२५० जनालाई अवैध बाटोबाट अमेरिका पठाउनेहरूविरुद्ध करिब एक अर्बको सम्पत्ति शुद्धीकरण मुद्दा

18 February, 2026

मानव बेचबिखन मुद्दामा हिरासतमा रहेका कलबहादुर बस्नेत र अमित बस्नेतविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरिएको छ। २५० जनाभन्दा बढी नेपालीलाई अवैध बाटोबाट अमेरिका पठाउने उनीहरूविरुद्ध ९८ करोड ५ लाख ८२ हजार ७५१ रुपैयाँ बराबरको सम्पत्ति शुद्धीकरण मुद्दा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ।

मानव वेचबिखन तथा ओसारपसार मुद्दामा पुर्पक्षका लागि डिल्ली बजार कारागारमा रहेका रुकुम पश्चिमका कलबहादुर बस्नेत र सोही मुद्दामा फरार रहेका रुकुम पूर्वका अमित बस्नेतविरुद्ध मुद्दा दायर भएको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक राजन लिम्बुले जानकारी दिए।

नेपाली नागरिकलाई बिना इजाजत गैरकानुनी बाटोबाट विभिन्न देश हुँदै मानव तस्करीको रूपमा अमेरिका प्रवेश गराएको देखिनुका साथै केही मानिसहरूलाई अमेरिका लैजाने भनि विभिन्न देशमा लगी अलपत्र पारेको प्रहरी अनुसन्धानबाट खुलेको छ। प्रहरीका अनुसार कलबहादुर बस्नेतको विभिन्न बैंकमा कसुरजन्य कार्यबाट ७० करोड ६० लाख ५३ हजार ७२२ रुपैयाँ जम्मा भएको र अमित बस्नेतको विभिन्न बैंकमा कसुरजन्य कार्यबाट २७ करोड ४५ लाख २९ हजार २८ रुपैयाँ जम्मा भएको देखिएको थियो।

उनीहरूविरुद्ध ९८ करोड ५ लाख ८२ हजार ७५१ रुपैयाँ बिगो र त्यसको दोब्बर जरिवाना माग गरिएको छ। त्यस्तै प्रचलित कानुन बमोजिम दुई वर्षदेखि १५ वर्षसम्म कैद सजाय गर्न र उनीहरूको नाममा कायम रहेका घर/जग्गा, बैंक मौज्दात तथा बिमा रकम सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ३४ बमोजि जफत गर्न माग गरिएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024