‘विदेशमा रहेका नेपालीलाई मताधिकार दिने भनेको हो, नेपाली मूलका विदेशी नागरिकलाई होइन’

8 January, 2026

सूचना, प्रविधि तथा सञ्चार मन्त्री जगदीश खरेलले विदेशमा बस्ने नेपाली मूलका मानिसलाई नभई वास्तविक नेपाली नागरिकका लागि मात्रै मताधिकारको कुरा उठिरहेको बताएका छन्। मंगलबार नागरिक फ्रन्टलाइन संवादमा कुराकानी गर्दै मन्त्री खरेलले यस्तो बताएका हुन्।

‘विदेशमा भएको नेपालीको नोट चल्ने, भोट नचल्ने त हुनु भएन नि। त्यो कसलाई भनेको हो भने जसको नागरिकता नेपालको छ, जसको पासपोर्ट नेपालको छ,’ उनले भने, ‘जसले कमाएको पैसा नेपाल पठाउँछ, जसका जहान, छोराछोरी, आमाबुबा नेपालमा छन्, जसको घर नेपालमा छ, जसको भविष्य नेपालमा छ।’

मात्र पसिना बगाउन विदेश गएका नेपाली नागरिकलाई मात्रै मताधिकारको कुरा भइरहेको उनले बताए। उनले भने,‘खाडी मुलुक मलेसिया, कतार, दुबई, जापान, कोरिया गएको छ। उसको सबै कुरा यहाँ छ, अनि उसको नोट चल्ने भोट नचल्ने हुन्छ त? भएन नि।’

सरकारले अमेरिकामा बसेको नेपाली मुलको अमेरिकी नागरिकलाई मताधिकार दिने कुरा नगरेको मन्त्री खरेलले बताए। ‘खास नेपाली जसको सबै कुरा यही छ। उसलाई त भोटिङ अधिकार दिनुपर्‍यो नि। यही कुरा सरकारको र जेनजी आन्दोलनको म्यान्डेट हो,’ मन्त्री खरेलले भने।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024