भारतको कोइलाखानी विस्फोटमा खोटाङका दुई दाजुभाइको ज्यान गयो

9 February, 2026

Ratna prasad Acharya

वैदेशिक रोजगारीको नाममा जोखिमपूर्ण र असुरक्षित श्रम गर्न बाध्य नेपाली युवाहरूको पीडा फेरि एकपटक भारतको मेघालयमा दोहोरिएको छ। खोटाङको बराहपोखरी गाउँपालिका-१ सालघारी भञ्ज्याङका एकै घरका दुई दाजुभाइले भारतको कोइलाखानीमा ज्यान गुमाएपछि परिवारमात्र होइन, सिंगो गाउँ शोकमा डुबेको छ।

विपन्न परिवारका २७ वर्षीय पूर्णबहादुर खपाङ्गी मगर र २४ वर्षीय सुरेन्द्र खपाङ्गी मगर गत पुस ३ गते रोजगारीको खोजीमा भारतको मेघालय गएका थिए। मेघालयस्थित उम्साङघाटमा सञ्चालित कोइलाखानीमा बिहीबार भएको विस्फोटमा परेर उनीहरूको घटनास्थलमै मृत्यु भएको बराहपोखरीका स्थानीय देवी रेग्मीले बताए।

पैसा कमाएर घरको आर्थिक अवस्था सुधार्ने सपना बोकेर परदेश गएका दुवै छोराको अकालमै ज्यान गएपछि परिवार बिचल्लीमा परेको बराहपोखरी गाउँपालिका-१ का वडाध्यक्ष ढकबहादुर कार्कीले बताए। घरमा वृद्ध बुबा-आमा, कान्छो छोरा, जेठा छोराकी श्रीमती र सानो बच्चा रहेका छन्। दुई कमाउने हात गुम्दा परिवारमाथि ठूलो बज्रपात परेको उनको भनाइ छ।

घटनाको जानकारी पाएपछि मृतक दाजुभाइकी आमासहित आफन्तहरू शव लिन शुक्रबार भारत प्रस्थान गरेका छन्। सोही विस्फोटमा बराहपोखरी भञ्ज्याङका बमबहादुर खपाङ्गी मगर, कर्णबहादुर खपाङ्गी मगर, नरबहादुर खपाङ्गी मगर र उदयपुर साउनेका ललितबहादुर मगर गम्भीर घाइते भएका छन्। मेघालय पुगेका सात जनाको टोलीमध्ये बराहपोखरी वालम्पाका ताराबल मगरमात्र सकुशल रहेका छन्। विस्फोटपछि ताराबलले नै फोनमार्फत घटनाबारे जानकारी गराएका थिए।

बराहपोखरीसहित खोटाङका विभिन्न ठाउँका युवा हिउँदको समयमा रोजगारीको खोजीमा मेघालय जाने गरेको छन्। तर, असुरक्षित कोइलाखानीमा काम गर्दा उनीहरूको ज्यान जोखिममा पर्ने गरेको तथ्य यस्ता घटनाले पटक-पटक उजागर गरिरहेको छ।

भारतीय सञ्चार माध्यमका अनुसार कोइलाखानीमा विस्फोटमा परी ज्यान गुमाउनेको संख्या १८ पुगेको छ। घटनाबारे विस्तृत विवरण अझै सार्वजनिक भएको छैन। घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्दै मृतकका परिवारलाई २ लाख भारु र घाइतेलाई ५० हजार भारुका दरले उपचार खर्च उपलब्ध गराउने घोषणा गरेका छन्।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024