युएईमा २६७ नेपालीले पाए आममाफी

2 February, 2026

संयुक्त अरब इमिरेट्स (युएई)को ५४औँ राष्ट्रिय दिवस (इद अल–इत्तिहाद)को अवसरमा त्यहाँका विभिन्न जेलमा रहेका २६७ जना नेपाली कैदीबन्दीले क्षमादान पाएका छन् । उनीहरूले त्यहाँको कानुनी प्रक्रिया पूरा गरेर स्वदेश फर्कन पाउनेछन् । नेपाल सरकारले युएई सरकारद्वारा उदारतापूर्वक प्रदान गरिएको क्षमादानका लागि कृतज्ञता ज्ञापन गरेको छ । ‘क्षमादान पाएका नेपालीहरू त्यहाँको कानुनी प्रक्रिया पूरा गरेपछि नेपाल आउनुहुन्छ ।

नेपाल सरकारले यस क्षमादानलाई नेपाल र संयुक्त अरब इमिरेट्सबिच विद्यमान द्विपक्षीय सम्बन्धमा रहेको मित्रता, सद्भावना तथा सौहार्दताको प्रतिफलका रूपमा लिएको छ,’ परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले नयाँ पत्रिकासँग भने ।

मित्रवत् तथा मानवीय सद्भावको रूपमा नेपाल सरकारले युएई सरकारको यो निर्णयलाई उच्च मूल्यांकन गरेको पनि परराष्ट्र प्रवक्ता क्षेत्रीले बताए । परराष्ट्र मन्त्रालयको निर्देशनअनुसार अबुधाबीस्थित नेपाली दूतावासले पटक–पटक गरेको अनुरोधको प्रत्युत्तरस्वरूप युएई सरकारले यो निर्णय गरेको उनले बताए ।
‘क्षमादान प्राप्त नेपाली नागरिकहरू, यदि उनीहरूविरुद्ध अन्य कुनै विचाराधीन कानुनी मुद्दा वा प्रतिबन्ध नरहेको अवस्थामा, संयुक्त अरब इमिरेट्सका प्रचलित कानुनअनुसार आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि नेपाल फर्कन सक्नेछन्,’ परराष्ट्र मन्त्रालयले भनेको छ । युएईमा करिब सात लाख नेपाली कार्यरत छन् ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026