कोरियामा सीप सिके, फर्केर डेढ करोडमा खोले ‘मिल्क आर्ट’

19 January, 2026

Nirmala Ghimire

दक्षिण कोरियामा सिकेको सीप, ज्ञान र त्यहाँ कमाएको पुँजी सदुपयोग गर्दै दुई युवाले ‘मिल्क आर्ट’ सुरू गरेका छन्।

विमल न्यौपाने र विक्रम उचाइ मिलेर काठमाडौंको कागेश्वरी मनोहरामा मिल्क आर्ट एन्ड फुड प्रडक्ट प्रालि नामक कम्पनी चलाइरहेका छन्।

मिल्क आर्ट विशेष प्रकारको दही प्रशोधन कम्पनी हो।

यो कम्पनी विमलले २०७९ सालमा खोलेका हुन्। त्यसपछि विक्रम जोडिएका हुन्।

यसले स्वस्थ गाईको दूधमा ल्याक्टिक एसिड ब्याक्टेरिया प्रयोग गरी स्वादिलो र स्वास्थ्यवर्द्धक दही उत्पादन गरिरहेको कम्पनीका सहसंस्थापक विक्रमले बताए।

यो कम्पनीले अहिले सादा दही, ग्रीक दही, ओट्स र नट्सहरूको मिश्रणबाट तयार गरिएको ग्रेनोला, पास्चराइज्ड मिल्क (हानिकारक जिवाणु नस्ट गर्न निश्चित तापक्रममा तयार गरिएको दूध) जस्ता सामग्री उत्पादन गरिरहेको छ।

यी सामग्री काठमाडौंका प्रमुख सपिङ मलहरूमा पाइन्छ। बजार क्रमशः विस्तार हुँदै गएको उनले बताए।

‘उद्योगका मुख्य उत्पादन भने सादा दाही र ग्रीक दही हो। यी दुई उत्पादनको मात्रै कुल कारोबारको ८० प्रतिशत स्थान छ,’ विक्रमले भने, ‘कम्पनीले वार्षिक ६० लाख रूपैयाँको कारोबार गरिरहेको छ। जसमा ८० प्रतिशत कारोबार सादा दही र ग्रीक दहीकै हुन्छ।’

सुरक्षित र गुणस्तरीय दही र विभिन्न किसिमका स्वास्थवर्द्धक खानेकुरा उत्पादन गरिरहेकाले उपभोक्ताहरू माझ लोकप्रियता बढिरहेको संस्थापक तथा अध्यक्ष विमल न्यौपानेले बताए।

तीव्र सहरीकरणसँगै बजारमा प्रशोधित र प्याकेजिङ गरिएको खानेकुराप्रति उपभोक्तामा रहेको अविश्वास चिर्न आफूहरूले उत्पादन गरिरहेको उनीहरू बताउँछन्।

‘घरको जस्तो गुणस्तरीय खानेकुरा बाहिर पाइँदैन, प्याकेजिङको खानेकुरा स्वास्थ्यका लागि राम्रो हुँदैन भन्ने धारणा आम उपभोक्तामा गहिरो छ। यसलाई चिर्न हामीले गुणस्तरीय र स्वास्थ्यवर्द्धक खानेकुरा ल्याएका हौं,’ विमलले भने।

उनका अनुसार यो उद्योगमा परम्परागत अनुभव र आधुनिक प्रविधिको संयोजन छ।

आफूहरूले कोरियामा सिकेको सीप र नेपालमा आमाबुबाले गरिरहेको कृषि कर्मबाट सिकेका कुराहरूलाई व्यवहारमा उतार्दै मिल्क आर्ट सुरू गरेको उनले बताए।

यो उद्योग सञ्चालनका लागि विक्रमले दक्षिण कोरियामा रोजगारीका सिलसिलामा सिकेको ज्ञान र सीपले पनि धेरै बल पुर्‍याएको छ।

विक्रम रोजगार अनुमति प्रणाली इपिएस मार्फत दक्षिण कोरिया गएर यसै सम्बन्धी ज्ञान हासिल गरेर फर्केका थिए।

करिब ११ वर्ष काम गर्दा उनले खाद्यान्न प्रशोधन, कम्पनी व्यवस्थापन जस्ता काममा अनुभव बटुले।

‘१०-११ वर्षको अनुभवले मलाई अनुशासन, सरसफाइ, मेसिन कसरी व्यवस्थापन गर्ने र खानेकुराको गुणस्तर कसरी कायम गर्ने भनेर सिकायो। उपभोक्ताको विश्वास कसरी जित्ने उनीहरूलाई कसरी गुणस्तरीय खानेकुरा दिने भन्ने मैले त्यहीँबाट सिकेँ,’ विक्रमले भने।

विमल पनि केही समय दक्षिण कोरिया बसेर फर्केका हुन्। उनले पनि त्यहाँ खाद्यान्न कम्पनीहरूमा कसरी आधुनिक उत्पादन हुन्छ, गुणस्तर नियन्त्रण कसरी गर्ने जस्ता विषयमा बुझेका थिए।

दुवै जनाको अनुभवले मिल्क आर्टलाई अझ व्यवस्थित, आधुनिक र गुणस्तरीय उत्पादन गर्नमा सहज बनाएको विमल बताउँछन्।

कृषि र पशुपालनसँगै हुर्किएका विक्रम र विमल आफ्नै देशमा यही क्षेत्रमा काम गर्न पाउँदा निकै खुसी लागेको बताउँछन्।

‘करिब १८–२० वर्षसम्म म गाउँमै बसेँ। यही जीवनशैलीले मलाई प्राकृतिक उत्पादनको महत्व, किसानको पसिनाको वास्तविक मूल्य र स्थानीय स्रोतको शक्ति बुझायो। यसमै केही गर्न सकिन्छ भन्ने लागिरहेको थियो। सुरू गरेका छौं, सोचेजस्तै भइरहेको छ,’ विमलले भने।

उनीहरूले यो उद्योग एक करोड ५० लाख रूपैयाँ लगानीबाट सुरू गरेका हुन्।

उद्योगले अझै विभिन्न स्वादका दही उत्पादन थप गर्ने, अचार लगायत अन्य उत्पादन विस्तार गर्ने योजना बनाएको छ। आफ्ना उत्पादनलाई स्वदेशी बजारसँगै अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने योजना पनि उनीहरूले अघि सारेका छन्।

‘मिल्क आर्टलाई वास्तविक नेपाली गुणस्तरीय ब्रान्डका रूपमा स्थापित गर्ने लक्ष्य सहित हामी अघि बढेका छौं,’ उनीहरूले भने।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026