आशा बोकेर भोट खसाल्न स्वदेश फर्कँदै छन् प्रवासी नेपाली

24 February, 2026

Tej Raj Bhatta

आसन्न २१ फागुनको निर्वाचनपछि देशमै केही होला भन्ने आशा बोकेर प्रवासी नेपाली मतदानका लागि घर आउन थालेका छन् । निर्वाचन आउन डेढ साता मात्र बाँकी रहँदा धनगढीको त्रिनगर र कञ्चनपुरको गड्डाचौकी नाकाबाट दैनिक हजारौँ नेपाली घर फर्किरहेका छन् । र, सबैको एउटै चाहना छ– अब स्वदेशमा रोजगारी मिलोस्, घरपरिवार छोडेर अर्काको देश जान नपरोस् । कामको खोजीमा भारतका विभिन्न सहर पुगेका नेपाली फर्कन थालेपछि पश्चिमी नाकामा भिडभाड बढेको छ ।

त्रिनगर नाकामा खटिएका सुरक्षाकर्मीका अनुसार दैनिक दुई हजारहाराहारीमा नेपाली घर फर्किरहेका छन् । रोजगारीका लागि भारत गएका उनीहरूले केही समयको छुट्टी लिई आएको बताएका छन् । गत २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनपछि देशमा फेरिएको परिस्थितिका बिच हुन लागेको चुनावमा आफूहरू आशा बोकेर आफ्नो मताधिकार प्रयोग गर्न आएको उनीहरू बताउँछन् । नाकामा भेटिएका धेरै नेपाली भन्छन्– हामीलाई अब स्वदेशमा रोजगारी मिलोस्, घरपरिवार छोडेर अर्काको देश जान नपरोस् । ‘अब आउने सरकारले यहीँ रोजगारीका अवसर सिर्जना गरोस् र कामको खोजीमा भारत जानुपर्ने बाध्यता
हटाओस्,’ भन्ने उनीहरूको अपेक्षा छ । सुदूरपश्चिममा रोजगारीका अवसर नहुँदा कामको खोजीमा भारत जानेको संख्या ठुलो छ । काम गर्न सक्ने उमेरका धेरै नेपाली भारतीय रोजगारीमा छन् । आगामी निर्वाचनपछि बन्ने सरकारले देशको अवस्था फेर्ला र आफूहरूजस्तै आफ्ना सन्ततिले कामको खोजीमा भारत जानुपर्ने बाध्यता अन्त्य होला भन्ने आशा भारतबाट फर्कनेहरूले गरेका छन् ।

धनगढी उपमहानगरपालिका–१४, फूलबारीका विक्रम विक मताधिकार प्रयोग गर्न मुम्बईबाट सोमबार स्वदेश फर्किए । होटेलमा कुकको काम गर्ने उनले परिवारमा भेटघाट हुने भएकाले पनि चुनावको मौकामा फर्किएको सुनाए । एक वर्षपछि घर आएका विक चुनाव सकिएपछि काममा फर्कने योजनामा छन् । ‘गाउँमा साथीहरूले पनि भोट हाल्न आउनुप¥यो भनिरहेका थिए, यही मौकामा घरमा भेटघाट पनि हुन्छ भनेर फर्किएँ । धेरै दिन बिदा छैन, चुनावपछि फर्किनुपर्छ,’ सोमबार त्रिनगर नाकामा भेटिएका चौधरीले सुनाए ।

कैलालीकै गोदावरी नगरपालिका–३, चौकीडाँडाका प्रेम भण्डारीलाई चुनावपछि देशको अवस्था केही परिवर्तन होला भन्ने आशा जागेको छ । त्यही आशा बोकेर भारतको केरलामा होटेलको कामबाट बिदा मागेर उनी मतदान गर्न घर फर्किएका छन् । जेन–जी आन्दोलनपछि नेताहरूले चेतेका होलान् भन्ने उनको बुझाइ छ । ‘देशमा यत्रो आन्दोलन भयो । यसपालिको चुनावपछि अवस्था केही परिवर्तन होला भन्ने लागेको छ,’ त्रिनगर नाकामै भेटिएका भण्डारीले भने, ‘हामीलाई अब यहीँ रोजगारी मिलोस्, घरपरिवार छोडेर सामान्य कामका लागि अर्काको देश जान नपरोस् भन्न चाहन्छु ।’

बझाङको केदारस्युँ गाउँपालिका–८, सुकानाउलाका २२ वर्षीय सुनील बोहरा भारतमा गएर काम गर्न थालेको सात वर्ष भयो । गरिबीका कारण १५ वर्षकै उमेरमै पढाइ छोडेर उनी काम खोज्न भारत छिरे । भारत उत्तरप्रदेशको गोरखपुरमा होटेलमा काम गर्ने बोहरा देशमा केही परिवर्तन होला भनेर नै दुई हप्ताको छुट्टी लिएर चुनावमा घर आएको बताउँछन् । पार्टीभन्दा पनि काम गर्न सक्ने व्यक्तिलाई मत दिने उनले सुनाए ।

‘हामीजस्ता युवाले सामान्य कामका लागि विदेश जान नपरोस्, सरकारले क्षमताअनुसार यही काम देओस्,’ बोहराले भने, ‘देशमा विकास र युवालाई रोजगारी चाहिएको छ ।’ घरमा आमाबुवासँगै रहेका तीन भाइलाई पढाउन पनि आफू भारत गएको बताउँदै उनले थपे, ‘भाइहरू पनि पढेपछि रोजगारी नपाएर बिदेसिनुपर्छ कि भन्ने चिन्ता छ ।’

परिवर्तनका लागि मतदान गर्नुपर्छ भनेर स्वदेश आएको अछामको मंगलसेन नगरपालिका–१३, का झुमाकान्त ढुंगानाले सुनाए । ‘देशको परिस्थिति हेरेर, देशमा केही परिवर्तन हुन्छ कि भन्ने आशाले निर्वाचनका लागि आएका हौँ,’ सोमबार बिहान त्रिनगर नाकामा भेटिएका ढुंगानाले भने, ‘यतिका वर्ष भोट दियौँ, पुरानाले केही गरेनन्, आश्वासन मात्र दिए, नयाँले केही गर्छन् कि भन्ने आशा छ ।’

उस्तै उद्देश्य बोकेर भारतको पुनाबाट गाउँका २० युवा सँगै फर्कन लागेको ढुंगानाले बताए । पुनामा सुरक्षा गार्डको काम गर्ने उनी २० महिनापछि घर फर्कन लागेका हुन् । ‘देशमा भ्रष्टाचार अन्त्य होस्, सामान्य किसिमको भए पनि यहीँ काम पाइयोस्,’ ढुंगानाले भने, ‘बुढा आमाबुवा, बालबच्चा छोडेर हामी अर्काको देश गएका छौँ, हाम्रा पुर्खाले जीवनभर भारतमै काम गर्नुप¥यो । हामी त्यही गर्दै छौँ । आउने पुस्ताले गर्न नपरोस् । न्यून तलब भए पनि हामीलाई यहीँ काम पाइयोस् ।’
कतिपय उम्मेदवार र उनीहरू निकटले भारतमा रहेकाहरूलाई मताधिकारका लागि घर फर्कन पहल र समन्वय गरिरहेका छन् । मताधिकारका लागि स्वदेश फर्कनेलाई उचित समन्वय गर्न गृह मन्त्रालयले सशस्त्र प्रहरी बललाई निर्देशन दिइसकेको छ ।

‘नाकामा घर फर्कनेको संख्या बढ्दो छ । नाकामा कुनै असहजता नहोस् भनेर हामीले सहजीकरण गरिरहेका छाैँ,’ सीमास्थित सशस्त्र प्रहरीको त्रिनगर गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक मोहन कार्कीले भने । अर्कोतर्फ चुनाव छोडर रोजगारीको खोजीमा भारत जानेको संख्या पनि उत्तिकै छ । यो नाकाबाट दैनिक सयदेखि डेढ सयको हाराहारीमा नेपाली रोजगारीको सिलसिलामा भारत गइरहेका छन् ।

हरेक चुनावमा यहाँ राजनीतिक दल र उम्मेदवारहरूले गरिबी हटाउने र रोजगारीका अवसर सिर्जना गर्ने भनेर भोट माग्दै आएका छन् । तर, छाक टार्न सामान्य मजदुरी गर्न पनि भारत जानुपर्ने बाध्यता हटेको छैन । यसपालिको चुनावमा पनि दल र उम्मेदवार यिनै एजेन्डा लिएर जनतामाझ गइरहेका छन् ।सुदूरपश्चिममा गरिबी र बेरोजगारीको दर अन्य प्रदेशको तुलनामा उच्च छ । पछिल्लो तथ्यांकअनुसार सुदूरपश्चिममा गरिबीको दर अन्य प्रदेशको भन्दा बढी छ । तथ्यांक कार्यालयले सार्वजनिक गरेको ‘गरिबीको लघुक्षेत्र अनुमान–०२३ अनुसार सबैभन्दा धेरै गरिबी दर सुदूरपश्चिम प्रदेशमा ३४.१२ प्रतिशत छ । नेपालमा गरिबी दर २०.२७ प्रतिशत छ । सरकारसँग भने भारतीय रोजगारीमा रहेकाको यकिन तथ्यांक नै छैन ।

निर्वाचन–यात्रा

निर्वाचन आउन डेढ साता मात्र बाँकी रहँदा धनगढीको त्रिनगर (तस्बिर) र कञ्चनपुरको गड्डाचौकी नाकाबाट दैनिक हजारौँ नेपाली घर फर्किरहेका छन् । त्रिनगर नाकामा खटिएका सुरक्षाकर्मीका अनुसार दैनिक दुई हजारहाराहारीमा नेपाली घर फर्किरहेका छन् । ‘नाकामा घर फर्कनेको संख्या बढ्दो छ । नाकामा कुनै असहजता नहोस् भनेर हामीले सहजीकरण गरिरहेका छाैँ,’ सीमास्थित सशस्त्र प्रहरीको त्रिनगर गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक मोहन कार्कीले भने ।

मताधिकारका लागि स्वदेश फर्कनेलाई उचित समन्वय गर्न गृह मन्त्रालयले सशस्त्र प्रहरी बललाई निर्देशन दिइसकेको छ । कतिपय उम्मेदवार र उनीहरूनिकटले भारतमा रहेकाहरूलाई मताधिकारका लागि घर फर्कन पहल र समन्वय गरिरहेका छन् । सुदूरपश्चिममा गरिबी र बेरोजगारीको दर अन्य प्रदेशको तुलनामा उच्च छ । पछिल्लो तथ्यांकअनुसार सुदूरपश्चिममा गरिबीको दर अन्य प्रदेशको भन्दा बढी छ । तथ्यांक कार्यालयले सार्वजनिक गरेको ‘गरिबीको लघुक्षेत्र अनुमान–०२३ अनुसार सबैभन्दा धेरै गरिबीदर सुदूरपश्चिम प्रदेशमा ३४.१२ प्रतिशत छ । नेपालमा गरिबीदर २०.२७ प्रतिशत छ । सरकारसँग भने भारतीय रोजगारीमा रहेकाको यकिन तथ्यांक नै छैन ।

के भन्छन् मतदान गर्न घर आउनेहरू ?

अछामको मंगलसेनका झुमाकान्त ढुंगाना : देशको परिस्थिति हेरेर, देशमा केही परिवर्तन हुन्छ कि भन्ने आशाले निर्वाचनका लागि आएका हौँ । देशमा भ्रष्टाचार अन्त्य होस्, सामान्य किसिमको भए पनि यहीँ काम पाइयोस् ।

धनगढी फूलबारीका विक्रम विक : गाउँमा साथीहरूले पनि भोट हाल्न आउनुपर्‍यो भनिरहेका थिए, यही मौकामा घरमा भेटघाट पनि हुन्छ भनेर फर्किएँ । धेरै दिन बिदा छैन, चुनावपछि फर्किनुपर्छ ।

कैलाली गोदावरीका प्रेम भण्डारी : चुनावपछि देशको अवस्था केही परिवर्तन होला भन्ने आशा छ । त्यही आशा बोकेर भारतको केरलामा होटेलको कामबाट बिदा मागेर मतदान गर्न घर फर्किएको छु ।

बझाङको केदारस्युँका सुनील बोहरा : हामीजस्ता युवाले सामान्य कामका लागि विदेश जान नपरोस्, सरकारले क्षमताअनुसार यहीँ काम देओस् । देशमा विकास र युवालाई रोजगारी चाहिएको छ । भाइहरू पनि पढेपछि रोजगारी नपाएर बिदेसिनु नपरोस् ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026