अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गर्दा थप अनावश्यक कागजात वा बिल/रसिद पेस गर्न नपर्ने स्पष्ट गरेको छ।
शुक्रबार जारी गरिएको सूचनामार्फत विभागले हालै देखिएको अन्योलप्रति ध्यानाकर्षण भएको जनाएको हो। विमानस्थलस्थित अध्यागमन कार्यालयमा श्रमिकसँग अतिरिक्त कागजात मागिएको भन्ने विषय सार्वजनिक भएपछि विभागले औपचारिक रूपमा स्पष्टोक्ति दिएको हो।
विभागका अनुसार प्रचलित अध्यागमन कानुन तथा गृह मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार वैध भिजिट भिसामा विदेश जाने नेपाली नागरिकले कम्तीमा ६ महिना म्याद भएको राहदानी, गन्तव्य मुलुकको हवाई टिकट र सम्बन्धित देशको भिसा भए पर्याप्त हुन्छ।
त्यस्तै, वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि वैदेशिक रोजगार विभागबाट जारी गरिएको श्रम स्वीकृति र राहदानीजस्ता आधारभूत कागजात भए पुग्ने विभागले जनाएको छ। यसबाहेक अतिरिक्त कागजात वा बिल/रसिद पेस गर्न आवश्यक नपर्ने स्पष्ट पारिएको छ।
विभागले सेवाग्राहीलाई अनावश्यक झन्झट नदिने गरी सेवा प्रवाह गर्न र थप कागजात माग्ने प्रवृत्ति अन्त्य गर्न सम्बन्धित निकायलाई आग्रहसमेत गरेको छ।