अमेरिकाबाट १ वर्षमा ५८५ आप्रवासी नेपाली निष्कासित

23 February, 2026

Sudip Siwakoti

अमेरिकाको ४७ औं राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पको २० जनवरी २०२५ देखि दोस्रो कार्यकाल सुरु भएयता अमेरिकाबाट ५ सय ८५ नेपाली निष्कासित भएका छन् । राष्ट्रपति ट्रम्पले गैरकानुनी आप्रवासीलाई अमेरिकाबाट निष्कासित गर्ने नीतिलाई कडाइका साथ कार्यान्वयन गरेसँगै त्यसको प्रभाव नेपालीमा पनि परेको हो । वर्षौंदेखि कागजातविहीन अवस्था र गैरकानुनी रूपमा बसोबास गर्दै आइरहेका १ हजार ३ सय ६५ जना नेपालीलाई एक वर्षभित्र निष्कासित गर्ने सूचीमा राखिएको थियो ।

गैरकानुनी रूपमा अमेरिकामा बसोबास गर्दै आएका, कागजातविहीन र आपराधिक गतिविधिमा संलग्न देखिएका आप्रवासीलाई ट्रम्प प्रशासनले निष्कासनको नीति लिएको छ । यूएस डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीको समन्वय र अध्यागनसम्बन्धी नियन्त्रण र नियमन गर्ने उच्च अमेरिकी निकाय यूएस इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट (आइस) को सक्रियतामा सुरु गरिएको निष्कासन नीतिलाई अमेरिकी सरकारले निरन्तरता दिँदै आएको छ ।

विगत एक वर्षमा अमेरिकाबाट निष्कासित हुने नेपालीको संख्या हरेक महिना बढ्दो छ । आइसको तथ्यांकअनुसार २०२५ को जनवरीमा ६ जना, फेब्रुअरीमा १८, मार्चमा ३२, अप्रिलमा २६, मेमा ५८, जुनमा ४२, जुलाईमा १७, अगस्टमा १६, सेप्टेम्बरमा ५३, अक्टोबरमा ३८, नोभेम्बरमा ८० र डिसेम्बरमा ९८ जना नेपालीलाई निष्कासित गरिएको थियो । जनवरी २०२६ मा भने हालसम्मकै सबैभन्दा धेरै १ सय १ जनालाई एकै पटक निष्कासित गरिएको छ ।

यसअघि ट्रम्पको पहिलो कार्यकाल (२०१७–२०२१) मा ४ सय २५ जना नेपालीलाई अमेरिकाबाट निष्कासित गरिएको थियो । जसमा २०१७ मा ९९, २०१८ मा ४४, २०१९ मा १ सय ६२, २०२० मा ९७ र २०२१ मा २३ जना नेपालीलाई निष्कासित गरिएको आइसको तथ्यांकमा उल्लेख छ । जो बाइडेनको कार्यकाल (२०२१–२०२५) मा गैरकानुनी रूपमा अमेरिकामा बसोबास गर्दै आएको भन्दै १ सय ७ जना नेपालीलाई निष्कासित गरिएको थियो ।

राष्ट्रपति ट्रम्पको पहिलो ५ वर्षे कार्यकालमा ४ सय २५ नेपाली निकालिएका थिए
– स्वैच्छिक निष्कासित हुनेले २ हजार ६ सय डलर र निःशुल्क हवाई टिकट पाउने

कागजातविहीन र गैरकानुनी रूपमा बसोबास गर्दै आएका आप्रवासीले स्वैच्छिक रूपमा अमेरिकाबाट निष्कासित हुन चाहेमा २ हजार ६ सय अमेरिकी डलर र निःशुल्क हवाई टिकट पाउनेसमेत व्यवस्था गरिएको छ । होमल्यान्ड सेक्युरिटीले यसअघिकै ‘होम फर द होलिडेज’ पहलअन्तर्गत यो योजना ल्याएको जनाएको छ । एक जना गैरकानुनी आप्रवासीलाई प्रक्रिया पूरा गरेर अमेरिकाबाट निष्कासित गर्दा औसत १८ हजार २ सय ४५ डलर खर्च हुने होमल्यान्ड सेक्युरिटीको अनुमान छ । त्यो खर्चलाई मितव्ययी बनाउँदै स्वैच्छिक निष्कासनमा ५ हजार १ सय मात्र खर्च हुने भएपछि यस्तो योजना अघि सारेको होमल्यान्ड सेक्युरिटीकी सचिव क्रिस्टी नोयमले जनाएकी छन् ।

एक विज्ञप्ति जारी गर्दै उनले कागजात नभएका विदेशीलाई यो अवसरको फाइदा उठाउन आग्रह गरेकी छन्, ‘यदि यस्तो योजनाअनुसार पनि उनीहरूले स्वैच्छिक निष्कासन नरोजेमा त्यस्ता गैरकानुनी आप्रवासीलाई पक्राउ गर्ने र भविष्यमा अमेरिका आउन नपाउने गरी निष्कासित गरिनेछ ।’ उनले यो कार्य निरन्तर कडाइका साथ जारी रहने बताउँदै आइसको कारबाही अहिले देशका भित्री भागमा भइरहेको उल्लेख गरिन् । अमेरिकामा बसोबास गर्दै आएका गैरकानुनी आप्रवासीमध्ये सबैभन्दा बढी मेक्सिको र त्यसपछि क्रमशः एल साल्भाडोर, भारत, ग्वाटेमाला, होन्डुरस, चीन, डोमिनिकन रिपब्लिक, भेनेजुएला, ब्राजिल र कोलम्बियाका छन् ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024