रुसी सेनामा कार्यरत दिनेश दुई वर्षदेखि सम्पर्कविहीन थिए, आयो मृत्युको खबर

25 March, 2026

Bhawani Bhatta

कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रहृमदेवका दिनेश नायक २०८० असारमा अध्ययनका लागि रुस गएका थिए । रुस पुगेको दुई महिनामै उनी रुसी सेनामा भर्ती भए । भर्ती भएको केही समयसम्म घर परिवारसँग सम्पर्क भइरहेको थियो । २०८० मंसिर १० मा दिनेशले आफू युद्धमा गइरहेकाले फर्केपछि मात्रै सम्पर्क हुने जानकारी गराए ।

झण्डै दुई वर्षदेखि छोरासँग सम्पर्क हुने आसमा थियो नायक परिवार । चैत पहिलो साता छोराको मृत्युको खबर आएपछि परिवारमा सन्नाटा छाएको छ । परिवारसँगै गाउँले समेत शोकमा छन् । ‘कहीँबाट सम्पर्क हुन्छ कि, छोरा घर फर्किन्छ कि भन्ने आस थियो, अब त्यो पनि सकियो,’ दिनेशका बुवा कर्णसिंह नायकले भने, ‘धेरै लामो प्रतिक्षापछि मृत्युको खबर आयो, अब लास मात्रै पाए पनि हुन्थ्यो ।’ नायक परिवारलाई फागुन ५ मा डिएनएको नमुना संकलनका लागि काठमाडौं बोलाइएको थियो । आमा कमलादेवीबाट नमुना संकलन पनि गरिएको थियो । त्यसपछि उनीहरु घर फर्केका थिए ।

रुसस्थित नेपाली दुतावसले फागुन २९ मा कमलादेवीको डिएनएको नमुना मिलेको जानकारीसहित दिनेशको मृत्यु भएको पत्र कन्सुलर सेवा विभागमा पठायो । त्यसपछि मात्रै नायक परिवारले छोराको मृत्युको खबर पाएको हो । छोराको मृत्यु कहिले भयो भन्नेबारे भने नायक परिवारले केही जानकारी पाएको छैन । ‘अन्तिम संस्कार र बिमा सम्बन्धी कामका लागि रुस जानुपर्ने भनेर पत्र आएको छ,’ मृतकका बुवा कर्णसिंहले भने, ‘छोराको शव नेपालमै ल्याइदिनुपर्ने मेरो माग छ, यहीँ अन्तिम संस्कार गर्छु ।’

उनले रुस जान खर्च पनि नभएकाले शव नेपालमै ल्याउने व्यवस्थापन गरिदिन आग्रह गरेका छन् । अहिले कर्णसिंह छोराको शव मगाउने पहल गरिदिन सबै निकायसँग हारगुहार गरिरहेका छन् । साथै आवश्यक कागजात पनि बनाइरहेका छन् ।

२३ वर्षीय दिनेश २०८० असारमा अध्ययनका लागि भन्दै रुस गएका थिए । रुस पुगेको दुई महिनामै विभिन्न प्रलोभनमा परेर उनी रुसी सेनामा भर्ती भए । भर्ती भएपछि तालिम अवधिमा उनले घरमा नियमित सम्पर्क गर्थे। त्यसपछि एक पटक युद्धमा गएका बेला १५ दिनजति सम्पर्क हुन सकेको थिए । युद्धबाट फर्केपछि फेरि सम्पर्क भयो । अध्ययनका लागि गएको छोरालाई रुसी सेनामा भर्ती नहुन परिवारले आग्रह गरेको थियो । तर दिनेशले परिवारको आग्रह मानेन । ‘सेनामा भर्ती नहोउ भन्दा भन्दै मानेन, अहिले यस्तो खबर आयो,’ आमा कमलादेवीले भनिन्, ‘दुई वर्षदेखि छोरा घर फर्किने आस थियो, अब त्यो पनि सकियो ।’

कमलादेवी अहिले छोराले दुई वर्षअघि फोनमा भनेको कुरा सम्झेर रोइरहेकी छन् । २०८० मंसिर १० मा उनले फोनमा आमासँग कुरा गरेका थिए । उनले युद्धमा जान लागेकाले १०/१५ दिनपछि मात्रै फोन गर्ने जानकारी दिएका थिए । तर त्यसयता छोरासँग कुरा नै हुन सकेन ।

‘आमा पैसा कमाउन आएको हुँ, कमाएर घर फर्किन्छु भन्थ्यो,’ कमलादेवीले भनिन्, ‘पैसा त के कमाउँथ्यो, आफ्नै ज्यान गुमायो, अप्ठेरो त हामीलाई पार्‍यो ।’ उनी छोराकै चिन्ताले राम्ररी बोल्न पनि सकिरहेकी छैनन् । दिनेश कमलादेवीका कान्छा छोरा हुन् । जेठो अशोक भारतमा काम गर्छन् । भाइको मृत्युको खबर सुनेपछि उनी पनि घर फर्किएका छन् ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024