गएको आठ महिना (साउन–फागुन) मा वैदेशिक अध्ययनमा ९३ अर्ब ८९ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा बाहिरिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा वैदेशिक अध्ययनमा बाहिरिने रकम करिब ८ प्रतिशतले बढेको हो । उक्त अवधिमा विदेश अध्ययनका लागि जाने विद्यार्थी संख्या बढेकाले त्यसबापत बाहिरिने विदेशी मुद्रा पनि बढेको जानकार बताउँछन् । गत आर्थिक वर्षको आठ महिनामा यही शीर्षकमा ८५ अर्ब ८६ करोड रुपैयाँ बाहिरिएको थियो ।
पछिल्ला वर्षमा वैदेशिक अध्ययनका लागि नेपालबाट विद्यार्थीसँगै बाहिरिने विदेशी मुद्रा निरन्तर बढ्दै गएको राष्ट्र बैंकको तथ्यांक छ । विदेशमा अध्ययनसँगै काम पाइने र राम्रो आयआर्जन पनि हुने भएकाले पछिल्ला वर्षमा उच्च शिक्षाका लागि विदेश जाने क्रम बढेको जानकार बताउँछन् । यसको सकारात्मक असर रेमिट्यान्स आप्रवाहमा पनि परेको उनीहरूको भनाइ छ ।
वैदेशिक अध्ययनका लागि नेपालबाट धेरै विद्यार्थी देशबाहिर गए पनि विदेशबाट पनि नेपालमा अध्ययनका लागि विद्यार्थी आउँछन् । यसअनुसार यस वर्षको आठ महिनामा विदेशी विद्यार्थीले नेपालमा अध्ययनका लागि ४ अर्ब १० करोड रुपैयाँ बराबरको विदेशी मुद्रा मुलुक भित्र्याएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा यस शीर्षकमा नेपालले ३ अर्ब ५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा भित्र्याएको थियो ।
नेपालमा लामो समयदेखि राजनीतिक अस्थिरता बढ्दै गएको, आर्थिक विकासका लागि राज्यस्तरबाट प्रभावकारी काम हुन नसकेको, रोजगारीका नयाँ अवसर सिर्जना नभएको लगायत कारण अध्ययनका नाममा नेपालबाट बाहिरिने युवाको संख्या बढिरहेको सरकारी प्रतिवेदनहरूले देखाएका छन् । सरकारी तथ्यांकहरूले नै कोभिड संक्रमणपछि विदेशमा अध्ययनका लागि नेपालबाट बाहिरिने रकम निरन्तर बढ्दै गएको देखाउनुले यो पुष्टि हुन्छ ।
मुलुकमा शैक्षिक सुधारका लागि राज्य प्रतिबद्ध रहे पनि विदेश अध्ययनका लागि जाने विद्यार्थी नेपालमै रोक्ने कुनै नीति नरहेको राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रकाशकुमार श्रेष्ठले बताए । ‘विदेश अध्ययनका लागि जाने विद्यार्थीलाई नजाऊ भन्न मिल्दैन, नेपाली विद्यार्थी विदेश अध्ययन गर्न जाँदा मुलुकलाई फाइदा नै हुन्छ । किनकि अहिले गरेको वैदेशिक लगानीबाट भविष्यमा मानव पुँजी निर्माण र ब्रेन गेन हुन्छ,’ उनले भने, ‘अब विदेशमा शिक्षा, सीप, पुँजी आर्जन गरिसकेका नेपालीलाई नेपाल भित्र्याउन सरकारले विशेष नीति बनाउनुपर्छ, जुन हुन सकेको छैन ।’
हाल नेपालका स्कुल, कलेज तथा विश्वविद्यालयले पनि विदेशमा अध्ययन गरेका विद्यार्थीलाई प्राथमिकता दिने नीति नबनाएकाले झन् उनीहरू नेपालमा प्रतिस्पर्धी हुन नसक्ने अवस्था रहेको श्रेष्ठले जनाए । ‘एकै पटक सबै स्थानमा नसकिए पनि जहाँ सम्भव हुन्छ, ती निकायमा विदेशी विद्यार्थीहरूलाई नेपालमा आएर काम गर्न सहज वातावरण र सोहीअनुसारको नीति बनाइनुपर्छ,’ उनले थपे ।
पछिल्ला वर्षमा विदेशी विद्यार्थी पनि नेपाल आउने क्रम बढेकाले सरकारले त्यो संख्या अझै बढाउन पहल गर्नुपर्ने श्रेष्ठको सुझाव छ । ‘नेपाललाई विदेशी विद्यार्थीहरूका लागि ‘एजुकेसनल हब’ र ‘एजुकेसनल टुरिजम’ का रूपमा विकसित गर्न सकिने पर्याप्त सम्भावना छ,’ उनले भने, ‘निजी क्षेत्रले विदेशी विद्यार्थीका लागि कोटा बढाइदिन सरकारसँग माग पनि गरेको छ । अब सरकारले सोहीअनुसारको नीति बनाइदिनुपर्छ ।’
हाल म्यानमार, भुटानलगायत देशबाट नेपाली मूलका धेरै विद्यार्थी थाइल्यान्ड आउँछन् । नेपालमा भिसालगायत विभिन्न प्रक्रियामा सहजीकरण गरेर ती विद्यार्थीलाई नेपाल आकर्षित गर्ने वातावरण बनाउनुपर्ने श्रेष्ठको भनाइ छ ।
यसरी चालु वर्षको आठ महिनामा विदेशमा अध्ययनका लागि नेपालबाट बाहिरिएको रकमबाट विदेशी विद्यार्थीमार्फत नेपाल भित्रिएको रकम घटाउँदा खुद ९२ अर्ब ८९ करोड ९३ लाख रुपैयाँ नेपालबाट बाहिरिएको देखिन्छ । गत आर्थिक वर्ष यस्तो रकम ८५ अर्ब ८६ करोड ४५ करोड रुपैयाँ थियो ।
आर्थिक वर्ष २०८१/८२ मा अध्ययनका लागि मुलुकबाट १ खर्ब ३८ अर्ब ४८ करोड रुपैयाँ बाहिरिएको थियो । यस्तो रकम हरेक पछिल्ला वर्षमा बढिरहेको छ । यसअनुसार आर्थिक वर्ष २०८०/८१ मा मात्र अध्ययनका लागि मुलुकबाट १ खर्ब २५ अर्ब १३ करोड रुपैयाँ बाहिरिएको थियो । आर्थिक वर्ष २०७९/८० मा विदेश अध्ययनकै लागि १ खर्ब ४२ करोड, २०७८/७९ मा ६७ अर्ब ७० करोड रुपैयाँ, २०७५/७६ मा ४६ अर्ब ३२ करोड र २०७६/७७ मा २५ अर्ब ८१ करोड रुपैयाँ बाहिरिएको राष्ट्र बैंकको तथ्यांक छ ।
नेपालमा अध्ययन गर्नकै लागि विदेशबाट विद्यार्थी आउने पनि गरेका छन् । खासगरी चिकित्साशास्त्र, इन्जिनियरिङ, साहित्य, संस्कृतिलगायत विषय अध्ययनका लागि विदेशी विद्यार्थी नेपाल आउने गरेका छन् । तर, उनीहरूले यहाँ खर्च गरेको रकम नेपालका लागि आम्दानी हुन्छ ।
वैदेशिक अध्ययनका लागि हरेक वर्ष ठूलो परिमाणमा विदेशी मुद्रा बाहिरिनु ठीक/बेठीक भन्ने सम्बन्धमा दुई प्रकारका धारणा पाइन्छन् । विदेश अध्ययनमा धेरै पैसा गयो भनेर चिन्ता लिनु नपर्ने एक थरी बताउँछन् । उनीहरूका अनुसार विदेश अध्ययनमा जाँदा विद्यार्थीले नेपालबाट पैसा मात्र लगेका हुँदैनन्, उनीहरूले ज्ञान आर्जन गर्छन्, सीप सिक्छन्, धन कमाउँछन् र अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचान दिन्छन् । भविष्यमा आफ्नो देशको अवस्था राम्रो भए पर्याप्त अवसर देखेपछि नेपाल फर्किन्छन् । यसकारण अहिले विदेश अध्ययन गर्नेले धेरै पैसा बाहिर लगे भनेर चिन्ता गर्नु पर्दैन ।
अर्काथरी भने नेपालमा अवसर नभएकाले युवा बाहिरिन बाध्य भएको भन्दै उनीहरूलाई स्वदेशमै रोक्न सरकारले विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिन्छन् । विदेश अध्ययनमा किन धेरै विद्यार्थी गए भनेर चिन्ता गर्नुपर्ने बेला भएको छ । नेपालको शिक्षा प्रणाली, पाठ्यक्रममा कहाँ कमजोरी छ भन्नेबारे पनि राज्यले चिन्तन गर्नुपर्ने उनीहरूको बुझाइ छ ।
यद्यपि विदेश गएका विद्यार्थीलाई नेपाल फर्काउन र नेपालमा रहेकालाई स्वदेशमै बस्ने वातावरण बनाउन सरकारसँग कुनै योजना छैनन् । यद्यपि राष्ट्र बैंककै सुझावअनुसार सरकारले पछिल्ला वर्षमा विदेशी शैक्षिक संस्थाको सम्बन्धन लिन रोक लगाएको छ ।
हाल कार्यान्वयनमा रहेको १६ औं पञ्चवर्षीय योजनामा शैक्षिक सुधारका लागि आवश्यक नीति, कानुन, निर्देशिका, कार्यविधि तथा मापदण्ड जारी गर्ने उल्लेख छ । ‘विद्यालयमा साधारणतर्फ अध्ययन गर्नेभन्दा पनि प्राविधिक धारतर्फ अध्ययन गर्ने विद्यार्थीको अनुपात क्रमशः वृद्धि गर्ने गरी नीतिगत व्यवस्था गर्ने योजना छ,’ १६ औं योजनामा भनिएको छ, ‘सबै तहको शैक्षिक उपलब्धिमा बढोत्तरी गर्ने, उच्च शिक्षा प्राप्तिका लागि विदेश जाने बढ्दो प्रवृत्तिलाई कम गर्न नेपालको शिक्षा प्रणालीलाई गुणस्तरीय, उत्पादनमूलक र रोजगारकेन्द्रित बनाउने राज्यको नीति छ ।’
भौतिक तथा अन्य पूर्वाधारको व्यवस्था गर्ने, सबै तहको शिक्षाको पाठ्यक्रम र शैक्षिक कार्यक्रम समसामयिक र व्यावहारिक बनाउने, शैक्षिक प्रणालीको सुदृढीकरण गरी कार्यान्वयन गर्ने, राष्ट्रिय जनशक्ति विकास योजना तर्जुमा गर्ने, शिक्षा र सीपलाई उत्पादन र बजारसँग जोड्ने र गुणस्तरीय तथा समावेशी शिक्षाका लागि लगानी विस्तार गर्ने योजना पनि १६ औं योजनामा छ । तर, व्यवहारमा उल्लिखित धेरै नीति कार्यान्वयनमा छैनन् ।