घट्यो वैदेशिक रोजगारीमा जाने नयाँ कामदारको संख्या

20 April, 2026

मध्यपूर्वमा जारी तनावका कारण नयाँ श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा जाने नेपाली कामदारको संख्यामा कमी आएको छ । वैदेशिक रोजगार विभागले तयार गरेको चालू आर्थिक वर्ष ०८२/८३ को चैत मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो ।

१६ फागुनमा अमेरिका र इजरायल मिलेर इरानमा हमला गरेपछि इरानले जवाफस्वरूप विभिन्न खाडी मुलुकमा आक्रमण सुरु गरेको थियो । यो युद्ध अझै साम्य हुन सकेको छैन । जसले गर्दा नेपाल सरकारले खाडी मुलुकका लागि दिने सबै प्रकृतिको श्रम स्वीकृति स्थगित गरेको थियो । तर, यसबिचमा ५ चैत र १ वैशाख मा गरेर खाडी मुलुकका लागि पुनः श्रम स्वीकृति (नवीकरण) भने खुला गरिएको छ । तर, नयाँ श्रम स्वीकृति अझै पनि स्थगित गरिएकै अवस्था छ । त्यसले गर्दा नेपालबाट नयाँ श्रम स्वीकृति लिएर बाहिरिने कामदारको संख्यामा गिरावट आएको देखिएको छ ।

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार चैतमा २० हजार पाँच सय ४५ वटा नयाँ श्रम स्वीकृति जारी भएको छ । यो चालू आवको अघिल्ला महिनाको तुलनामा सबैभन्दा कम हो । चालू आवको नौ महिनामा दुई लाख ९४ हजार ८१ जनाले वैदेशिक रोजगारीका लागि नयाँ अनुमति लिएका छन् । त्यसमा साउनमा ४४ हजार चार सय ६६, भदौमा ४५ हजार सात सय ३२ र असोजमा ३३ हजार दुई सय ६१ जनाले नयाँ अनुमति लिएको तथ्यांकमा उल्लेख छ ।

यसैगरी, कात्तिकमा २२ हजार पाँच सय १४, मंसिरमा २९ हजार ६ सय १८, पुसमा ३१ हजार सात सय ५०, माघमा ३७ हजार आठ सय १२ र फागुनमा २८ हजार तीन सय ८३ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् । तर, चैतमा भने २० हजार पाँच सय ४५ जनाले मात्रै श्रम स्वीकृति लिएका छन् । चैतमा वैदेशिक रोजगारको श्रम स्वीकृति लिने कामदारको कुल संख्या भने ६१ हजार आठ सय १९ रहेको छ ।

वैेदेशिक रोजगारीमा खाडी मुलुक जाने कामदारको हिस्सा धेरै हुने गर्छ । इरान युद्धका कारण खाडी मुलुकका लागि नयाँ श्रम स्वीकृति दिन स्थगित गरेपछि नेपालबाट बाहिरिने कामदारको संख्या प्रभावित भएको हो । समीक्षा महिनामा युएई, कतार, साउदी अरब, ओमान, टर्की, जोर्डन, कुवेतजस्ता खाडी मुलुकमा नयाँ श्रम स्वीकृति शून्य छ । तर, बिदामा नेपाल आएका कामदारले श्रम अनुमति नवीकरण गरेर गएका भने छन् ।

युएईका लागि ११ हजार चार सय ६४, कतारका लागि आठ हजार पाँच सय ९५, साउदी अरबका लागि आठ हजार नौ सय २०, ओमानका लागि तीन सय ७६, जोर्डनका लागि १८, कुवेतका लागि एक, टर्कीका लागि ३४ जनाले पुनः श्रम स्वीकृति (नवीकरण) लिएको तथ्यांकमा देखिन्छ । चालू आवको नौ महिनामा कुल दुई लाख ९४ हजार ८१ जना नेपालीले पहिलोपटक श्रम स्वीकृति लिएर विदेश गएका छन् । जुन अघिल्लो आवको यसै अवधिको तुलनामा भने बढी हो । गत आवको यसै अवधिमा दुई लाख ४९ हजार ६ सय ५२ जनाले श्रम स्वीकृति लिएका थिए ।

नौ महिनामा बाहिरिए पाँच लाख ८७ हजार

चालू आवको नौ महिनामा भने नयाँ र पुनः गरेर कुल पाँच लाख ८७ हजार तीन सय ४० जना नेपाली वैदेशिक रोजगारमा गएका छन् । यो गत आवको यसै अवधिको तुलनामा कम हो । गत आवको यसै अवधिमा ६ लाख सात हजार आठ सय ७४ जना वैदेशिक रोजगारमा गएका थिए । चालू आवको साउनमा ६८ हजार एक सय १०, भदौमा ६७ हजार नौ सय ७२, असोजमा ६४ हजार ६ सय ३४ र कात्तिकमा ७३ हजार ९४ जना वैदेशिक रोजगारीमा गएका थिए । यसैगरी, मंसिरमा ६५ हजार सात सय पाँच, पुसमा ६२ हजार पाँच सय ५९, माघमा ७० हजार पाँच सय तीन, फागुनमा ५२ हजार नौ सय ४४ र चैतमा ६१ हजार आठ सय १९ जना वैदेशिक रोजगारीमा गएका छन् । विभागले दिएको श्रम स्वीकृतिका आधारमा यस्तो तथ्यांक देखिएको हो ।

भिसाप्राप्त ७,८८८ कामदारलाई तत्काल श्रम स्वीकृति दिन माग

मध्यपूर्वका देशहरूमा चर्किएको द्वन्द्वका कारण ती मुलुकहरूमा नयाँ श्रम स्वीकृति रोकिएपछि अन्तिम चरणमा पुगेका हजारौँ नेपाली कामदार अलपत्र परेका छन् । यही सन्दर्भमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवन गुरुङले भिसा प्राप्त गरिसकेका सात हजार आठ सय ८८ कामदारलाई तत्काल अन्तिम श्रम स्वीकृति दिन सरकारसँग माग गरेका छन् । सबै प्रक्रिया पूरा गरेर भिसासमेत प्राप्त गरिसकेका कामदारलाई रोकेर राख्नु अन्यायपूर्ण भएको उनको भनाइ छ । ‘यो देश र पीडितलाई प्रत्यक्ष रूपमा आर्थिक क्षति निम्त्याउने निर्णय हो । सात हजार आठ सय ८८ जना कामदार उड्न तयार छन्, उनीहरूलाई तत्काल अन्तिम श्रम स्वीकृति दिनुपर्छ,’ उनले भने, ‘पहिला भिसा आएका उडेपछि नयाँ डिमान्डको स्वतः खुल्ने वातावरण बन्छ ।’ रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिवसँग भएको छलफलमा यसै हप्ता ती कामदारलाई अन्तिम स्वीकृति दिने विषयमा सकारात्मक संकेत प्राप्त भएको उनले जानकारी दिए ।

यसैबिच, तथ्यांकले वैदेशिक रोजगारीप्रतिको निर्भरता अझै घट्न नसकेको देखाउँछ । वैदेशिक रोजगार विभागका अनुसार ०८२ को चैत महिनामा मात्रै ६१ हजार आठ सय १९ नेपाली वैदेशिक रोजगारीमा गएका छन् । तीमध्ये ठुलो हिस्सा पुनः श्रम स्वीकृतिमार्फत बिदेसिएका छन्, जसले विदेशमा काम गर्नेहरूको चक्र निरन्तर चलिरहेको देखाउँछ । विश्लेषकका अनुसार वैदेशिक रोजगारी अहिले पनि नेपाली अर्थतन्त्रको मेरुदण्डकै रूपमा रहेको छ । वार्षिक करिब १७ खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स औपचारिक माध्यमबाट भित्रिने गरेको छ, जसले देशको विदेशी मुद्रा सञ्चिति, उपभोग र समग्र अर्थतन्त्र धानिरहेको छ । व्यवसायीहरू भन्छन्, ‘यसकै हाराहारीमा रकम अनौपचारिक माध्यमबाट समेत भित्रिने गरेको अनुमान छ ।’

यस्तो अवस्थामा नीतिगत अस्थिरता वा अनपेक्षित रोकावटले रेमिट्यान्स प्रवाहमा असर पार्ने जोखिम रहेको गुरुङको भनाइ छ । ‘देश चलाउने मुख्य आधारमध्ये एक यही क्षेत्र हो,’ उनले भने, ‘कामदार रोकिने हो भने त्यसको असर सिधै रेमिट्यान्समा पर्छ, जुन अर्थतन्त्रका लागि गम्भीर विषय हो ।’ उनका अनुसार अहिले रोकिएका धेरै कामदारले ऋण लिएर, सम्पत्ति धितो राखेर विदेश जाने प्रक्रिया पूरा गरेका छन् । भिसाको समय सकिन लागेका केसहरू बढ्दै जाँदा तत्काल निर्णय नभए ठुलो आर्थिक क्षति हुन सक्ने उनले बताए ।

गुरुङले समाधानका रूपमा स्पष्ट रोडम्याप प्रस्ताव गरेका छन्, ‘पहिले भिसा प्राप्त सात हजार आठ सय ८८ कामदारलाई तुरुन्त उड्न दिने, त्यसपछि जोखिम मूल्यांकन गर्दै नयाँ श्रम स्वीकृति क्रमशः खोल्ने । यो नै व्यावहारिक र सन्तुलित उपाय हो ।’

समग्रमा चैत महिनाको उच्च श्रम बहिर्गमन, अर्थतन्त्रमा रेमिट्यान्सको गहिरो निर्भरता र अहिलेको नीतिगत अन्योल, यी तीनै पक्षले वैदेशिक रोजगारी क्षेत्रलाई संवेदनशील मोडमा पुर्‍याएको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024