इरानमा रहेका नेपालीलाई तत्काल स्वदेश फर्कन सरकारको आग्रह

2 February, 2026

इरानमा विकसित पछिल्लो सुरक्षा अवस्थालाई मध्यनजर गर्दै सरकारले त्यहाँ रहेका नेपाली नागरिकलाई तत्काल देश छाड्न निर्देशन दिएको छ। परराष्ट्र मन्त्रालयले आइतबार एक ‘ट्राभल एडभाइजरी’ जारी गर्दै इरानमा रहेका नेपालीलाई उपलब्ध माध्यम प्रयोग गरी सुरक्षित रूपमा नेपाल फर्कन आग्रह गरेको हो।

साथै, इरान भ्रमणको योजना बनाएकाहरूलाई यात्रा स्थगित गर्नसमेत निर्देशन दिइएको छ। मन्त्रालयले इरानमा बसोबास गरिरहेका वा कार्यरत नेपाली नागरिकलाई सम्भावित आपत्कालीन उद्धारको तयारीमा रहन पनि सचेत गराएको छ। निकासी प्रक्रियालाई सहज बनाउन आफ्ना राहदानी र परिचयपत्र लगायतका आवश्यक यात्रा कागजात तयारी अवस्थामा राख्न मन्त्रालयले अनुरोध गरेको छ।

यसअघि जनवरी १३ मा जारी गरिएको सूचनालाई स्मरण गराउँदै मन्त्रालयले पछिल्लो घटनाक्रमले सुरक्षा चुनौती थपिएको संकेत गरेको हो। असहज परिस्थितिमा समन्वयका लागि मन्त्रालयले काठमाडौँस्थित कार्यालय र कतारको दोहास्थित नेपाली दूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ। सम्पर्कका लागि काठमाडौँमा +९७७–९८६२६७८४३७ र +९७७–९८५१३५४५६५ तथा दोहास्थित दूतावासका लागि +९७४–६६२१४४१९ मा टेलिफोन गर्न सकिनेछ। साथै, इमेलमार्फत पनि आवश्यक सहयोग र जानकारी लिन सकिने मन्त्रालयले जनाएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024