रोजगारीका लागि दुबई गएका देवनारायण पाँच महिनादेखि सम्पर्कविहीन 

16 April, 2026

Saurav Yadav

वैदेशिक रोजगारीका लागि तीन वर्षअघि युएईको दुबई गएका सप्तरीको शम्भुनाथ नगरपालिका– ४, सिरकजरीका ४२ वर्षीय देवनारायण राम पाँच महिनादेखि सम्पर्कविहीन भएका छन् । ऋण तिर्ने, दुई सन्तानलाई शिक्षा दिने र एउटा घर बनाउने सपना बोकेर उनी ०७९ वैशाखमा दुबई गएका थिए ।

गत मंसिरदेखि पतिसँग सम्पर्क हुन नसकेको र खोजबिनका लागि जिल्ला प्रशासन कार्यालय सप्तरी, वैदेशिक रोजगार बोर्ड र कन्सुलर विभागमा निवेदन दिएको देवनारायणकी पत्नी निलमले बताइन् । ‘निवेदन दिएका छौँ, तर कसैले पनि मेरो श्रीमान्को स्थितिबारे पत्ता लगाउन सकेका छैनन्,’ उनले भनिन् ।

निलमका अनुसार १ वैशाख ०७९ मा सपोर्ट मेनपावरमार्फत गएका देवनारायण दुबई विमानस्थलमा सरसफाइको काम गर्दै आएका थिए । उनी ५ मंसिर ०८१ मा बिदामा नेपाल फर्किने तयारीमा थिए । तर, विमानस्थलमा उनको पासपोर्ट नियन्त्रणमा लिएको निलमको भनाइ छ । ‘त्यसवेला पासपोर्ट लिएपछि उहाँ सोही विमानस्थलमा पुगेर काम गर्न थाल्नुभयो,’ उनले भनिन्, ‘०८२ मंसिर ५ गते पासपोर्ट लिन जाँदै छु भन्ने जानकारी गराउनुभयो । यसपछि उहाँ सम्पर्कमा आउनुभएको छैन । फोन पनि लाग्दैन ।’

त्यसयता परिवारका कसैसँग पनि देवनारायणको सम्पर्क हुन नसकेको निलमले बताइन् । ‘उहाँ कहाँ हुनुहुन्छ केही खबर पाउन सकेका छैनौँ,’ उनले भनिन्, ‘प्रशासनलाई सोध्दा खोजबिन भइरहेको बताउनुभएको छ ।’

जिल्ला प्रशासन कार्यालय सप्तरीअन्तर्गतको आप्रवासी स्रोत केन्द्रकी केस स्टडी प्रमुख नीता चौधरीले परराष्ट्र मन्त्रालयअन्तर्गत कन्सुलर सेवा विभागमा जानकारी गराइसकेको बताइन् । ‘त्यहाँबाट सम्बन्धित दूतावासमा समेत जानकारी गराइसकिएको छ । अहिले खोजी कार्य जारी रहेको सूचना छ,’ उनले भनिन् ।

देवनारायणका सात वर्षकी छोरी र पाँच वर्षका छोरा छन् । परिवार पाल्न अरूको खेतमा काम गरिरहेको निलमले बताइन् । ‘पाँच महिना भइसक्यो, उहाँको कुनै पत्तो छैन । साना बच्चालाई के खुवाउने, कसरी पढाउने भन्ने चिन्ताले पिरोल्छ,’ उनले आँसु पुछ्दै भनिन्, ‘अहिले अर्काको खेतबारीमा काम गरेर जेनतेन गुजारा गरिरहेकी छु ।’

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024