खाडीमा रहेका नेपालीलाई सुरक्षित फिर्ताका लागि कूटनीति पहल गरियोस् : गीता गुरुङ

9 April, 2026

नेपाली कांग्रेसकी सांसद गीता गुरूङले खाडी मुलुकमा रहेका नेपालीहरूको सुरक्षित घर फिर्तीका लागि कूटनीतिक पहल गर्न सरकारसँग माग गरेकी छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै उनले सरकारसँग पश्चिम एसियामा जारी युद्धका कारण डरमा बाँचिरहेका नेपालीहरूको सुरक्षित घर फिर्तीका लागि कूटनीतिक पहल गर्न माग गरेकी हुन् ।

‘पश्चिम एसियामा जारी युद्धको कारण डरमा बाँचिरहेका नेपालीहरूको सुरक्षित घर फिर्तीका लागि सरकारको अविलम्ब कुटनैतिक पहलका लागि माग गर्दछु,’ सांसद गुरूङले भनिन् ।

सांसद गुरूङले महिलाहरूमाथि भइरहेको साइबर बुलिङ रोक्न दोषीलाई कडा कारबाही गर्न पनि सरकारसँग माग गरिन् ।

‘आफ्ना धारणा अभिव्यक्त गरेकै आधारमा महिलाहरूमाथि भइरहेको निकृष्ट साइबर बुलिङ रोक्न दोषीलाई कडा कारबाही गर्न जोडदार माग गर्दछु,’ उनले भनिन् ।

कांग्रेस सांसद गुरूङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधानको मर्मअनुसार समुन्नत नेपाल निर्माणमा अहम् भूमिका खेल्न अपेक्षा राखेको पनि बताइन् ।
‘रास्वपाले प्राप्त गरेको लोभलाग्दो जनमतका लागि बधाई दिँदै उहाँहरूले संविधानको मर्मअनुसार समुन्नत नेपाल निर्माणमा अहम् भूमिका खेल्नुहुनेछ भन्ने अपेक्षा गर्दछु,’ उनले भनिन् ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024