पुनः श्रम स्वीकृतिबारे मतभेद

24 March, 2026

पश्चिम एसियाको युद्धको प्रभाव बढ्ने देखेपछि अन्य देशले आफ्ना श्रमिकको सुरक्षालाई ध्यान दिँदै फिर्ता गरिरहेको बेला नेपाल सरकारले भने तिनै देशमा पुनः श्रम स्वीकृति दिएर पठाउन थालेको छ । गत फागुन १७ देखि पश्चिम एसियाका १२ देशमा नयाँ र पुनः श्रम स्वीकृति बन्द गरेको सरकारले गएको मङ्गलबारदेखि खाडीका केही देश र टर्कीसहित सात देशमा कार्यरत नेपाली श्रमिकका लागि पुनः श्रम स्वीकृति दिन थालेको हो ।

सरकारले साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई), कतार, ओमान, यमन, जोर्डन र टर्र्कीका लागि पुनः श्रम स्वीकृति खुला गरेको छ भने इरान, इजरायल, बहराइन, कुवेत, इराक र लेबनानमा अहिले पनि सबै खाले श्रम स्वीकृति स्थगन यथावत् छ । श्रमका जानकारले भने सरकारले एकातिर श्रमिक उद्धार गर्ने र अर्कोतिर पुनः श्रम स्वीकृति खुला गर्ने कार्यको आलोचना गरेका छन् । श्रम, रोजगारविज्ञ रामेश्वर नेपालले युद्ध जारी रहेका देशमा अहिले हतारिएर पुनः श्रम स्वीकृति दिने कार्य नागरिक सुरक्षाको हिसाबले परिपक्व नभएको तर्क गर्नुभयो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता पीताम्बर घिमिरले परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको नेतृत्वमा गठित ‘¥यापिट रेस्पोन्स टिम, सम्बन्धित गन्तव्य देशमा रहेका राजदूतावासको सल्लाह सुझावका आधारमा सात देशका लागि पुनः श्रम स्वीकृति खुला गरिएको जानकारी दिनुभयो । उहाँहरूले तोकिएका सात देशमा बिदामा आएर पुनः सोही रोजगारमा जान चाहनेका लागि श्रम स्वीकृतिले मात्रै रोक्नुहुँदैन भनेर खोलिएको उहाँले जानकारी दिनुभयो ।

परराष्ट्र मन्त्रालयका सहसचिव एवं प्रवक्ता लोकबहादुर क्षेत्री पौडेलले पुनः श्रम स्वीकृति खुला गरिएका देशको सबै अवस्था बुझेर बिदामा आएका श्रमिकलाई पुनः सोही काममा फर्किने वातावरण मात्रै बनाएको बताउनुभयो । निर्वाचनका बेला स्वदेश आएकाले ती देशमा सामान्य हुँदै गएसँगै आफ्नो रोजीरोटीसँग जोडिएका विषयसहित दबाब दिएकाले पुनः श्रम स्वीकृति खुला गर्न श्रम मन्त्रालयलाई सिफारिस गरेको उहाँले जानकारी दिनुभयो ।

गैरआवसीय नेपाली सङ्घ (एनआरएनए) का नागरिकको दबाबमा खुलाएको भन्ने आरोप छ नि भन्ने प्रश्नमा सहसचिव पौडेलले एनआरएनए र अन्य नागरिकसमेतको आग्रह वा दबाब धेरै रहेकाले पुनः श्रम स्वीकृति जारी गर्न सिफारिस गरेको बताउनुुभयो ।

नेपालले जस्तै श्रमिक पठाउने अन्य देशले श्रम स्वीकृति बन्द नगरेको बताउँदै सहसचिव पौडेलले भन्नुभयो, “नेपालले भने आफ्ना नागरिकको सुरक्षालाई ध्यानमा राखेर नयाँ श्रम स्वीकृति रोकिएको छ भने पुनः श्रम स्वीकृतिलाई मात्रै खुला गरेका छौँ ।”

पुनः श्रम स्वीकृति बढ्यो

वैदेशिक रोजगार विभागले गएको मङ्गलबारदेखि साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई) कतार, ओमान, यमन, जोर्डन र टर्र्कीमा पुनः श्रम स्वीकृति खुला गरेको छ । सुरुमा दैनिक नौ सय जनालाई श्रम स्वीकृतिका लागि टोकन दिएको विभागले आइतबारदेखि भने एक हजार दुई जनाका लागि टोकनको व्यवस्था गरेको जनाएको छ । विभागका उपमहानिर्देशक चन्द्रबहादुर शिवाकोटीले पुनः श्रम स्वीकृति लिएर जानेको चाप बढेपछि यसअघिको नौ सयको टोकनमा थप तीन सय बढाएर आइतबारदेखि एक हजार जनाका लागि टोकन वितरण गरेको जानकारी दिनुभयो ।

मन्त्रालयले ती देशमा कार्यरत श्रमिक बिदामा नेपाल आएका बेला श्रम स्वीकृतिको अवधि समाप्त भई पुनः फर्किन समस्या भएको भन्दै विभिन्न माध्यमबाट माग आएपछि सरकारले यस्तो निर्णय गरेको जनाएको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024