहरूले सेवा शुल्क निर्धारण गर्नुपर्ने माग अगाडि सारेका हुन् ।

‘जुन दिनमा राज्यले १० हजारको घोषणा गर्दै थियो । त्यही दिनमा हामी ताहाचल (विभाग) मा आन्दोलनमा थियौं । आजभन्दा ११ वर्ष अघिदेखि हामीले १० हजार रुपैयाँमा पठाउन सक्दैनौं भनिरहेका छौं । हामीले १० हजारमा पठाएका छैनौं,’ वैदेशिक रोजगार व्यवसायी एकता समितिद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा समितिका अध्यक्ष हरिबहादुर पाण्डेले भने, ‘त्योभन्दा बढी पैसा उठाउन हामी बाध्य छौं । हामीले उठाएकै छौं । यसमा मोही माग्न जाने, ढुंग्रो लुकाएर काम छैन ।’

समितिले दुई महिनाको तलब बराबर सेवा शुल्क लिन पाउनुपर्ने बताए । ‘जाजरकोटबाट एउटा कामदार काठमाडौं आउँदा उसको १०–१५ हजार रुपैयाँ खर्च हुन्छ । १० हजारमा पठाउन सम्भव नै छैन,’ उनले भने, ‘सेवा शुल्क निर्धारण गर्नुस् । हामी त्योभन्दा बढी पैसा उठाउन दिँदैनौं । उठाएको छ भने त्यसको जिम्मेवारी हामी लिन्छौं ।’

श्रम मन्त्रालयका अनुसार हाल वैदेशिक रोजगारीमा ७ प्रतिशत मात्रै श्रमिक शून्य लागतमा जाने गरेका छन् । यसको ठूलो हिस्सा मलेसियाको श्रम बजारमा छ । सरकारले बिनाधितो ऋण र किस्ताबन्दीमा रोजगारदाताबाट भुक्तानीको व्यवस्था मिलाउने गरी वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र स्वचालित बनाउने अर्थमन्त्री वाग्लेको घोषणा छ । उनले वैदेशिक रोजगारीलाई थप सुरक्षित र मर्यादित बनाउन श्रम सम्झौताको पुनरावलोकन तथा नयाँ गन्तव्य मुलुकसँग थप सम्झौता गर्न प्राथमिकता दिइने बताए । हालसम्म नेपालले १३ देशसँग श्रम सम्झौता/समझदारी गरेको छ ।

सरकारले समग्र श्रम क्षेत्रका लागि ३ अर्ब ६३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । यो बजेट वैदेशिक रोजगारबाट फर्केका श्रमिकको पुनःस्थापना, उद्धार, सीपयुक्त तालिम, सहुलियत दरमा पौष्टिक खाना उपलब्धलगायतका लागि विनियोजन गरेको हो । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म नयाँ श्रम स्वीकृतिको २ लाख ७३ हजार ५ सय ३० जना वैदेशिक रोजगारीमा गएका छन् ।

सरकारले वैदेशिक रोजगारबाट फर्कन प्रोत्साहन गर्ने नीति लिएको छ । मन्त्री वाग्लेले ‘रिभर्ट प्रवासन’ लाई प्रोत्साहन गर्दै विप्रेषणलाई उपभोग तथा उत्पादनमा रूपान्तरण गर्न विप्रेषण लगानी तथा कोष सञ्चालन गर्ने बताए । ‘वैदेशिक रोजगारीबाट फर्किएकाको ज्ञान, सीप, दक्षताको सदुपयोग गर्न रिटर्नी माइग्रेन्ट कार्यक्रम गर्नेछौं । युवालाई विभिन्न किसिमका छोटो अवधिका कार्यस्थलमा आधारित कार्यक्रम सञ्चालन गरी सीपयुक्त बनाउनेछौं,’ उनले भने, ‘विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई उद्धार गर्न र मृत्यु भएका श्रमिकको शव सहज रूपमा स्वदेश ल्याउन प्रबन्ध मिलाउन आवश्यक बजेट विनियोजन गरेको छु ।’

उनले सीप सिकेर मात्रै वैदेशिक रोजगारीमा जाने व्यवस्था मिलाउने बताए । ‘औपचारिक च्यानलबाट भित्रिने रेमिट्यान्सलाई थप प्रोत्साहित गर्न रेमिट्यान्स आप्रवाहको हरेक रसिदमा आधारित लट्री कार्यक्रम सञ्चालन गरिनेछ,’ उनले भने । यो बजेटले श्रम शोषणलाई आर्थिक अपराधका रूपमा लिई कानुन बनाउने घोषणा गरेको छ । आन्तरिक श्रम बजारमा प्रभावकारी श्रम अडिट नहुँदा श्रमिकमाथि हुँदै आएको श्रम शोषण गर्नेमाथि कारबाही भएको छैन । ‘श्रम सम्झौताको उल्लंघन, ज्याला ठगी तथा श्रम शोषणलाई आर्थिक अपराधसरह कानुनी प्रणालीमा ल्याउन कानुन बनाइनेछ,’ उनले भने, ‘पुस मसान्तभित्र श्रम न्यायाधिकरणमार्फत श्रम विवादको शीघ्र समाधान गर्नेछ ।’

उनले श्रमिक र रोजगारदाता अनिवार्य रूपमा श्रम रजिस्ट्रीमा आबद्ध हुने व्यवस्था गर्ने बताए । ‘यसबाट सुरक्षा गार्ड र घरायसी कामदारका अतिरिक्त निर्माण, कृषि, आतिथ्य, ढुवानी तथा औद्योगिक श्रमिक आपूर्ति गर्न इजाजत संस्थाले प्रदान गर्ने बिमा, ज्यालालाई बैंकमार्फत पारिश्रमिक भुक्तानी अनिवार्य गरिने व्यवस्था मिलाइएको छ,’ उनले भने । मन्त्री वाग्लेले कार्यस्थल दुर्घटनामा अनिवार्य क्षतिपूर्ति तथा बिमा दाबी प्रणाली थप प्रभावकारी बनाउने बताए ।

बजेटमा राष्ट्रिय योग्यता ढाँचा तथा पूर्वसिकाइ मान्यता लागू गरी प्रवासी, अनौपचारिक तथा अनुभवी श्रमिकको सीपलाई औपचारिक मान्यता दिने उल्लेख छ । ‘पारिश्रमिकसहितको इन्टर्नलाई संस्थागत गरिनेछ,’ वाग्लेले भने । सरकारले अनौपचारिक श्रमिकको आधारित स्वास्थ्यमा सहयोग पुग्ने गरी सहुलियत दरमा पौष्टिक खाना उपलब्ध गराउने गरी आवश्यक कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ ।

सेन्टर फर दी स्टडी अफ लेवर एन्ड मोबिलिटी (सेस्लम) का अनुसन्धान निर्देशक जीवन बानियाँले श्रम मन्त्रालयको बजेट झन् घट्दै गएको बताए । ‘श्रम क्षेत्रलाई जति महत्त्व दिई प्रभावकारी कार्यक्रम र बजेटको आकार बढ्नुपर्थ्यो । यसपालि पनि मन फुकाइएन,’ बानियाँले भने, ‘श्रम क्षेत्रको बजेट आठ अर्बसम्म पुगिसकेको थियो । त्यो हरेक वर्ष झर्दै तीन अर्बमा आइपुगेको छ । यस पटक पनि यो क्षेत्रमा दीर्घकालीन प्रभाव पार्ने नयाँ कार्यक्रम देखिएनन् ।’

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024