बीपी राजमार्ग पूर्ण अवरुद्ध, रोशी खोलाले बगाएर एक जनाको मृत्यु

30 March, 2026

Rojan Tamang

बीपी राजमार्गमा कार्यरत एक कामदारको खोलाले बगाउँदा मृत्यु भएको छ। अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीले बगाउँदा रोशी गाउँपालिका–७ निवासी कुन्साङ तामाङको मृत्यु भएको हो।

रोशी गाउँपालिकाका उपाध्यक्ष मिम बहादुर वाइवाका अनुसार मृतक तामाङ बीपी राजमार्ग निर्माण कार्यमा संलग्न मजदुर हुन्। बाटो पूर्ण रूपमा अवरुद्ध भएका कारण प्रहरी घटनास्थलमा पुग्न नसक्दा शवको मुचुल्का उठाउन समेत कठिनाइ भइरहेको उपाध्यक्ष वाइवाले जानकारी दिए।

यसैबीच, रोशी गाउँपालिका–९, बिरुवा डाँडास्थित बीपी राजमार्गमा खहरे खोलाको बाढीले सडक ढाकेपछि सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक सुनिल धाजुका अनुसार निरन्तरको वर्षाले राजमार्ग निर्माणको काम समेत रोकिएको छ।

रोशी गाउँपालिकाभित्रका विभिन्न खहरे खोलाहरूमा बाढी आइरहेकाले राजमार्गको दुवैतर्फको यातायात सेवा अवरुद्ध भएको छ। ट्राफिक प्रहरीले सबै सडक प्रयोगकर्ताहरूलाई सडकको अवस्था बुझेर मात्र यात्रा तय गर्न र उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024