मध्यपूर्वमा अलपत्र नेपालीलाई दूतावासमार्फत उद्धार गरिने

16 March, 2026

द्वन्द्वग्रस्त मध्यपूर्वमा अलपत्र परेका नेपालीलाई सम्बन्धित मुलुकमा रहेका नेपाली दूतावासमार्फत उद्धार गरिने भएको छ । सरकारले अमेरिका–इजरायल र इरान युद्धले तनावग्रस्त बनेको मध्यपूर्वमा रहेका नेपालीको उद्धार तथा राहत नेपाली दूतावासमार्फत गर्ने निर्णय गरेको हो । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले युद्ध प्रभावित देशहरूमा रहेका नेपालीलाई स्वदेश फर्काउन दूतावास परिचालन गर्ने निर्णय भएको सरकारका प्रवक्तासमेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

‘युद्ध प्रभावित पश्चिमी एसियाली मुलुकहरूमा रहेका एवं ट्रान्जिटमा रहेका नेपाली नागरिकको तत्काल राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन हाललाई नेपाली दूतावासहरू रियाद, अबुधाबी, दोहा, मस्कट, इस्लामाबाद, मनमा, काइरो र तेलअभिव तथा नेपाली महावाणिज्यदूतावास जेद्दा र दुबईले आवश्यक व्यवस्था मिलाउने’ मन्त्रिपरिषद् निर्णय सुनाउँदै गृहमन्त्री अर्यालले भने । दुई सातादेखि जारी युद्धले मध्यपूर्वमा रहेको १७ लाखभन्दा बढी नेपाली असुरक्षित बनिरहेका छन् । त्यसैले उनीहरूलाई स्वदेश फर्काउन दूतावास परिचालनको निर्णय भएको मन्त्री अर्यालले जानकारी दिए ।

कुवेतमा रहेका नेपालीलाई नेपाल आउने मौका

नेपाली दूतावास, कुवेतले एक सूचना जारी गर्दै ‘कुवेती सिभिल आइडी’ भएकालाई साउदीको बाटो हुँदै नेपाल फर्कने अवसर रहेको जानकारी गराएको छ । दूतावासका अनुसार कुवेतको वैद्य रेसिडेन्ट परमिट भएर कुवेतमा बसोवास गरिरहेका नेपाली नागरिकले अनलाइनमार्फत साउदीको भिसा दिएर स्वीकृत भएको खण्डमा सडकमार्ग हुँदै साउदी प्रवेश गर्ने र त्यहाँबाट नेपाल जान सकिने व्यवस्था भएको छ । तर, यो प्रावधानले श्रमिक नेपालीलाई भने सुविधा दिएको छैन । विभिन्न पेसा–व्यवसाय गरेर लामो समयदेखि कुवेतमा बसेर त्यहीँको सिभिल आइडी लिएका सीमित नेपालीलाई मात्रै यो सुविधा प्राप्त हुनेछ । कुवेतमा आवासीय परमिट लिएका र श्रमिक भिसा भएका गरी एक लाख ७५ हजार नेपाली रहेको परराष्ट्रको तथ्यांक छ ।

युद्धको दृश्य सार्वजनिक नगर्न दूतावासको आग्रह

युएईमा रहेका नेपालीलाई अमेरिका–इजरायल र इरानबिचको युद्धका दृश्यहरू खिच्ने र सार्वजनिक गर्ने काम नगर्न पनि अबुधाबीस्थित नेपाली दूतावासले सूचना जारी गरेको छ । दूतावासको तेस्रोपटक जारी गरेको एडभाइजरीमा भनिएको छ, ‘युएईमा विकसित परिस्थितिका सन्दर्भमा सामाजिक सञ्जाल प्लाटफर्म वा अन्य कुनै पनि प्राविधिक माध्यममार्फत अज्ञात स्रोतबाट आएका हल्ला तथा आधिकारिक रूपमा पुष्टि नभएका सामग्री प्रकाशन वा प्रसारण नगर्न र यहाँको सुरक्षा स्थितिबारे भ्रम फैलिने किसिमले तस्बिर–भिडियो खिची पोस्ट नगर्न युएईमा रहनुभएका सम्पूर्ण नेपाली समुदायलाई यस राजदूतावास तथा महावाणिज्यदूतावासले पटक–पटक अनुरोध गर्दै आएको छ ।’

युद्धका दृश्यहरू खिच्ने र सामाजिक सञ्जालमा प्रकाशन गर्ने कार्य युएईको कानुनविपरीत भएको पनि दूतावासले जानकारी दिएको छ । ‘हामी जुन देशमा बसेका छौँ, त्यो देशको कानुनले बन्देज गरेका र कानुनबमोजिम कडा कारबाही हुने यस्ता गैरकानुनी एवं अनधिकृत कार्यहरू नगर्नुहुन युएईमा रहनुभएका समस्त नेपाली समुदायलाई विनम्र अनुरोध छ,’ दूतावासले भनेको छ, ‘यस्ता कार्यमा संलग्न हुने व्यक्तिलाई युएईको कानुनअनुसार कम्तीमा पनि एकदेखि दुईवर्षसम्म जेल सजाय र एक लाखदेखि दुई लाख दिरामसम्म जरिवाना हुन सक्छ ।’ सानो गल्तीले जेल सजाय र आर्थिक जरिवानाको ठुलो भार खेप्नुको सट्टा कानुनको परिपालना गर्न दूतावासले अपिल गरेको हो ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024