ठगीमा परेका ५१ नेपालीको कम्बोडियाबाट उद्धार

26 March, 2026

विभिन्न व्यक्तिहरूको प्रलोभनमा परी कम्बोडिया पुगेका ५१ नेपाली नागरिकलाई त्यहाँबाट उद्धार गरी स्वदेश फर्काइएको छ। उनीहरूलाई अवैध रूपमा सञ्चालन भइरहेका अनलाइन स्क्यामिङ केन्द्रहरू र क्यासिनोहरूमा जबर्जस्ती संलग्न गराइएको पाइएको छ।

थाइल्यान्डस्थित नेपाली दूतावासको पहल तथा कम्बोडिया सरकारको सहयोगमा गरिएको उद्धारकार्य गैरआवासीय नेपाली संघ (एनआरएनए) कम्बोडियाको सहजीकरणमा सम्पन्न भएको हो। उद्धार गरिएका नेपालीहरूलाई विभिन्न गैरकानुनी गतिविधिमा लगाइएको र कतिपय विनाराहदानी बसिरहेका थिए।

दूतावासका अनुसार अझै पनि कठिन परिस्थितिमा रहेका वा अलपत्र परेका अन्य नेपाली नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया जारी रहेको छ। कम्बोडियामा नेपालीहरूलाई अनलाइन ठगीलगायतका गैरकानुनी काममा लगाइएको तथा राहदानीविना वा अवधि नाघेर बसिरहेको सूचना प्राप्त भएको छ।

पीडितहरूले स्क्यामिङ केन्द्रमा काम गर्दा कम्पनीले राहदानी जफत गर्ने वा स्थानान्तरणका क्रममा हराउने समस्या भोगेको गुनासो गरेका छन्। यस्तो अवस्थामा स्वदेश फर्कनका लागि दूतावासले निःशुल्क एकतर्फी यात्रा अनुमतिपत्र उपलब्ध गराउने जनाएको छ।

कम्बोडियाको पर्यटनसम्बन्धी तथ्यांकअनुसार पछिल्लो समय सन् २०२१ मा १०१ नेपाली भ्रमण भिसामा कम्बोडिया गएकामा सन् २०२२ मा एक हजार ९७७ जना, सन् २०२३ मा दुई ९४० जना, सन् २०२४ मा ६ हजार ४०४ जना तथा सन् २०२५ मा नौ हजार ६७६ नेपाली कम्बोडिया गएको देखिन्छ ।

नेपाल सरकारले वैदेशिक रोजगारीमा जानुअघि अनिवार्य रूपमा श्रम स्वीकृति लिन आग्रह गरेको छ। साथै, छिटो र धेरै पैसा कमाउने प्रलोभनमा परी कम्बोडिया, लाओस, म्यानमार र थाइल्यान्डजस्ता मुलुकहरूमा भ्रमणको बहानामा नजान पनि चेतावनी दिएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024