क्रोसियामा दुर्घटनामा परेका विकको शव ल्याउन ढिलाइ

13 March, 2026

Pratik Ichchhuk Sharma

वैदेशिक रोजगारीका क्रममा क्रोसियामा सवारी दुर्घटनामा परी निधन भएका सल्यानका एक युवकको शव स्वदेश ल्याउन ढिलाइ भएको छ । कुमाख गाउँपालिका–७ जिमाली तुरतुरे निवासी २५ वर्षीय भुवन विकको निधन भएको २८ दिन बित्दासमेत शव नेपाल ल्याउन नसकिएको परिवारले जनाएको छ ।

परिवारका अनुसार भुवनको मृत्यु गत फागुन १ गते (फेब्रुअरी १३) मा क्रोसियामा भएको हो । उहाँका दाजु तिलक विकले दुर्घटनापछि करिब एक सातासम्म परिवारले भुवनको अवस्थाबारे जानकारी पाउन नसकेको र त्यसपछि मात्र निधनको खबर प्राप्त भएको बताउनुभयो ।

हाल विकको शव क्रोसियाको नोभा ग्राडिस्का जनरल अस्पतालमा राखिएको छ । दाजु तिलकका अनुसार वैदेशिक रोजगार बोर्डको सचिवालय, बबरमहलबाट गत फागुन १४ गते नै शव नेपाल ल्याउने प्रक्रिया सुरु गरिएको भए पनि अहिलेसम्म सफलता प्राप्त हुन सकेको छैन । लामो समयसम्म शव ल्याउन नसकिँदा परिवार थप पीडामा परेको छ ।

यसैबीच प्रतिनिधिसभा सदस्य रमेशकुमार मल्लले सामाजिक सञ्जालमार्फत यस विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभएको छ । उहाँले सरकारी तहमा हुने ढिलासुस्ती र झन्झटिला प्रक्रियाले आम नागरिकमा असन्तुष्टि बढेको उल्लेख गर्दै विदेशमा अलपत्र परेको शव यथाशीघ्र नेपाल ल्याउन सरकार, परराष्ट्र मन्त्रालय, अस्ट्रियास्थित नेपाली राजदूतावास (भियना) तथा वैदेशिक रोजगार बोर्डलगायत सरोकारवाला निकायलाई पहल गर्न आग्रह गर्नुभएको छ ।

यो घटनाले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका नेपालीको शव स्वदेश ल्याउने प्रक्रियालाई थप छिटो, प्रभावकारी र सहज बनाउनुपर्ने आवश्यकता पुनः उजागर गरेको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024