भारतको मेघालयस्थित एउटा कोइलाखानीमा भएको विस्फोटमा परेर खोटाङका दुई युवाको मृत्यु भएको छ। बराहपोखरी गाउँपालिका निवासी एउटै घरका दाजुभाइको घटनास्थलमै मृत्यु भएको हो।
मृत्यु हुनेमा बराहपोखरी गाउँपालिका–१ सालघारी भन्ज्याङ निवासी २७ वर्षीय पूर्णबहादुर खपांगी मगर र २४ वर्षीय सुरेन्द्र खपांगी मगर रहेका छन्।
भन्ज्याङका बमबहादुर खपांगी मगर, कर्णबहादुर खपांगी मगर, नरबहादुर खपांगी मगर र उदयपुर साउनेका ललितबहादुर मगर घाइते भएका छन्।
मेघालय पुगेर कोइलाखानीमा काम गर्ने सात जनाको टोलीमध्ये बराहपोखरीस्थित वालम्पाका ताराबल मगरमात्र सकुशल रहेको जनाइएको छ। विस्फोटपछि ताराबलले नै फोनमार्फत घटनाका बारेमा जानकारी गराएका हुन्।
दुर्घटनाका घाइते चार जनाको अवस्था गम्भीर रहेको ताराबलले जानकारी दिए। “दुर्घटनामा पूर्णबहादुर र सुरेन्द्रको मृत्यु भएपछि उनीहरूको शव पर्खेर बसेको छु। चिनेजानेका मानिस कोही नहुँदा समस्यामा छु,” उनले भने, “घाइतेहरूलाई उद्धार गरेर अस्पताल लगेको छ। उनीहरूको पनि अवस्था चिन्ताजनक छ।”
उनीहरू रोजगारीका लागि गत पुस ३ गते घरबाट मेघालय गएका थिए। मृतक मगर दाजुभाइमध्ये पूर्णबहादुर विवाहित र सुरेन्द्र अविवाहित हुन्। खोटाङका विभिन्न ठाउँका स्थानीय युवा दिउँदको समयमा काम खोज्दै मेघालय जाने गरेका छन्।
भारतीय सञ्चार माध्यमका अनुसार सो विष्फोटका घटनामा परेर ज्यान गुमाउनेको संख्या १८ पुगेको छ। उम्साङघाटमा सञ्चालित कोइलाखानीमा भएको घटनाको विस्तृत जानकारी आउन बाँकी रहेको जनाइएको छ।