परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त अरब इमिरेट्स (युएई) का उपप्रधान तथा विदेशमन्त्री शेख अब्दुल्ला बिन जायद अल नह्यानसँग टेलिफोन वार्ता गरेका छन्।
सोमबार साँझ भएको उक्त वार्ताका क्रममा युएईका उपप्रधान तथा विदेशमन्त्रीले नवनियुक्त परराष्ट्रमन्त्री खनाललाई हार्दिक बधाई दिएका थिए। मन्त्री खनालले उक्त शुभकामनाका लागि धन्यवाद ज्ञापन गरेका थिए।
वार्ताका क्रममा दुवै मन्त्रीबीच पश्चिम एसियाको पछिल्लो अवस्थाबारे विचार आदानप्रदान भएको थियो। मन्त्री खनालले युएईप्रति नेपालको ऐक्यबद्धता व्यक्त गर्दै त्यहाँको सार्वभौम भूमिमाथि भएका आक्रमणको कडा शब्दमा निन्दा गरेका थिए। उनले विशेषगरी सर्वसाधारण तथा ऊर्जा केन्द्र, बन्दरगाह र विमानस्थलजस्ता महत्वपूर्ण संरचनामा लक्षित आक्रमणप्रति चिन्ता व्यक्त गरे।
त्यस्तै मन्त्री खनालले उक्त घटनामा एक नेपाली युवाको दुःखद् मृत्यु हुनुका साथै अन्य २४ जना नेपाली घाइते भएको विषयसमेत उठाएका थिए। उनले युद्ध शान्तिको विकल्प हुन नसक्ने उल्लेख गर्दै दीगो शान्ति कूटनीति र संवादबाट मात्र सम्भव हुने बताएका थिए।
युएईका उपप्रधान तथा विदेशमन्त्रीले कठिन परिस्थितिमा नेपाल सरकार र परराष्ट्रमन्त्रीले देखाएको ऐक्यबद्धताप्रति आभार व्यक्त गर्दै युएईमा रहेका नेपालीसहित सबै बासिन्दाको सुरक्षा सुनिश्चित गर्न आफ्नो सरकार प्रतिबद्ध रहेको बताएका छन्। साथै, द्वन्द्वको सन्दर्भमा युएईमा रहेका नेपाली समुदायलाई आवश्यक सहयोग उपलब्ध गराइने प्रतिबद्धतासमेत व्यक्त गरिएको छ।