हातमा छोराको फोटो लिएर हरेक निकायमा खोजी गरिदिन आग्रह गर्दै होमकला दमाईं भौँतारिएको तीन दशकभन्दा बढी भइसक्यो । बागलुङको जैमिनी नगरपालिका– २, दमेककी ७४ वर्षीया होमकलाको जेठो छोराको यादमा सायद कहिल्यै आँखा ओभाना भएनन् । हरेक दिन घरनजिकैको बाटोमा ओहोरदोहोर गर्ने हरेक अनुहारमा उनी आफ्नो हराएको छोराको झल्को खोजिरहेकी हुन्छिन् ।
१८ वर्षको कोमल उमेरमा रोजगारीको सपना बोकेर भारत हिँडेका छोरा बलबहादुर परियार आजसम्म घर फर्किएका छैनन् । समयले ३४ वर्ष पार गरिसक्यो, तर होमकलाको प्रतीक्षा अझै उस्तै छ । ‘०३० मा जन्मिएको छोरा भर्खरै विवाह गरेर घरको अवस्था सुधार्ने सोचले बिदेसिएको थियो,’ उनले भनिन्, ‘त्यो जिउँदो छ कि छैन, केही थाहा छैन, तर मेरो मनमा अझै आशा छ– एक दिन ढोका ढकढक्याउँदै आइपुग्नेछ ।’ छोरा लामो समय नफर्किएपछि उनले आफ्नो मन कठोर बनाएर बुहारीलाई दोस्रो विवाह गर्न प्रेरित गरिन् । ‘छोरा आएन बुहारीलाई छोरीझैँ अर्कैसँग बिहे गर्न लगाएँ, त्यसको घरजम राम्रोसँग चलेको छ, त्यसमा मलाई खुसी छ,’ उनी भन्छिन्, ‘तर, मेरो मनको खाली ठाउँ कसले भर्ने ?’
भारतसम्म पुगे, तर कहीँ भेटेनन्
छोराको खोजीमा उनी र श्रीमान् भारतसम्म पुगे, तर कहीँ पनि सुराक भेटिएन । निराश भएर फर्किएका उनको जीवनमा अर्को पीडा थपियो, छोराको प्रतीक्षा गर्दैगर्दै उनका श्रीमान् पनि संसारबाट बिदा भए । अहिले न श्रीमान् छन्, न छोरा फर्किएर आउँछन् ।
अहिले उनको साथमा कान्छो छोरा छन्, जो भारतको मद्रासमा काम गर्छन् र वेलावेलामा घर आउँछन् । छोरीको विवाह भइसकेको छ, घरमा कान्छी बुहारी र नातिनातिनाको चहलपहल पनि छ, तर यी सबैबिच पनि होमकलाको मनको एउटा कुनामा सधैँ एउटै अभाव गुञ्जिरहन्छ, घर छाडेर नफर्किएका जेठो छोरा मिठेको । ‘आस मरेको छैन,’ उनले भनिन्, ‘सास रहुन्जेल बाटो हेर्नेछु मेरो छोरा फर्किने दिनको प्रतीक्षामा छु ।’
आफ्नो छोराको खोजीका लागि उनी स्थानीय जनप्रतिनिधि र नगरपालिकामा रहेको आप्रवासी स्रोत केन्द्रसमेत पुगेकी छिन् । त्यहाँबाट सम्बन्धित निकायमा खोजीकार्यका लागि प्रयास थालिएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिए । उनका अनुसार विभिन्न निकायमा होमकलाको अपिलअनुसार बलबहादुरको विवरण पठाएको र खोजीकार्यका लागि नगरपालिकाले समन्वय गरेको छ । जैमिनी नगरपालिकाबाट बलबहादुरसहित विभिन्न देशमा गएर बेपत्ता यस वर्ष तीनजनाको खोजीकार्यका लागि विभिन्न निकायमा अपिल गरिएको स्रोत केन्द्रका मनोसामाजिक परामर्शकर्ता सुनिता आचार्यले बताइन् ।
पाँचजना बेपत्ता, नौजना उद्धार गर्नुपर्ने
बागलुङमा यस वर्ष मात्र पाँचजना बेपत्ता भएको र नौजना उद्धार गर्नुपर्ने विवरण थियो । त्यसमध्ये ६ जनाको उद्धार भइसकेको र तीनजना परिवारमा सम्पर्कमा आएको आप्रवासी स्रोत केन्द्र बागलुङका सूचना तथा परामर्शकर्ता गंगा शर्माले जानकारी दिइन् । वैदेशिक रोजगारीमा गएर हराएका, मृत्यु भएका र रोजगारीको सिलसिलामा जाँदा ठगिएकालाई स्रोत केन्द्रले उद्धार गर्दै आएको छ ।