साउदी अरेबिया बन्यो पहिलो श्रम गन्तव्य मुलुक

12 January, 2026

Ajit Adhikari

वैदेशिक रोजगारीमा जाने कामदारको पहिलो रोजाइ साउदी अरेबिया भएको छ । वैदेशिक रोजगार विभागका अनुसार कात्तिकमा १५ हजार सात सय ६९ र मंसिरमा १४ हजार तीन सय ३९ युवाले साउदीका लागि श्रम स्वीकृति लिएका छन् । जुन संख्या अन्य मुलुकमा रोजगारीका लागि जाने युवाको तुलनामा सबैभन्दा धेरै हो ।

यसअघि युनाइटेड अरब इमिरेट्स (युएई)मा सबैभन्दा धेरै युवा कामका लागि जाने गरेका थिए । तर, २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनपश्चात् युएईले श्रम र बिजनेस भिसामा नेपालीलाई कडाइ गरेपछि युवाले रोजगारीका लागि साउदी अरेबिया रोज्न थालेका हुन् । विभागका निर्देशक चन्द्रबहादुर शिवाकोटीले पनि युएई जाने युवाको संख्या घट्न थालेको बताए । ‘युएईले पछिल्लो समय विभिन्न कारण देखाएर बाधा गर्न थालेपछि युवाहरू साउदी जाने क्रम बढेको छ,’ उनले भने ।

जेन–जी आन्दोलनलगत्तै युएईले पुलिस रिपोर्ट कार्ड अनिवार्य गरेको थियो । पछिल्लो समय भने भिसा प्रमाणीकरणबापत १४ हजार दुई सय रुपैयाँ असुल्न थालेको छ । उक्त रकम तिर्दासमेत भिसा पाउने ग्यारेन्टी नभएपछि युवाहरू रोजगारीका लागि साउदीतर्फ मोडिएका हुन् । मंसिरमा रोजगारीका लागि बिदेसिने युवाको दोस्रो रोजाइमा कतार परेको छ । कतारका लागि १२ हजार नौ सय ८६ युवाले मंसिरमा श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।

युएई तेस्रो रोजाइमा परेको छ । मंसिरमा नौ हजार तीन सय ८२ युवाले युएईका लागि श्रम स्वीकृति लिएका छन् । सुरुमा मलेसिया र अहिले युएईको रोजगारीमा असर पर्नु मुलुककै लागि बेफाइदा भएको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवनसिंह गुरुङले बताए । नेपाली कामदारको पहिलो र दोस्रो रोजाइ मलेसिया र युएई नै भए पनि बाध्यताका कारण साउदी रोज्नुपरेको उनको भनाइ छ ।

मलेसिया र युएई छाडेर युवा किन मोडिए साउदीतिर ?

पाँच वर्षअघिसम्म मलेसियामा वार्षिक डेढ लाखभन्दा बढी कामदार जाने गरेका थिए । तर, मलेसियामा आन्तरिक रोजगारी वृद्धि गर्नुपर्ने दबाब बढेपछि आप्रवासी कामदारको संख्या कटौती गर्ने निर्णय भयो, जसकारण नेपालसहित धेरै देशबाट उल्लेख्य मात्रामा कामदार लिने प्रवृत्तिमा कटौती भएको छ । अहिले पनि मलेसियाले श्रम बजारको २० प्रतिशत मात्रै आप्रवासी कामदार लिने नीति कार्यान्वयन गरिरहेको छ । जसकारण मलेसिया जाने युवाको संख्या घटेर गत आव ०८१/८२ मा ४९ हजार एक सय ८७ मा खुम्चिएको छ ।

मलेसियाको रोजगारी गुमेपछि युवाको दोस्रो रोजाइ युएई बनेको छ । गत आवमा कुल आठ लाख ३९ हजारले श्रम स्वीकृति लिएर विभिन्न देश गएकोमा युएई जान सबैभन्दा धेरै दुई लाख ७४ हजार पाँच सय ९० युवाले श्रम स्वीकृति लिएका थिए । तर, भदौयता युएईले समेत पुलिस रिपोर्ट कार्ड अनिवार्य गरेको र भिसा प्रमाणीकरणबापत अतिरिक्त १४ हजार दुई सय रुपैयाँ असुल्न थालेका कारण युवा साउदी अरेबियातिर आकर्षित हुन थालेका छन् ।

माघ दोस्रो साता साउदीसँग श्रम सम्झौता

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले १२ र १३ माघमा साउदी अरेबियासँग श्रम सम्झौता गर्ने भएको छ । मन्त्रालयका प्रवक्ता पीताम्बर घिमिरेले साउदीसँग पहिलोपटक श्रम सम्झौता गर्न मिति तय भएको जानकारी दिए । ‘साउदीसँग श्रम सम्झौताको मिति तोकिएको छ, दुवै देशका श्रममन्त्रीले सम्झौतापत्रमा हस्ताक्षर गर्ने तय भएको छ,’ उनले भने । गत १३ भदौको मन्त्रिपरिषद् बैठकले साउदी अरेबियासँग श्रम सम्झौता गर्न स्वीकृति प्रदान गरेको थियो । तर, त्यसपछि जेन–जी आन्दोलन भएकाले सम्झौताका लागि केही ढिलाइ भएको हो । साउदीसँगको सम्झौतामा श्रमिकको तलब–सुविधा, वातावरणमैत्री कार्यस्थल, सुरक्षाको प्रत्याभूति, अदक्ष र अर्धदक्षसँगै सिपयुक्त कामदार पठाउन पहल गर्नेलगातका विषय समेटिने उनले बताए ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026