वैदेशिक रोजगारीका नाममा सामाजिक सञ्जालमार्फत हुने भ्रामक विज्ञापन तथा ठगी गतिविधि रोक्न विज्ञापन बोर्डले सबैलाई सचेत गराएको छ।
सामाजिक सञ्जालमा विज्ञापन गरी विश्वका विभिन्न देशमा कामदार लग्ने र उनीहरुलाई अनलाइन स्क्यामिङिगको ठगी धन्दामा लगाउने गरेको पाइएको भन्दै विभिन्न देशमा रहेका नेपाली राजदूतावासबाट परराष्ट्र मन्त्रालय हुँदै उजुरी प्राप्त भएको भन्दै बोर्डले सबैलाई सचेत गराएको हो।
प्राप्त उजुरी र सूचनाअनुसार टिकटक, फेसबुक, ह्वाट्सएप लगायतका माध्यमबाट आकर्षक रोजगारीको प्रलोभन देखाई अवैध कार्यमा लगाउने घटना बढ्दै गएको बोर्डले उल्लेख गरेको छ। यस्ता गतिविधिमा मानव तस्करीमा संलग्न समूहले युवायुवतीलाई भ्रममा पारेर ठगी गर्ने गरेको र त्यसका कारण केही व्यक्ति विदेशमा वेवारिसे अवस्थामा पुगेका घटनासमेत देखिएको उसको भनाइ छ।
विज्ञापन बोर्डले वैदेशिक रोजगार विभागबाट अनुमति प्राप्त कम्पनीमार्फत मात्र वैदेशिक रोजगारमा जान र सामाजिक सञ्जालमा प्रकाशित हुने अनधिकृत तथा भ्रमपूर्ण विज्ञापनको भर नपर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।
वैदेशिक रोजगार ऐन, २०६४ तथा सम्बन्धित नियमावली विपरीत हुने गरी विज्ञापन प्रकाशन वा प्रसारण नगर्न-नगराउन पनि आग्रह गरिएको छ। साथै विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ अनुसार भ्रम वा अफवाह फैलाउने खालका विज्ञापन निषेध गरिएको स्पष्ट गरिएको छ।
त्यस्ता विज्ञापन देखिएमा तत्काल सम्बन्धित निकायमा उजुरी गर्न र भ्रामक तथा ठगी उद्देश्यले प्रकाशित सामग्री हटाउन पनि निर्देशन दिइएको छ। यस्तो कार्यमा संलग्न पाइएमा कानुन बमोजिम कारबाही हुने चेतावनीसमेत दिइएको छ।