झापामा अवैध म्यानपावर : स्वास्थ्य परीक्षणमा समेत अवैध ल्याब प्रयोग

14 January, 2026

Chiranjibi Ghimire

झापामा अवैध खुलेका म्यानपावरले कामकाज गर्दै आएको फेला परेको छ । जिल्ला प्रशासन कार्यालय झापाले गरेको अनुगमनका क्रममा अवैध रूपमा म्यानपावर सञ्चालन भइरहेको फेला पारेको हो । कागजात पूरा नगरी बाध्यताले बिदेसिने नागरिकलाई यस्ता म्यानपावरले ठगी गर्दै आइरहेको प्रशासन कार्यालयले जनाएको छ । केही म्यानपावर सञ्चालक भने अनुगमनको सूचना पाएपछि ताला लगाएर भाग्ने गरेका छन् ।

प्रशासनले सोमबार गरेको अनुगमनमा झापाको बिर्तामोडमा रहेको नबिल ओभरसिजले अवैध रूपमा काम गरिरहेको फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंले बताए । उनकै नेतृत्वमा अहिले अनुगमन भइरहेको छ । यस म्यानपावरसँग कागजात पनि नभएको उनले बताए ।

‘म्यानपावर कार्यालयमा पुग्दा संस्था दर्तासमेत भएको केही कागजात भेटिएन । एकजनाले मोबाइलमा एउटा कागज देखाए, त्यो पनि ०८१ देखि नवीकरण नभएको पायौँ,’ उनले भने, ‘तर, त्यहाँ रहेका कागजात हेर्दा यसले काम गरिरहेको देखियो । अवैध म्यानपावरले नागरिकलाई विभिन्न देशमा पठाएको छ ।’

उक्त म्यानपावर सिल गरेको उनले बताए । सञ्चालकलाई कागजात लिएर जिल्ला प्रशासन कार्यालय आउन निर्देशन दिएको उनले जानकारी दिए । म्यानपावरले आफैँ अवैध मात्र होइन, वैदेशिक रोजगारीमा जाने नागरिकको स्वास्थ्य परीक्षणका लागि पनि अवैध प्रयोगशालामा पठाउने गरेको खुलेको छ ।

झापाको बिर्तामोडमै रहेको गोदावरी डाइग्नोेस्टिक सेन्टरमा स्वास्थ्य परीक्षणका लागि पठाउने गरेका कागजातबाट खुलेको उनले बताए । यो प्रयोगशालालाई जिल्ला प्रशासन कार्यालय, झापाले अवैध ठहर गर्दै यसअघि नै सिल गरिसकेको छ ।

यो प्रयोगशालामा स्तरीय सामग्री नरहेको स्वास्थ्य कार्यालय र नगरपालिकामा समेत दर्ता नगरी कर छली गरेको उनले बताए । ‘यो प्रयोगशाला अवैध छ । कर छली गरिरहेको छ । सिलबन्दी गरेपछि कागजात लिएर आउनू भनेका थियौँ । तर, कागजात पूरा नभएकाले आउन सकेन,’ उनले भने, ‘यसले मृत्यु भइसकेका एकजना डाक्टरको एनएमसी नम्बर प्रयोग गरेर ‘स्ट्याम्प’ हान्ने गरेको पायौँ ।’ त्यस्तै, दमकको साह प्याथोलोजीले अवैध रूपमा वैदेशिक रोजगारीमा जाने व्यक्तिको स्वास्थ्य परीक्षण गरिरहेको फेला परेको सहायक प्रजिअ प्रसाईंले बताए ।

अनुगमन हुने सूचना पाएपछि भागाभाग

बिर्तामोडमा मात्र होइन दमकमा पनि अवैध रूपमा म्यानपावर सञ्चालन भइरहेको सूचना आएको सहायक प्रजिअ प्रसाईं बताउँछन् । तर, अनुगमनमा जाँदा ती म्यानपावर ताला लगाएर भागेको उनको भनाइ छ ।

‘दमकमा यसरी अवैध रूपमा आठवटा म्यानपावर सञ्चालनमा रहेको सूचना पाएका छौँ । अनुगमनका लागि पुग्दा बन्द गरेर भागेको पायौँ । सूचना पाएर भागेका हुन सक्छन्,’ उनले भने, ‘हामी फेरि अनुगमन गर्छौँ । कारबाहीको दायरामा ल्याउनेछौँ । म्यानपावरको अनुगमनलाई निरन्तरता दिन्छौँ ।’

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026