बालश्रम रोक्न नयाँ विधेयकको तर्जुमा, दुई दर्जन क्षेत्रमा बालश्रम पूर्ण निषेध

20 April, 2026

Pawan Timilsina

सरकारले दुई दर्जन क्षेत्रमा बालबालिकालाई काममा लगाउन पूर्ण रूपमा निषेध गर्ने व्यवस्थासहित नयाँ कानुन ल्याउने तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उद्योग, सेवा, कृषि तथा वन, सहरी तथा अनौपचारिक र अन्य जोखिमपूर्ण क्षेत्रका दुई दर्जन काममा बालबालिकालाई लगाउन नपाउने प्रस्तावसहित नयाँ बालश्रम विधेयकको मस्यौदा तयार गरेको हो ।

मन्त्रालयले बालश्रमसम्बन्धी २५ वर्षे पुरानो कानुनलाई प्रतिस्थापन गर्ने नयाँ विधेयकको मस्यौदा सार्वजनिक गरेको छ । मन्त्रालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै ‘बालश्रम (निषेध र नियमित गर्ने) ऐन, २०५६’ लाई प्रतिस्थापन गर्न बनेको विधेयकको मस्यौदामा सर्वसाधारणबाट राय तथा सुझावसमेत मागेको छ ।

मन्त्रालयका अनुसार यो मस्यौदा विधायन ऐन, २०८१ को दफा ६ को उपदफा (२) अनुसार सार्वजनिक गरिएको हो । सूचना प्रकाशन भएको मितिले सात दिनभित्र इच्छुक व्यक्तिले आफ्नो सुझाव इमेलमार्फत पठाउन सक्नेछन् ।

मन्त्रालयले बालबालिकालाई जोखिमपूर्ण तथा निकृष्ट काममा लगाउन रोक लगाउने, अन्य काममा संलग्न गराउँदा स्वास्थ्य, सुरक्षा र सुविधाको सुनिश्चितता गर्ने, साथै अन्तर्राष्ट्रिय सन्धि तथा संघीय संरचनाअनुसार नयाँ कानुनी व्यवस्था गर्न आवश्यक भएकाले पुरानो ऐन प्रतिस्थापन गर्न लागिएको जनाएको छ । करिब २५ वर्ष पुरानो ऐनलाई समयअनुकूल बनाउन पनि नयाँ कानुन आवश्यक देखिएको मन्त्रालयको भनाइ छ ।

प्रस्तावित विधेयकले संविधानमा उल्लिखित जीवन, शिक्षा, बालअधिकार र सामाजिक सुरक्षासम्बन्धी मौलिक हक कार्यान्वयनमा सहयोग पुग्ने जनाइएको छ । साथै, राज्यको नीतिअनुसार बालश्रम र श्रम शोषण अन्त्य गर्ने लक्ष्य हासिल गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

मन्त्रालयका अनुसार विधेयक लागू भएपछि मर्यादित श्रम र रोजगारी प्रवर्द्धन हुनेछ । बालबालिकाको स्वास्थ्य, शिक्षा र नैतिक विकास सुनिश्चित भई भविष्यमा उत्पादनमुखी जनशक्ति तयार हुने र त्यसले आर्थिक विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । यो विधेयकले सबै प्रकारका बालश्रम अन्त्य गर्ने लक्ष्य र बालबालिकामाथि हुने हिंसा, शोषण तथा दुर्व्यवहार अन्त्य गर्ने लक्ष्य प्राप्त गर्न सहयोग पुग्ने मन्त्रालयको भनाइ छ ।

बालश्रम नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिबद्धता कार्यान्वयनमा सहयोग पुग्ने र बालश्रममुक्त समाज निर्माणतर्फ अघि बढ्न मद्दत हुने उल्लेख गरिएको छ । साथै, कानुन उल्लंघन गर्ने व्यक्ति वा संस्थालाई दण्डित गर्ने व्यवस्था गरिएको छ । बालबालिकालाई जोखिमपूर्ण उद्योग तथा काममा रोक लगाउने व्यवस्थाले सुरक्षित र आधुनिक प्रविधिको प्रयोग बढाउने तथा जलवायु अनुकूलनमा समेत योगदान पुर्‍याउने मन्त्रालयको दाबी छ ।

विधेयकमा बालबालिकालाई काममा लगाउन निषेध लगाउने प्रस्ताव छ । त्यस्तै, १५ वर्षभन्दा कम उमेरका बालबालिकालाई काममा लगाउन पूर्ण प्रतिबन्ध हुने उल्लेख छ । १३ वर्ष पुगेकाले भने पढाइमा असर नपर्ने गरी विद्यालय समयपछि वा बिदामा पारिवारिक काम वा हलुका काम गर्न पाउनेछन् ।

त्यस्ता बालबालिकालाई सर्कसबाहेक विज्ञापन, चलचित्र, टेलिभिजन वा खेलकुद क्षेत्रमा निश्चित सर्त र सुरक्षासहित काम गर्न अनुमति दिइनेछ । कलाकारमा अभिनेता, गायक, खेलाडीलगायत मनोरञ्जन क्षेत्रमा काम गर्ने बालबालिका पर्छन् । पारिवारिक उद्यम भनेको परिवारका सदस्य संलग्न भएर गर्ने व्यवसाय हो ।

यस्तो छ दण्ड–सजायको व्यवस्था

विधेयकले बालश्रम गराउनेलाई कडा सजायको व्यवस्था गरेको छ । १५ वर्षमुनिका बालबालिकालाई काममा लगाएमा तीन महिनासम्म कैद वा एक लाख रुपैयाँ जरिवाना वा दुवै सजाय प्रस्ताव छ । अन्य प्रावधान उल्लंघन गरेमा एक वर्षसम्म कैद वा दुई लाख रुपैयाँ जरिवाना वा दुवै हुने उल्लेख छ । गम्भीर उल्लंघनमा दुई वर्षसम्म कैद वा चार लाख रुपैयाँ जरिवाना वा दुवै सजाय तोकिएको छ । अन्य श्रमसम्बन्धी प्रावधान उल्लंघन गरेमा ५० हजार रुपैयाँसम्म जरिवाना लगाउने उल्लेख छ । पुनः अपराध गरेमा दोब्बर सजाय लाग्ने भनिएको छ । दुईजनाभन्दा बढी बालबालिकालाई समूह बनाएर काममा लगाएमा प्रत्येक बालबालिकाबराबर थप ५० हजार रुपैयाँ जरिवाना लाग्नेछ । हाल बालबालिकालाई श्रममा लगाउँदा दण्ड–सजाय अधिकतम एक वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना मात्रै छ । प्रस्तावित विधेयकले बालबालिकालाई यी क्षेत्रमा काम गर्न पूर्ण रूपमा निषेध गरेको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024