म्यानमारमा सञ्चालनमा रहेका अनलाइन स्क्यामिङ केन्द्रमा संलग्न गराइएका थप चार नेपाली नागरिकलाई थाइल्यान्ड सरकारको सहयोग र नेपाली राजदूतावासको समन्वयमा शुक्रबार स्वदेश फर्काइएको छ । नेपाली राजदूतावासका अनुसार उनीहरूलाई म्यानमारको म्यावडी क्षेत्रबाट उद्धार गरी टाक इमिग्रेसन अफिस, मेसोट हुँदै बैंकक ल्याइएको थियो । त्यसपछि शुक्रबार नेपाल एयरलाइन्सको उडानमार्फत उनीहरू काठमाडौं आइपुगेका हुन् ।
स्वदेश फर्काइएका चारजनामध्ये एक महोत्तरी, एक नुवाकोट र दुईजना दाङका छन् । तीमध्ये एकजनाले थाइल्यान्डमै स्नातक तहको अध्ययन गरी होटेलमा रिसेप्सनिस्टको काम गर्दै आएका थिए । धेरै आम्दानीको प्रलोभनमा परी उनी म्यानमार पुगेको बताएका छन् । दाङका अर्का एकजनाले दाङ जिल्लाकै एक सरकारी कार्यालयमा केही वर्ष कम्प्युटर अपरेटरका रूपमा काम गरेको अनुभव रहेको जानकारी दिएका छन् ।
उनीहरू सबैलाई थाइल्यान्डमा ‘डाटा इन्ट्री अफिसर’का रूपमा काम लगाइने आश्वासन दिएर नेपालबाट ल्याइए पनि थाइल्यान्ड पुगेपछि जबर्जस्ती म्यानमार पठाइएको उनीहरूको भनाइ छ । ‘यस घटनाले उच्च शैक्षिक योग्यता हासिल गरेका नेपाली नागरिकसमेत सामाजिक सञ्जाल, साथीभाइ, आफन्त तथा आकर्षक विज्ञापनको ललाइफकाइमा परी धेरै कमाउने लोभमा फस्ने वा फसाइने गरेको देखिएको छ,’ नेपाली राजदूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
राजदूतावासका अनुसार अनलाइन स्क्यामिङसम्बन्धी यस्ता गैरकानुनी गतिविधिमा नेपाली नागरिकलाई संलग्न गराउने घटना कम्बोडियामा पनि बढ्दो क्रममा देखिएको छ । दैनिक रूपमा त्यस्ता स्थानमा फसेका नेपाली नागरिक वा उनीहरूका परिवारजन उद्धारको आग्रह गर्दै दूतावासमा सम्पर्कमा आउने गरेको जनाएको छ ।
दूतावासले उद्धारका लागि आवश्यक कन्सुलर सेवा प्रदान गरिरहेको भए पनि कम्बोडियाबाट फर्कने क्रममा त्यहाँको अध्यागमन कानुनअनुसार ठुलो रकम जरिवाना तिर्नुपर्ने र लामो समय जेल बस्नुपर्ने अवस्थासमेत आइरहेको चेतावनी दिएको छ । थाइल्यान्ड जाने नाममा म्यानमार, कम्बोडिया तथा लाओसको ‘गोल्डेन ट्रांंगल’ क्षेत्रमा सञ्चालनमा रहेका स्क्यामिङ केन्द्रमा पुर्याइने जोखिम उच्च रहेकाले आकर्षक प्रलोभनमा नपर्न राजदूतावासले नेपाली नागरिकलाई सचेत रहन आग्रह गरेको छ ।