खाडीबाट कसरी फर्किने ? यस्ता छन् सम्भावित रुटहरू

23 March, 2026

Kiran Poudel

इरानले एकपछि अर्को गर्दै खाडीस्थित अमेरिकी सैन्य बेस र इन्धन पूर्वाधारहरूमा आक्रमण बढाएपछि खाडीका देश अशान्त बनेका छन् । जसको सोझो प्रभाव त्यहाँस्थित नेपाली श्रमिकहरूमा पनि परेको छ । असुरक्षाका कारण घर फर्किन खोजेका र बिदामा स्वदेश आउन चाहेका सबै नेपालीहरू कार्यस्थलमै अड्किएका छन् । हवाई रुट नियमित नहुँदा खाडीका देशबाट नेपालसम्म आइपुग्न र नेपालबाट खाडी लगायतका अन्य देशमा जान असहज बन्दै गएको छ ।

खाडीबाट कसरी सजिलै नेपाल फर्किन सकिन्छ त ? हामीले यही प्रश्न परराष्ट्र मन्त्रालयमा सोधेका थियौं । परराष्ट्र मन्त्रालयले स्वदेश फर्कन चाहेका नेपालीहरूका लागि केही सीमित रुट उपलब्ध भएको जानकारी दिएको छ । परराष्ट्रका अनुसार आपत्कालीन कारणले नेपाल फर्कन चाहनेहरूले सबैभन्दा पहिला आफू बसिरहेको देशको नेपाली दूतावास वा कन्सुलेटसँग सम्पर्क गर्नुपर्छ । त्यसपछि मात्र आफ्नो ट्राभल रुट निर्धारण गर्नु उपयुक्त हुन्छ । अहिले यूएईमा दुबई, अबुधाबी र शारजाह अन्तर्राष्ट्रिय विमानस्थलहरू आंशिक रूपमा सञ्चालनमा छन् ।

यहाँबाट सोझै वा अन्यत्र ट्रान्जिटमार्फत नेपाल यात्रा गर्न सकिने अवस्था छ । साउदी अरेबियामा रहेका रियाद र दमाम विमानस्थलबाट नियमित उडान नभए पनि यहाँबाट पनि सीधै वा ट्रान्जिटमार्फत यात्रा गर्न सकिन्छ । कतारबाट सीधा उडान सीमित छन् । त्यहाँबाट स्थलमार्ग प्रयोग गरी साउदी अरेबिया वा यूएई पुगेर मात्र उडान लिन सकिन्छ ।

कुवेतबाट पनि नेपाल आउने सीधा उडान सीमित छन् । तर पछिल्लो तीन सातायता कुवेत–काठमाडौं–कुवेत उडान ठप्प छ । कुवेतबाट कुवेत एअरवेज र जजिरा एअरवेजले नेपाल उडान गर्दै आएका थिए । त्यहाँबाट पनि स्थलमार्ग प्रयोग गरेर साउदी वा यूएईका विमानस्थल पुगेर यात्रा गर्नुपर्छ । अहिले बहराइनबाट उडान अत्यन्त कठिन छ । बहराइन–नेपाल सिधा उडान छैन । त्यसैले बहराइनबाट नेपाल फर्कन चाहनेहरूले स्थलमार्गबाट साउदी वा दुबई पुगेर अन्तर्राष्ट्रिय उडान लिनुपर्छ ।

ओमानको मस्कट विमानस्थल खुला छ । त्यहाँबाट भारतका सहरहरूमा सीमित उडान भइरहेका छन् । त्यहाँबाट ट्रान्जिटमार्फत नेपाल फर्कन सकिन्छ । इराकबाट भने सीधा उडानको सम्भावना न्यून छ । स्थलमार्ग प्रयोग गरी साउदी वा यूएई पुगेर मात्र नेपाल फर्कन सकिन्छ ।

जुनसुकै मुलुकमा पनि आपत्कालीन कारणले फर्कन चाहे नजिकको दूतावास र नियोगमा सम्पर्क गर्न परराष्ट्र मन्त्रालयले आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले सम्पर्कमा आएकाहरूलाई दूतावासले उपलब्ध उडान, ट्रान्जिट मार्ग र आवश्यक कागजातबारे जानकारी दिने र आवश्यक सहजीकरण गर्ने बताए ।

पश्चिम एसिया जानेहरूका हकमा पनि सबैभन्दा पहिले दूतावाससँग सम्पर्क गरी उडान स्थिति, भिसा र ट्रान्जिट अनुमति जाँच गर्नु अपरिहार्य छ । यहाँ उल्लेखित रुट र विकल्पहरू समाचार पहिलोपटक प्रसारण हुँदासम्म परिवर्तन भएका छैनन् । यद्यपि, पश्चिम एसियाको तनावले यी विकल्पहरू जुनसुकै बेला पनि बन्द हुन सक्छन् ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024